जनकपुरधाम   जनकपुरस्थित रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई आफ्नै विद्यार्थीहरुले कार्यकक्षमै कालोमोसो दलेका छन् ।
राजपा नेपाल निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुख दासमाथि कालोमोसो दलेका हुन् ।
क्याम्पसको अवस्था धारासायी भएपछि पटकपटक सुधार गर्न आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै आइतवार दिउँसो विद्यार्थीहरुले क्याम्पस प्रमुख दासलाई कार्यकक्षमै कालोमोसो दलेका हुन् ।(भिडियो हेर्नुहोस)
विद्यार्थीले क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, राम्रा प्राध्यापकहरु व्यवस्था गर्नु पर्ने, कक्षाकोठामा विजुलीबत्ती तथा झ्यालढोकाको व्यवस्था हुनुपर्ने, शौचालय व्यवस्थित हुनुपर्नेलगायतका १६ बुँदे मागसहित क्याम्पस प्रमुखलाई ज्ञापन बुझाएका थिए । तर प्रमुखले कुनै सुनुवाई नगरेको उनीहरुले बताएका छन् ।
क्याम्पसको अवस्था सुधार नभएको र क्याम्पस प्रमुख दासले अटेरी गरेको भन्दै बाध्य भएर कालोमोसो दल्नु परेको विद्यार्थीहरुले बताए । विद्यार्थीहरुले कालोमोसो दलेर दासलाई एक घण्टा कार्यकक्ष भित्रै थुनेको बताइएको छ ।