हनोइ । केही दिनअघिको भारी वर्षा र त्यसबाट आएको बाढीमा परी ठूलो जनधनको क्षति भएको मध्य भियतनामको जनजीवन सामान्य बन्दै गएको अधिकारीहरुले बताएका छन् । 

सो बाढीमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको थियो भने भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको थियो । बाढीका कारण पानी, बिजुली र बाटोजस्ता आधारभूत वस्तुहरुमा पनि क्षति पुगेको थियो । देशको मध्य भूभागमा आएको बाढीबाट ती व्यक्तिको ज्यान गएको, अरु केही हराएका बताइएको थियो । त्यसैगरी त्यस बाढीबाट भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जानकारी दिएको छ । सो वर्षा र बाढीपछि यहाँको जनजीवन सामान्य बन्दै गएको अधिकारीहरुले जानकारी दिएका छन् । मध्य भियतनामका पाँच ओटा प्रान्तमा यस्तो बाढी आएको हो । 

सो बाढीले १२ हजार हेक्टर क्षेत्रफलको खेतमा लगाइएको धानबाली पनि डुबाएको छ । त्यसैगरी करिब १ लाख ६३ हजार ओटा चौपाया बगाएको र ती चौपाया रहेका गोठ तथा स्थानीयका घरहरु पनि बगाएको बताइएको छ । सो समितिका अनुसार बाढीका कारण भियतनामको मध्य क्षेत्रीय प्रान्तहरुको करिब १२८ किलोमीटर बाटो ध्वस्त बनाएकोमा अहिले सो बाटोमा सामान्य रुपमा सुचारु हुन थालेको बताइएको छ । 

अधिकारीहरुले सरकारले उद्धारको राम्रो प्रयास गरेको र ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीले काम गरिरहेकाले अवस्था सामान्यतर्फ फर्किन लागेको बताइएको । तर भत्किएको संरचनाहरु बनाउन र जनजीवनलाई पूर्ण रुपमा सञ्चालन गर्नका लागि भने अझै धेरै समय लाग्ने र पुननिर्माणका लागि अरबौँ डलर बजेट लाग्ने पनि अधिकारीहरुले जनाएका छन् ।