विजयपुर/ दैनिकजसो बिरामीको सेवामा व्यस्त रहने देशभरका चिकित्सकहरू शनिबारदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साइन्याप्स अन्तर्गत ‘अफबिट’ कार्यक्रममा व्यस्त छन् ।

बीपीमा अध्ययरत विद्यार्थीहरूले गरेको चिकित्सा क्षेत्रभन्दा बाहिरको ‘साइन्याप्स’ मा व्यस्त बनेका हुन् । विद्यार्थीहरू अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल र बास्केटबललगायतका खेलमा व्यस्त बनेका छन् ।

साइन्याप्स आयोजक समितिका खेलकुद संयोजक करन यादवका अनुसार बीपी निलो र नोबेल मेडिकल कलेजबीच सम्पन्न क्रिकेटमा बीपी निलोले चार रनले जित हासिल गरेको छ । त्यस्तै फुटबल संयोजक प्रबिन भुसालका अनुसार बीपी सेतो र विराट मेडिकल कलेजबीचको फुटबल खेलमा बीपीले ४–० गोल अन्तरले विराटलाई हराएको छ ।

जितका लागि जितु कोइराला, केदार डिसी, सुशान्त चौधरी र अभिनब खुम्बुले गोल गरे । त्यस्तै आइतबारनै सम्पन्न किस्ट मेडिकल कलेज र कलेज अफ मेडिकल साइसेन्स (कम्स) बीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

भलिबलतर्फ बीपी र विराट (गल्स) बीचको खेलमा बीपीले सोझो २ सेटमा हराएको छ । त्यस्तै नोबेल र किस्ट (गल्स) बीचको खेलमा नोबेलले सोझो दुई सेटमा हराएको थियो ।

नेपाल मेडिकल कलेज, जोरपाटी र नेपालगन्ज मेडिकल कलेज (ब्वाइज) बीचको बास्केटबलमा नेपाल मेडिकल कलेजले ३४–२९ ले जित हासिल गर्यो भने बीपी डाक्टर्स र किस्ट (ब्वाइज ) बीचको खेलमा बीपीले ५०–१९ ले सहज जित हासिल गरेको बास्केटबल संयोजक आशुतोष पाण्डे, सुशान्त चौधरी र तेजेश साहले दिए ।

गतवर्षका खेलहरूभन्दा खेलहरू थपिएका कारण यो वर्ष खेल तथा अन्य कार्यक्रमहरूको स्तर बढेको कार्यक्रमका मिडिया संयोजक तथा प्रतिष्ठानमा एमबीबीएस चौथो बर्षमा अध्ययनरत शुभमकुमार अग्रवालले बताए ।

चिकित्सा शिक्षामा अध्ययरत विद्यार्थीहरूको चौतर्फी क्षमता प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रम भएको सुवर्णभक्त जोशीले बताए ।