पथरीशनिश्चरे/ तेस्रो मुलुक पुनर्वास भएका भुटानी सर्जकमार्फत् अमेरिकाको नर्थ क्यारोलिनास्थित सार्लोटमा पुस ७ गते ‘ग्लोबल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड २०१८’ प्रदान गरिने भएको छ ।

‘नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा संस्कृतिको पहिचान र प्रवद्र्धनका लागि हाम्रो सामूहिक अभियान’ भन्ने नाराका साथ आयोजना हुन लागेको हो । लभ एण्ड सपोर्ट फाउण्डेशनले गर्न लागेको तेस्रो शृङ्खलामा ४ विधाका विभिन्न ५३ वटा अवार्ड वितरण हुने अध्यक्ष मनोज राईले जनाए ।

कार्यक्रममा पुराना फिल्मकर्मी एवम् निर्देशक बन्नी प्रधानलाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरिने छ । प्रधानले बहुचर्चित फिल्म ‘तिलहरी’, ‘देउकी’लगायत फिल्म निर्देशन गरेका छन् । गीतकार बुद्धवीर लामालाई पनि ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरिने भएको छ ।

लामाले नेपाली साङ्गीतिक क्षेत्रमा ५ सयभन्दा बढी गीत लेखिसकेका छन् । त्यसक्रममा नायक, नायिका, गीतकार, पत्रकार र समाजसेवी गरी २५ जनालाई सम्मानित गरिने छ ।