पथरीशनिश्चरे / पढ्ने ओठ अचेत छन् । भोक प्यास थाहा छैन । आफ्नो विरानो पनि उनको मस्तिष्कले खुट्याउन छोडेको छ ।

हिँडडुल गर्न पनि गाह्रो छ । कतै हिड्न खोज्दा टाउको हुत्तिएर लडिहाल्छिन् । ‘दिनभरी उसलाई यहाँ हामीले हेरचार गरेर राख्छौं । खान दिन्छौं । दिशापिसाव सोहोर्छाैं ।’– नजिकै भूँईमा लोलाईरहेकी ६ वर्षीया कविता पाण्डेको हविगत दर्शाउँदै निलकण्ठ चम्लागाईंले भने । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० नयाँमंगलबारेकी कविता दिनभर उनका आफन्त चम्लागाईं परिवारको सहारा र रेखदेखमा वस्छिन् । दिनभर ज्याला मजदुरी गर्न जाने उसका बुबा मेबहादुरले बेलुका आएर उनलाई घर लिएर जान्छन् । निलकण्ठको सालोको छोरी हुन् कविता । उनकी आमा अम्विका १ वर्ष अघि अर्काे विवाह गरेर गइन् । त्यसपछि त कविताका दिनहरु झनै अँध्यारा वन्दै गए । ‘पहिले त बरु अलि बोल्ने र हिँड्न सक्नेपनि थिइ । तर आमाले छोडेपछि यसमा झन समस्या आयो ।’– मेवहादुरकी भाउजू रीना पाण्डेले भनिन् । रीनाले समेत पैसा खर्चेर उपचारमा सघाइन् । कविताकी घरकी हजूरआमाले पनि चिन्तित हुँदै उनको हेरविचार गरिरहेकी हुन्छिन् ।

जन्मेको ३ दिनकै दिन उनकी आमाले लिटो खुवाउँदा लिटो सर्किएर असर गर्यो । त्यो बेला टाउकोको नशामा असर परेको भन्दै डाक्टरले बताएपछि सकिनसकि परिवारले उपचार गर्न थाल्यो । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ दिन सामान्य तरिकाको उपचारपछि २९ दिन सघन उपचार कक्ष (आइसीयू) मा राखेर थप उपचार गरियो । वच्चाको सीटी स्क्यान गर्न पनि समस्या हुने हुँदाहुँदै पनि ३ पटक सीटी स्क्यान गर्दा नशाको समस्याले टाउकोमा पानी जमेको पत्ता लाग्यो । ‘औषधिले ठीक होला भनेर औषधि खुवाइयो । तर निको भएन । टाउकाको अपरेशन गर्न पनि सानो वच्चामा झन समस्या हुने भनेपछि उसको अवस्था यस्तै भइराछ । ’– कविताका बुवा मेबहादुरले भने । त्यसबेला उपचार गर्दा आफन्तहरुले खर्च लगाइदिएर साढे ५ लाख रुपैयाँ सकिएको थियो । ‘थप उपचार गर्न पनि पैसा नभएर समस्या भइरहेको छ । कसैले सहयोग गरिदिए यो अवोध नानीले नयाँ जीवन पाउने थिइ ।’– उनले विलौना गरे ।

जथाभावी हिड्ने र हिँड्दा टाउको घुमेर लडिहाल्ने समस्या उनमा बढ्दै गएको छ । आफ्नो एकमात्र सन्तानलाई छोडेरै भएपनि काम गर्न जानुपर्ने वाध्यताले विपन्न परिवारमा झन समस्या थपेको छ । उसलाई हेरचाह गर्ने आफन्तले पनि ढुक्कै रुँग्नुपर्ने भएपछि उनको खुट्टामा लुगाले बाँधिदिएर भूँइमा बसाउने गरिएको छ । ‘हामी पनि आआफ्नो काममा जानै पर्छ । मेरी श्रीमतीले उसलाई नजिकमा राख्दै चिया पसल चलाउछिन् ।’– रोजगारीका सिलसिलामा पथरी धाउँने गरेका निलकण्ठले सुनाए । दिशापिसाव आएको पनि थाहा नहुने कवितालाई भोक लागेको र अघाएको समेत थाहा हुँदैन । ‘यो नानीको यसरी कहिलेसम्म विजोग हेर्नु ?– चिन्तित हुँदै निककण्ठले दुखेको पोखे ।