विराटनगर /  रोजगारीका क्रममा कुवेत पुगेकी छोरीले बारम्बार यातना पाउने गरेको खबर सुने पछि मोरङकी एक महिलाले स्वदेश फर्काउन अपिल गरेकी छिन् ।
मोरङ सुन्दरहरैचा नगरपालिका–७ गछिया बजारकी ५२ वर्षकी विष्णु तामाङकी छोरी पूजालाई गत साउनमा स्थानीय सेरे भन्ने सरोज राईले कुवेत पठाएका थिए । आकर्षक तलब हुने भन्दै विभिन्न प्रलोभन देखाएर गैरकानुनी रुपमा विदेश पठाउने राईलाई पक्रेर छोरीलाई स्वदेश झिकाउन पहल गर्न विष्णुले सम्बन्धित निकायसँग माग गरेकी हुन् ।
२४ वर्षिय छोरीले विदेशमा यातना पाएको खबर पाएसँगै उनी अताल्लिएकी छिन् । छिमेकीसमेत रहेका सम्धी रामबहादुर राईलाई लिएर विष्णु आइतबार छोरी खोज्न भन्दै विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय आइपुगेकी थिइन् । कार्यालय परिसरमा भेटिएकी विष्णुले ब्लाष्टखवरसँग भनिन्, ‘९० केडी दिने भन्दै कुवेत लगे । सुरुमा बच्चा हेर्ने काम छ भन्थी, अहिले अर्कै ठाउँ सरेकी छ रे । घर फर्कन दिएका छैनन् ।’ छोरीले काम गर्ने ठाउँमा यतना पाएको मात्र भन्दै रुदै फोन गर्ने गरेको उनले बताइन् । दुई महिनाअघि सारेको ठाउँमा छोरीलाई यातना दिइने गरेको विष्णुको भनाइ छ । आफूमाथि बारम्बार कुटपिट हुने गरेको छोरीले रुँदै टेलिफोनमा सुनाएको उनले बताइन् । पूजाले काम गरेको तलव पनि नियमित नपाएको र खानसमेत समयमा नदिइने गरेको विष्णु बताउँछिन् ।
‘छोरीले विदेशमा यातना पाएको खबर सुनेदेखिको रातमा निद्रा समेत लाग्दैन,’ उनले भनिन् । उनले छोरीलाई विदेश पठाउने मान्छेलाई समातेर छोरीलाई घर झिाउकान सम्बन्धीत नियाकासँग अपिल समेत गरेकी छिन् ।
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै तत्काल अबैध बाटो हुदै विदेश पठाउने राईलाई पक्राउ गरी कारवाही गर्न आग्रह गरेका छन् । उनले आइतबारनै जिप्रका मोरङलाई विदेश पठाउनेलाई पक्राउ गरि आवश्य कारवाही गर्न पत्र काटेका हुन् ।
आठ बर्षअघि सन्तोष तामाङसँग विवाह गर्दा पूजा मात्र १६ वर्षकी थिइन् । उनको वैवाहिक जीवन सुखद हुन सकेन । श्रीमानसँग सम्वन्ध बिग्रिए पछि ७ बर्षीय छोरीको लालनपालनका लागि पूजा विदेशिएकी थिइन् ।