भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी ६ घण्टे भ्रमणका लागि विवाह पञ्चमीको अवसरमा जनकपुर आएर फर्केका छन् । प्रदेश सरकारले उनको स्वागतका लागि कुनै कसर बाँकी राखेनन् । मिथिलाको परम्पराअनुसार उनको स्वागत गरियो भने ३६ प्रकारको व्यञ्जनबाट सत्कार गरियो ।

मूलतः उत्तर प्रदेशका मुख्यमन्त्रीको जनकपुर भ्रमण धार्मिक रहे पनि यसले दुई देशको सम्बन्धलाई थप उजागर गर्ने मौका दिएको छ । रामको जन्मभूमि अयोध्या आदित्यनाथ मुख्यमन्त्री रहेको उत्तर प्रदेशकै धार्मिक सहर हो ।

राजनीतिमा छिर्नुअघि उनी योगी (साधु) नै थिए । यता जनकपुर सीताको जन्मभूमि हो । यी दुवै धार्मिक सहरबीच त्रेतायुगदेखिकै सम्बन्ध छ । सीतालाई भारतका हिन्दूले सती सावित्री ठान्दछन् । उनको जन्मभूमि जनकपुरप्रति भारतीयको अगाध आस्था छ ।

नेपाल-भारतबीच प्राचीन सम्बन्ध छ । जनकपुर-अयोध्याको आफ्नै खाले भाइचारा छ । पुरानै सम्बन्धलाई नयाँ आयाम दिन भ्रमण भएकाले त्यसबाट दुवै देशलाई फाइदा पुग्ने देखिन्छ ।

जनकपुरधाममा विवाह पञ्चमीको रमझममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आएर नेपाल(भारत सम्बन्धलाई नयाँ आयाममा बदल्न खोज्नु नै आजको आवश्यक्ता हो । यसबाट नेपाल-भारत सम्बन्ध अझ मजबुत बन्ने विश्वास गर्न सकिन्छ ।

नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध मात्र नभई परस्परको सांस्कृतिक समानताको महत्व पनि यस भ्रमणबाट अझ प्रष्टिएको छ । नेपाल र भारतबीचको परस्परको अन्योन्याश्रित सम्बन्धको गरिमा बढाउने गरी योगीलाई जन्तीसहित पठाउने निर्णय भारत सरकारले गर्नु भनेको उसले जनकपुरलाई उच्च महत्व दिएको प्रतीत हुन्छ ।

योगी आदित्यनाथ विवाह पञ्चमीमा जन्ती लिएर अयोध्याबाट जनकपुरधाम आउनु र जन्तीसहित उतै फर्कनुलाई महत्वका साथ हेरिएको छ । यसले जनकपुरको गरिमालाई झन बनाएको छ भने नेपाल र भारतबीचको सम्बन्धको दायरा पनि फराकिलो पारेको छ ।

ज्ञातव्य के छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणको क्रममा जनकपुरदेखि अयोध्याधाम सम्मको लागि बस सेवा प्रारम्भ गरेका थिए । सो सेवालाई उत्तरप्रदेश र प्रदेश २ को सरकारले निरन्तरता दिइनु पर्छ । त्यस कारण उनले नेपाल र भारतबीच कनेक्टिभिटीमा जोड पनि दिए ।

दुई देशको विकासका लागि कृषि, सांस्कृतिक पर्यटन, सिस्टर सिटीको आवधारणा उनले अगाडि सार्नु पक्कै पनि जनकपुरको हितमा छ ।  जनकपुर र अयोध्याबचिको दुरी घटाउन सके भारतबाट ठूलो संख्यामा धामिर्क पर्यटक जनकपुर ल्याउन सकिन्छ । यसका लागि प्रदेश २ को सरकारले पनि आफनो तयारी सोही अनुरूप गर्नुपर्छ

आदित्यनाथको जनकपुर भ्रमण धार्मिक र राजनीतिक दुबै हो । उनको धार्मिक र राजनीतिक व्यक्तित्व दुवै भएकाले उनी जनकपुर आउनु र राजनीतिक भेटघाट गर्नु ठूलो विषय होइन । तर भ्रमणलाई राजनीतिक रंग दिएर यसलाई विवादित बनाउनु हुन्न ।

भ्रमणबाट के कसरी लाभ लिन सकिन्छ त्यसबारे सोचौं । किनभने योगी शक्तिशाली मुख्यमन्त्री हुन र उनको भारतका प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध रहेकाले त्यसबाट नेपालले फाइदा लिन सक्छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान राम र माता सीताको जीवन दुवै देशको धर्म संस्कृति र सभ्यताको अंग भएको बताएका छन् ।

राम-सीताले पालना गरेको आदर्श र मूल्यहरूले सबैलाई प्रेरणा दिने उनको लिखित सन्देशमा उल्लेख छ । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रूपमा आएका आदित्यनाथले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए ।

त्यसपछि उनले लिखित सन्देश दिएका हुन् । उनले जनकपुरधाममा पूजाअर्चना गर्न र महाराज जनकको भूमिको यात्रा गर्न पाएकोमा आफू धन्य भएको उल्लेख गरेका छन् । साथै आफ्नो प्रतिनिधिमण्डलको भव्य स्वागत गरिएकोमा उनले नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिएका छन् ।

सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरे ।

मुख्यमन्त्री राउतले अभिनन्दन पत्रमा नेपाल भारतको धार्मिक, सांस्कृतिक विशिष्टता अनुकरणीय रहेको चर्चा गर्दै लोकतन्त्रको सुदृढीकरण अभियानमा सबैको सहयोग र प्रतिबद्धताका लागि आग्रह गरे ।
यसैबीच भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रदेश नं २ को सरकारद्वारा आयोजित भण्डारा (दिवा भोज) मा पनि सरिक भए ।

भण्डारामा ३६ प्रकारको ब्यञ्जन पस्किइएको थियो । ब्यजनमा दाल, भात, कजौरीपालक पुरी, रोटी, गाँजरको हलुवा, पेडा, तीन प्रकारको रसबरी, दही, राजभोग, गुलाब जामुन र तरकारी लगायतका विभिन्न परिकार पस्किइएको थियो ।

मधेश दर्पण फिचर सेवा