दमक/प्रशोधित पानीमा सरकारले तोकेको मापदण्ड विपरीत व्यापारीहरूले एक सय २० प्रतिशतभन्दा बढी शुल्क असुल्ने गरेका छन् ।

उत्पादक कम्पनीले १० रुपैयाँ ४० पैसादेखि १२ रुपैयाँ ५० पैसा प्रतिबोतल व्यापारीलाई पानी दिए पनि व्यापारीले दुई गुणा मूल्य राखेर बिक्री गर्ने गरेका हुन् । उपभोक्तालाई २० देखि ३० रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।

पानीको मूल्य महँगो भए पनि गुनासो गर्ने निकायबारे बेखबर बन्दा उपभोक्ता मारमा परेका छन् । उपभोक्ता संरक्षण ऐनमा उत्पादक वा व्यापारीले उत्पादन मूल्य वा खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी मुनाफा राख्न नपाउने प्रावधान छ ।

तर पानीमा भने व्यापारीले मनपरी मूल्य राखेर कालोबजारी गरिरहेका छन् । पानी उत्पादक कम्पनीका अनुसार प्रतिकार्टुन १ सय २० देखि १ सय ५० रुपैयाँमा व्यापारीलाई बिक्री गरिन्छ । १ सय २० रुपैयाँ प्रतिकार्टुन पर्ने पानी प्रति बोतल १० रुपैयाँमात्रै मूल्य पर्छ ।

१ सय ५० रुपैयाँ पर्ने पानी प्रति बोतल १२ रुपैयाँ ५० पैसा मूल्य पर्छ । तर, व्यापारीले भने दुई गुणाभन्दा बढी मूल्य राखेर बिक्री गर्ने गरे पनि यसको अनुगमनमा कसैले चासो दिएको पाइदैन । व्यापारीहरूले हाकाहाकी नै एक सय २० रुपैयाँमा खरिद गरेको पानी २० रुपैयाँ प्रतिबोतल बेच्ने गरेको बताउँछन् ।

लागत मूल्यमा २० प्रतिशतभन्दा बढी रकम लिए त्यसलाई सिधै कालोबजारी ऐन आर्कषित हुन्छ । तर, कारबाही गर्ने निकाय मौन हुँदा त्यसको प्रत्यक्ष फाइदा व्यापारीले लिँदै आएका छन् ।  छैन अनुगमन  झापामा मात्र दैनिक ६ हजार कार्टुन पानी अर्थात ७२ हजार लिटर पानी उत्पादन हुन्छ ।

७२ हजार लिटर पानीमा प्रतिलिटर १० देखि १२ रुपैयाँमात्रै मुनाफा गर्ने व्यापारीले दैनिक ७ लाख २० हजार देखी ८ लाख ६५ हजार रुपैयाँसम्म खुद मुनाफा गर्छन् । दैनिक ५ लाख ७५ हजार देखी ६ लाख ८० हजार रुपैयाँसम्म कालोबजारीमार्फत् रकम कमाउँछन् ।

यतिका मुनाफा लिइरहँदा पनि कारबाही गर्ने निकायले अनुमगन नर्गदा त्यसको प्रत्यक्ष मार उपभोक्तामा परेको छ । उत्पादक कम्पनीले मूल्य सूची राखे पनि त्यो कत्तिको वैज्ञानिक छ भन्ने विषयमा अहिलेसम्म छलफल भएको देखिदैन ।

हेर्दा सामान्य लाग्ने पानीमा झापामा मात्रै दैनिक लाखौं रुपैयाँको कालाबजारी हुन्छ । झापामा २७ वटा पानी उद्योग घरेलु तथा साना उद्योगमा दर्ता भएको देखिन्छ । आन्तरिक राजश्व कार्यालयमा पानी शीर्षकमा ४१ वटा कम्पनीले राजश्व तिरिरहेको तथ्याङ्क छ ।

यसरी कम्पनी चलाउन अनुमति दिने निकाय र राजस्व सङ्कलन गर्ने निकाय नै कति कम्पनी छन् भन्ने बारेमा बेखबर छ । कम्पनीको यकिन तथ्याङ्क नभए पनि पानी उत्पादकहरू उद्योगका अनुसार झापामा दैनिक ७२ हजार लिटर पानी बिक्री हुने गरेको छ ।

झापाका कम्पनीले आफूले उत्पादन गरेअनुसारको पानीको मूल्य नपाएको कारण कतिपय कम्पनी धरासायी बनेको प्रशोधित पानी उत्पादक सङ्घ प्रदेश १ का उपाध्यक्ष राम पोखरेलको भनाइ छ । झापामा दैनिक १५ देखी २० लाखसम्मको पानीको कारोबार हुन्छ ।

व्यापारीहरूको यो तथ्याङ्कलाई आधार मान्ने हो भने वार्षिक ६० करोड रुपैयाँभन्दा बढीको कारोवार हुन्छ । तर आन्तरिक राजस्व कार्यालयमा भने आर्थीक वर्ष २०७४/७५ मा २४ लाख ११ हजार ८ सय ४२ रुपैयाँ मात्र राजश्व सङ्कलन भएको आन्तरिक राजश्व कार्यालय झापाका कर अधिकृत पेशल न्यौपानेले बताए ।

उनले अनुगमनको अभावका कारण पानीमा कम मात्र राजस्व सङ्कलन भएको दाबी गरे । उपभोक्ता मञ्च दमकका उपाध्यक्ष डा. नवीन चापागाईले पानीको मूल्यमा प्रभावकारी अनुगमनकै अभावमा राजस्व कम सङ्कलन भएको र उपभोक्ता समेत ठगिने गरेको स्वीर्काछन् ।

क्षेत्रीय खाद्य गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइरालाले बजार अनुगमन कडाइ गरिने दाबी गर्छन् । उनले कालाबजारी गर्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याउने बताए ।