दमक/ ‘पक्षपात बन्द गर, समयमा तलब प्रदान गर,करार पूनर्वाहली गर, सबै कर्मचारीलाई सम्मान गर’ यस्तै यस्तै लेखीएका प्ले कार्ड बोकेर सोमबार दमक स्थित लाईफन अस्पतालमा कार्यरत नर्सहरु अस्पतालमा परिसरमा भेला भएका थिए ।

अस्पतालका शैयामा बिरामीहरु भएपनि उनीहरु बिरामीको सेवामा नगै बिभिन्न नारा लेखीएका प्ले कार्ड बोकेर उनीहरु अस्पतालको परिसरमा भेला भएका थिए । लाईफलाइन अस्पतालका नर्सहरु पेशागत हकहित लगायतका विभिन्न मागहरु राख्दै आन्दोलित भएका छन् ।

आइतबारदेखि अस्पतालमा कार्यरत एक सय ५० बढी नर्सहरु विभिन्न सेवा,सुविधाहरु माग राख्दै आन्दोलित भएका हुन् । कार्यरत नर्सहरु आन्दोलित भएपछि अस्पतालको नियमित सेवा प्रभावित भएको छ ।
उनीहरुले काम छोडेर माग पूराउन आन्दोलनमा उत्रिएका छन् । सोहि अस्पतालमा कार्यरत नर्स सेरिना बस्नेतका अनुसार आइतबार आफ्ना मागका बारेमा अस्पताल प्रशासनलाई लिखीत ज्ञापनपत्र बुझाएको छ ।

तर सो ज्ञापन पत्रको समेत वेवास्ता गरेपछि उनीहरुले आन्दोलनलाई अझ सशक्त बनाउन थालेका बताए । आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार नर्सहरुले अस्पताल परिषरमा विहान विभिन्न प्लेकार्ड बोकेर नारावाजी गरे ।

विभिन्न नौ बुदे माग राख्दै उनीहरुले आफ्ना मागहरु पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उनीहरुले संघर्ष समिती नै नर्सहरुका आधारभूत सेवा,सुविधा सम्बोधन नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिले बताएको छ ।

आन्दोलनमा उत्रिएका नर्सहरुले मेलिना सुब्बाको संयोजकत्वमा एक संघर्ष समिति गठन गरेका छन् । गठित संघर्ष समितिकी संयोजक मेलिना सुब्बाले नर्सहरुका माग पूरा गराउन दबावमूलक संघर्षका कार्यक्रम शुरु गरिएको बताईन् । उनले माग पुरा नभए आन्दोलनले अर्कै रुप लिने समेत बताईन् ।

आन्दोलनमा उत्रिएका नर्सहरुले अस्पताल प्रशासनले करारमुक्त गरिएका सम्पूर्ण नर्सहरुलाई पूर्नावहाली हुनुपर्ने ,तलब बृद्धि गर्नुपर्ने , आर्थिक शोषण बन्द गर्नुपर्ने, सबै कर्मचारीलार्इ समान व्यवहार गर्नुपर्ने ,पद अनुसार कामको व्यवस्था गर्नपर्ने लगायतका माग अघि सारेका छन् ।

अस्पतालका अधिकांश नर्सहरुले न्यून ज्यालामा काम गरिरहेको बुझिएको छ । यसैबिच यसै बिषयमा सोमबारनै बस्ने भनिएको आन्दोलित पक्ष र अस्पताल प्रशासन बिचको वार्ता मुख्य बुदामै सहमति नभएपछि मंगलबारसम्मका लागि स्थगित भएको छ ।