बाँके / पश्चिम नेपालका अधिकांश जिल्लाबाट उपचारका लागि छालाका बिरामी नेपालगञ्जमा आउने गर्छन् । यसखाले समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दो रूपमा रहेको चिकित्सक बताउँछन् । 

स्वास्थ्यका बारे जनचेतना नभएकाले, सरसफाइमा ध्यान नदिँदा सङ्क्रमणबाट ढुसी (फंगस) बढी देखा पर्ने गरेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका चिकित्सक डा कुमार पोखरेलले बताउनुभयो । 

मेडिकल भाषामा ‘टिनिया’का नामले परिचित यो रोगका कारण ६० प्रतिशत नागरिक पीडित भइरहेका छन् । यसमा दुबी, दादलगायतका सबै रोग पर्ने चिकित्सकको भनाइ छ । नेपालमा कुष्ठरोग छैन भन्ने दाबी गरिए पनि पश्चिम क्षेत्रमा कुष्ठरोग अत्यधिक देखिएको छ । 

नेपालगञ्जका ठूला भनिएका अस्पतालमा कुष्ठरोगका बिरामी अहिले पनि आइरहेका छन् । कुष्ठरोग अरु छालाको रोगसँग मिल्दोजुल्दो देखिने भएकाले अरु सामान्य सङ्क्रमण हो भनेर आफैँ औषधि प्रयोग गरिरहेको चिकित्सक बताउँछन् । कतिपय बिरामी अस्पतालको पहुँच बाहिर रहनुका साथै जिल्लामा छालाका विशेषज्ञ चिकित्सकको अभावमा आफूखुशी मेडिकलमा गई मलहम किनेर लगाउने गर्दै आएका छन् ।

लामो समय बितेपछि जब हातखुट्टा झमझम गर्छ, नसा दुख्छ, लुलो हुन्छ तब अस्पतालमा आउने गरेको भेटिएको भेरी अञ्चल अस्पतालले जनाएको छ । नेपालगञ्जका अस्पतालमा कुष्ठरोगबाहेक अन्य छालाका सङ्क्रमणबाट हुने रोगी पनि आउने गरेका छन् । पहिलेभन्दा अहिले छालासम्बन्धी चासो लिएर जाँच गराउनेको सङ्ख्या बढेको छ । अहिले त नेपालगञ्जमा भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा छालाका विशेषज्ञ चिकित्सक पनि छन् । 

नेपालमा बढी देखिने पाँच रोगमध्ये एक छालासम्बन्धी भएको डा पोखरेल बताउँछन् । उनी भन्छन्, “नेपालमा छाला रोगको समस्या धेरै छ । कूल जनसङ्ख्याको २५ प्रतिशतमा कुनै न कुनै र पाँच प्रतिशतलाई कडा खालको रोग छ जसको तत्काल उपचार जरुरी छ ।” उनका अनुसार यो रोग मौसमअनुसार पनि मानिसमा देखिन सक्छ । 

डा पोखरेलका अनुसार पछिल्लो समय शहरीकरणले उब्जाएको फोहर, धूलो, धुवाँ र प्रदूषणले छालालाई गम्भीर असर पारिरहेको छ । “छालाका समस्यालाई सामान्य ठानियो र समयमै सही उपचार गरिएन भने त्यसले पछि क्यान्सरको रुप लिन सक्ने खतरा पनि रहन्छ”, डा पोखरेलले भने । नेपालमा कति मानिसलाई छालाको समस्या छ भन्ने हालसम्म एकिन तथ्याङ्क भने रहेको पाइँदैन ।