तेह्रथुम /  लालीगुराँस नगरपालिकाको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा हुँदै ताप्लेजुङको दोभानसम्म हिजोआज पर्यटकले भरिभराउ हुन थालेको छ । कात्तिक महिनादेखि आन्तरिक तथा बाह्य पर्यटकले यो क्षेत्र भरिभराउ हुन थालेको हो ।
मौसम खुलेलगत्तै पहाडी जिल्ला तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङसम्म घुम्न आउने पर्यटकका कारण यहाँका पर्यटन र होटल व्यवसायीहरू उत्साही देखिन्छन् । यहाँ अमेरिका, बेलायतदेखि धरान, विराटनगर, झापा, काठमाडौं, पोखरा र भारतीय पर्यटकहरू पनि वर्षभरि कुमारी रहने यहाँका पर्यटकीय थलोमा घुम्न आउने गर्दछन् । पर्यटकलाई लक्षित गरी ठूलो लगानीमा सञ्चालन गरिएका धेरै होटल तथा लजहरू खचाखच हुन थालेका छन् । पर्यटक अभावमा पाँच महिनादेखि होटल सुनसान रहेको पर्यटकीय क्षेत्र चौकी बजारमा पर्यटकले भरिभराउ हुन थालेको होटल ब्यवसायीको भनाइ छ ।

यो पदमार्ग भएर आउने पर्यटकको अन्तिम गन्तव्य कुम्भकर्ण, मकालु, कञ्चनजङ्घा, जलजला हिमाल, तमोर नदीमा ¥याफ्टिङ तथा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे– मिल्के– जलजलेका पहाडसम्म हुने गर्दछ । पर्यटकको सङ्ख्या बढेकै कारण वसन्तपुरदेखि दोभानसम्मका साना–ठूला होटल तथा लजहरू भरिभराउ हुने गरेको वसन्तपुरका होटल व्यवसायी प्रतिमा राईले बताइन् । असोज लागेदेखि होटलका सबै कोठा पर्यटकले भरिभराउ रहेको सङ्खुवासभा गुफा बजारको मकालु होटलकी सञ्चालिका हिमा खनालले बताइन् । केही विदेशी पर्यटक बजार नजिक र पदमार्ग दायाँबायाँको खुला चौरमा क्याम्पिङ गरेर बस्ने गर्दछन् । तर, केही पर्यटकहरू होटलमै बस्ने गरेकाले वर्षभरी सुस्ताएका होटलहरूले पनि राम्रो आम्दानी गरेको उनको भनाइ छ । ‘यो वर्ष यहाँको पर्यटन व्यवसाय राम्रो भयो,’ गुफा बजारका होटल ब्यवसायी दोर्जे शेर्पाले भने । पर्यटक आउन थालेपछि वसन्तपुर, टुटेदेउराली, पाँचपोखरी, चौकी, मङ्गलबारे, गुफा, साँघु, दोभानलगायतका स्थानमा रहेका सबैजसो बजारका होटल लजहरू खचाखच रहेको वसन्तपुरका पर्यटन व्यवासायी छिरिङ शेर्पाले बताए । यो सिजनलाई लक्षित गरी होटलमा लगानी गरेका धेरै होटल व्यवसायीको लगानी उठेको व्यवसायीहरूको भनाइ छ ।

काठमाडौंदेखि विराटनगरसम्म हवाई तथा स्थलमार्ग भएर आएका पर्यटक वसन्तपुरसम्म सवारी साधनमा आउने गर्दछन् । वसन्तपुरभन्दा अगाडि केही पर्यटक पैदलै आफ्नो गन्तव्यसम्म जाने गर्दछन् भने कोही सवारी साधनमा नै गुफासम्म पुग्ने गर्दछन् । यो रुटमा रहेका देउराली, घुर्मिसे, पाँचपोखरी, मङ्गलबारे, गुफा, गोर्जा तथा दोभानसम्मका होटलहरू वर्षमा एकपटक यसै सिजनमा आउने पर्यटकका कारण भरिभराउ भएका छन् । यहाँ आउने पर्यटकले एक साताअघि नै कोठा बुक गराउने भएकाले आम्दानी पनि रामै्र हुने गरेको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने सन्दर्भमा यस तीनजुरे– मिल्के– जलजले क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा समेत सूचीकृत गरेको छ ।