धरान / धरान उपमहानगरपालिकाले धरानको मुटु भानुचौकमा महत्वकांक्षी योजना अनुरुप सुविधा सम्पन्न सपिङ कम्प्लेक्स बनाउने गुरु योजना बनाए पनि त्यस स्थानमा अब सपिङ कम्प्लेक्स नबन्ने प्रायः निश्चित भएको छ ।

बार्षिक ३ करोड गुमाउदै धरान उपमहानगरपालिका
२०५६ सालमा धरान उपमहानगरपालिकाले धरानको भानुचौकमा रहेको ६ कट्ठा जग्गामा सपिङ कम्प्लेस बनाउने भनेर यहाँ रहेको सब्जी बजार र फेन्सी स्टोरका टहरा भत्काएर व्यवसायीको विचल्ली बनाएको मात्र हैन धरान उपमहानगरपालिकाले त्यस ठाउँबाट लिने करवापतको बार्षिक ३ करोड रुपैया समेत गुमाएको छ ।
२०७२ सालभन्दा अगाडी त्यस स्थानमा सपिङ कम्प्लेक्स बनाउने योजना अगाडी सारेको धरान उपमहानगरपालिकाले सोही सालको वैशाखमा आएको भुकम्प पश्चात बजारको बीचमा खुल्ला स्थान चाहिने भन्दै त्यस ठाउँलाई सवारी साधनको पार्किङकै रुपमा प्रयोग गर्ने निर्णय गरिएको धरान उपमहानरपालिकाका शहरी विकास आयोजनाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । उनले देशको विषम् परिस्थितिका कारण सपिङ कम्प्लेक्स बन्न नसकेको बताए । उनले भने, अहिले तत्काल त्यसका लागि बजेट विनियोजन भएको छैन । यसमा अहिले केही भन्न सकिएन ।’
तत्कालिन जनप्रतिनिधीको कमजोरी
२०५६ साल अगाडी त्यस स्थानमा भएको सब्जीमण्डी र फेन्सीसपको टहराबाट बार्षिक ३ करोड रुपैया आएको उपमहानगरपालिकाको रेकर्डमा उल्लेख छ । अहिले त्यो स्थान छाडा सवारी साधनको स्टेन बन्दा बसपार्क नै अस्तव्यस्त बन्नुका साथै उपमहानगरपालिकाको समेत आयस्रोत गुमेको अवस्था छ । सपिङ कम्प्लेक्स बन्दा धरानको विकास हुने अपेक्षा राखेर आफूहरुले धरान उपमहानगरपालिकाको निर्णयलाई मानेको भए पनि हालसम्म बन्न नसक्नुमा त्यसबेलाका जनप्रतिनिधिको ठूलो कमजोरी भएको भानुसब्जी तथा फलफूल व्यवसायी समितिका पुर्व अध्यक्ष धर्मराज तिम्सिनाले बताए । उनले नितान्त व्यक्तिगत र राजनीतिक स्वार्थका कारण सपिङ कम्प्लेक्स बन्न नसकेको आरोप लगाए । उनले भने, ‘त्यस बेला सब्जी मण्डी उठाएर सपिङ कम्प्लेक्स बनाइयो अहिले त्यो जग्गा प्रयोगविहीन भएको छ । ‘त्यस स्थानबाट सब्जी बजार सारेर धरान ९ पूर्णपथमा पालिका तरकारी बजार नामाकरण गरी सारिएको भए पनि दुई बर्ष वित्न नपाउदै व्यवसायिकको असुरक्षा बढ्दै गए पछि धरान ३ चिनियाचौकमा सब्जी बजार सारिएको थियो ।
बन्न लाग्दा भ्रष्टाचारको खेल
यता तत्कालिन धरान उपमहानगरपालिकाका उपमेयर कृष्णनारायण पलिखले सपिङ कम्प्लेक्स सोही बेला बन्ने भए पनि व्यक्तित स्वार्थ हावी भएका कारण सो बेला बन्न नसकेको बताए । उनले त्यसबेला गरेका निर्णयमध्ये १० नम्बर बुँदामा सोही जग्गालाई वैकमा धितो राखेर निर्माण गर्र्ने कुरा उल्लख गरिएकोले सर्वत्र विरोधपश्चात बन्न नसकेको बताए । उनले सपिङ निर्माणमा भ्रष्टाचारको खेल अधिक हुन थालेपछि त्यसबेला यो थाति रहेको बताए । उनले भने, ‘बन्न लाग्दा भ्रष्टाचारको खेल शुरु भयो, हामीले विरोध ग¥यौ, खान नपाएपछि सपिङ्ग कम्प्लेक्स बनेन ।’
ट्याक्सी स्टेनले शहरको सौन्दयता विगार्दै
बर्षौदेखिको गुरु योजनालाई थाति राख्दा उपमहानगरपालिकाले वेफाइदामात्र हैन करोडौको राजस्व समेत गुमाएको छ । सपिङ्ग कम्प्लेक्स बनाउने भन्ने स्थानमा अहिले कोशी राजमार्गमा चल्ने लामो तथा छोटो दूरीका सवारी साधनको स्टेन बनेको छ । यस स्थानमा दैनिक ५० देखि १ सय सम्म यस्ता सवारी साधनहरु राखिने गर्दा धरानको मुटु मानिएको भानुचौक नै विरुप बनेको छ । धरानको मुटु भानुचौकको घण्टाघरले शहरको सौन्दरयता बढाए पनि घण्टाघर अगाडीको गाडी स्टेनले कुरुप बनाएको छ ।