काठमाडौँ /   नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् ।  नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । 

त्यतिबेला गौचनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका थिए । सोहीअनुरुप यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजबाट शनिबार चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका हुन् । इपिएल क्रिकेटमा पोखरा राइनोजबाट खेलेका शक्तिले चितवनविरुद्ध अन्तिम खेल खेलेका हुन् । 

बिदाइ हुँदै गर्दा शक्ति निकै भावुक देखिएका थिए । उनले पत्रकारसँग कुरा गर्दै अब आफ्नो सक्रियता क्रिकेटको विकास र प्रशिक्षणमा रहने बताए । “टी–२० विश्वकपदेखि एकदिवसीयसम्म हरेक ठूला प्रतियोगिता सधैँ मेरो स्मरणमा रहिरहने छ । हरेक समय हामीले एकअर्कालाई सहयोग गरेर राम्रो क्रिकेट खेल्ने प्रयास गरिरहृयौं । ती हरेक कुराहरु मलाई याद आइरहने छन्”– शक्तिले भने । 

सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका शक्ति नेपाली क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ, त्यसका अभिन्न अङ्ंग हुन् उनी । नेपालले हात पारेका हरेक उपाधिमा शक्तिले आफ्नो उपस्थिति बलियो देखाएका छन् । सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा शक्तिले गरेको प्रदर्शनलाई लिएर उनले शक्ति ‘द पावर’ को उपमा पाएका थिए । 

सन् २०१० को एसियन गेम्सदेखि करिब डेढ वर्ष टोलीमा नपरेका शक्तिले त्यसपछि अझ सशक्त पुनरागमन गरेका थिए । उनले सन् २०१२ मा भएको आइसिसी टी–२० विश्वकपको विश्वस्तरको छनोटमा १६ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका थिए । उनले डेनमार्कविरुद्धको खेलमा ह्याट्रिक समेत गरेका थिए । अन्न्तर्राष्ट्रिय क्रिकेट ह्याट्रिक गर्ने उनीमात्र एकजना नेपाली खेलाडी हुन् । 

सोही वर्ष भएको एसिसी ट्रफीमा उनले १५ विकेट लिए भने डिभिजन चारमा १० विकेट हात पारे । डिभिजन चारअन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा उनले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए । 

सन् २००१ मा यू–१७ राष्ट्रिय टोलीमा समावेश हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका शक्तिसँग यू–१९ स्तरको विश्वकप समेत खेलेको अनुभव छ । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा १० पटक प्लेयर अफ दि म्याच घोषित भएका छन् । सिनियर अन्तर्राष्ट्रिय किकेटमा शतक प्रहार गर्ने थोरै नेपाली खेलाडीको सूचिमा शक्तिको पनि नाम छ । 

भैरहवाका लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए । मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यू–१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए । 

शक्तिले भैरहवामा क्रिकेट एकेडेमी चलाएका छन् । शक्ति प्रायः अरुका नकारात्मक कुरा कोट्याउँदैनन् । “शक्ति एकदमै उत्कृष्ट खेलाडी हुन्” राष्ट्रिय टोलीका कप्ता पारस खड्काले भने, “उनी सिनियर क्रिकेटर हुन् । शक्तिले धेरै उदाहरणीय कामहरु गरेका छन् । मैले चिनेका क्रिकेटरहरुमा शक्ति जति मेहनती कोही देखेको छैन ।”