डा. न्यौपानेले किरात राई जातिको आठपहरिया जातिको भाषाबाट विद्यावारिधि गरेका हुन् । आठपहरिया नेपालको धनकुटा जिल्लामा मात्रै छन् ।

उनीहरूको भाषामा विद्यावारिधि गर्ने पहिलो व्यक्तिसमेत हुन् । २०५७ सालतिर विद्यावारिधि गर्दा त्रिभुवन विश्वविद्यालयले जातिगत भाषामा विद्यावारिधि गर्ने अवसर प्रदान गर्दैनथ्यो । तर, उनले स्नातकोत्तरमा अन्य भाषाका ‘थेसिस’ लेख्न दिने भएकैले त्यो अवसर प्राप्त गरेका थिए ।

त्यही कारण उनी पहिलो जातिगत भाषामा विद्यावारिधि गर्ने विद्वान हुन् ।  धनकुटाको चुम्वाङ जहाँ उनी जन्मिए । २००५ माघ ६ गते धर्तीमा पाइला टेकेका उनले शिक्षाको ज्योति प्राप्त गर्ने अवसर औपचारिक रूपमा २०१३ सालबाट मात्रै जुर्यो ।

त्यसअघि २००९ सालमा ‘क,ख’ सिक्ने अवसर पाए । व्राम्हण कुलमा जन्मिएकाले रुद्री, चण्डी गर्ने परम्पराकै उपज उनले पनि कखरा सिक्ने अवसर प्राप्त गरेको स्मरण गर्छन् । चुम्बाङमा जमिनदार घिमिरेहरू थिए ।

 जो सरकारको तिरो तिर्नका लागि राखिएका ‘मुन्सी’ का एजेन्ट थिए । उनीहरूको घरमै बसेर उनले कखरा चिन्ने अवसर प्राप्त गरेका थिए । त्यसबेला पाटी हुन्थ्यो । रातो माटो मसिनो गरी पिस्यो, छिन्कियो ।

त्यसपछि त्यो पाटीमा राखेर सिन्काले लेख्ने चलन थियो । सिन्काले लेखेरै ४-५ वर्षको उमेरमा ‘क ख’ सिके । जस्तै नभए पनि बाहुन परिवार पढ्नुपर्छ भन्ने संस्कार भएकाले उनले कखरा छिचोल्ने अवसर प्राप्त गरे ।

बा पण्डित भएकाले पनि चण्डी पाठका लागि पनि अक्षर चिनाउने चलन थियो । अक्षर चिनेपछि उनले पनि चण्डी पढ्न थाले । तर, त्यही बेला बाको लडेर दुबै खुट्टा प्यारालाइसिस भएको थियो ।

त्यसको उपचारका लागि बासँगै उनी पनि धरानको पुरानो अस्पतालमा आएको स्मरण गर्छन् । दुई वटा लौरी टेकेर हिड्ने बा अस्पतालमा डाक्टरको सहयोगमा एउटा लौरो टेकेर हिड्ने भएको स्मरण गर्छन् ।

२०१०-११ सालतिर बासँगै उनी पुनः चुम्बाङ फर्किए । २०१३ सालमा बालाई कसैले धरान जा भनेर सुझाव दिएकै कारणले हुनसक्छ । उनी बासँगै फेरि धरान आए । त्यो बेला पिण्डेश्वर मन्दिरमा बालाई आश्रय मिल्यो ।

खाने, बस्ने सुविधा बालाई थियो । तर, आफु त्यसबाट बञ्चित थिए । मन्दिरको अक्षता भेला गरेर धोइपखाली झण्डै एक महिना गुजारा चलाइयो । त्यसबेला हरेक मन्दिरमा एक बोटुको भात चढाउने चलन थियो ।

मेरो कन्तविजोग देखेर मन्दिरका पूजारीहरूले नै गणेश मन्दिरमा चढाएको सानो बोटुकोको भात मलाइ दिए । दुई तिन महिनाजति खाएपछि पण्डित छविलाल पोखरेलले पिण्डेश्वरमा भर्ना गरिदिए ।

नम्बरी पण्डित छविलालका कारण ७५ जनामध्ये म पनि परे । त्यो बेला सोझै ५ कक्षामा भर्ना हुने चलन थियो । त्यसपछि खानेबस्ने समस्या टर्यो । पढ्दै गइयो । पढाइमा राम्रै थिए । प्रथम-दोस्रो नै हुन्थे ।

पिण्डेश्वर वनारस विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएकाले २०१८ सालसम्म पूर्वमध्यमा (एसएलसी) को परीक्षा दिन वनारस नै जानुपर्यो । त्यो बेला त्रिभुवन विश्वविद्यालय खुलिसकेको थिएन । त्रिवि २०१२ सालदेखि तयारी थियो ।

तर, सञ्चालनमा आइसकेको थिएन । तर, मेरै पाला २०१९ सालदेखि त्रिविमै परीक्षा दिने व्यवस्था भयो । म वनारस जानु परेन । त्यो बेलामा पढाइभन्दा पनि बढी अतिरिक्त क्रियाकलापमा संलग्न हुन्थे । म चाहिँ नृत्य गर्ने, गीत लेख्थे ।

२०१६ सालदेखि पिण्डेश्वरमा विद्यार्थीहरूले मिलेर ‘नेपाल’ नामक भित्ते पत्रिका चलाएका थिए । तिहारको समयमा देउसी खेलेर पैसा सङ्कलन गरिन्थ्यो । विराटनगर अञ्चलाधीश कार्यालयसम्म पुगेर देउसी खेलिथ्यो ।

सङ्कलन भएको पैसाले संस्कृत छात्र पुस्तकालय खोल्यौं । देउसीको पैसाले भोज खाने, पिकनिक जाने चलन थिएन । त्यो पुस्तकालय अहिले पनि छ । तर, सञ्चालन भएको मलाइ याद छैन । जेहोस् प्राज्ञिक काममै पैसा खर्च गरिन्थ्यो ।

पुस्तकालयमा हामीले हारमोनियम, सिलाइ मेसिनसम्म किनेका थियौँ । धरानको पब्लिक स्कुलको छेउमा चन्द्रशेखर श्रेष्ठले चलाएको नेपाल लोकनृत्य सङ्घ थियो । जसलाई पञ्चहरूको हो भन्थे । अर्को गैरपञ्चहरूले चलाएको नेपाल लोकनृत्य सङ्घ । जहाँ म, नवीनकिशोर राई, शरण राई, शिवसङ्कर थापा, एलपी जोशी, केदार राई थियौँ । त्यो बेला म चाहिँ खुङ्खार काङ्ग्रेस । जानेर, पढेर काङ्ग्रेस भएको होइन ।

पण्डित छविलाल गुरु काङ्ग्रेस भएकाले चेला पनि काङ्ग्रेस भएको । मैले २०१९ सालमा पूर्वमध्यमा सके । २०२१ सालमा उत्तर मध्यमा र २०२३ सालमा शास्त्री सके । शास्त्री प्रथम श्रेणीमा पास भएकाले आचार्य पढ्न काठमाडौं जाने निधो भयो ।

त्यो बेलामा भानुचौकसम्म अविर जात्रा गरे । त्यो हुनुको पछाडि एउटा कारण छ । तत्कालीन समयमा पिण्डेश्वरमा दिँदै आएको भात बन्द गर्ने सरकारले घोषणा गर्यो । त्यो बेला पिण्डेश्वरलाई काङ्ग्रेसको गढ भन्थे ।

त्यही भातकै कारण काङ्ग्रेस बढेको सरकारले निश्कर्ष निकाले छ । म त्यसको विरोधी भएर निस्किए । सानो मान्छे, कसैले नपत्याएको मैले प्रधानमन्त्री सूर्यबहादुर थापासम्मलाई भेटेर बिन्ति चढाए । सरकारले भात बन्द गरेर छात्रवृतिमार्फत् पैसा नै दिने भन्ने घोषणा गरेको थियो ।

मैले खुलेर विरोध गरे । विभिन्न ठाउँमा डेलिगेसन हुँदै प्रधानमन्त्रीलाई भेटियो । राजा त्रिभुवनले चलाएको ‘हण्डी’ बन्द गर्ने अधिकार सरकारलाई छैन भन्दै चर्किएपछि भात फिर्ता भएको थियो । सायद त्यही कारणले मलाई अविरजात्रा गरियो होला ।

२०२५-२०२६ सम्म आचार्य पढिदै थियो । त्यो बेलामा महानन्द सापकोटाका छोराले पढ्दापढ्दै सारदा बालिका नमुना माविमा नेपाली शिक्षकको आवश्यकता छ भनेर खबर पठाउनुभयो । आफु पढ्दै गरेको भनेपछि जागिर भनेको बेला पाइदैन भन्दै हप्काउनु भएपछि पढाइ छाडेर जागिर खान आइयो ।

जागिरका लागि विज्ञापन भयो । विज्ञापनमा अरु २/३ जना थियौं । पढाउनका लागि कक्षा ‘अब्जरभेसन’ गर्न लगाइयो । त्यो बेला म राम्रै पढाउथे । विद्यार्थीहरूले मलाइ नै छाने । सरहरूले ‘को चाहियो भनेर विद्यार्थीलाई सोध्दा त्यो सानो सर भनेपछि जागिर पाइयो । त्यही पढाउँदा पढाउँदै प्राइभेटबाट २०२७ सालमा एमए पूरा गरे ।

तर, त्यो बेलामा बीपी कोइरालाले वनारसबाट सशस्त्र क्रान्ति गर्ने भनेर घोषणा गरे । हतियारबिना क्रान्ति हुदैन थियो । तात्कालीन समयमा धरान-१२ चतरालाइनमा काङ्ग्रेसको अखडा फ्रेण्डस् क्लब भन्ने थियो ।

जहाँ भेटघाट गर्ने, तास खेल्ने गर्थे । त्यहाँ मलाइ पनि निम्ता गरियो र पम्प्लेट लेख्नुस भनेर भनियो । मैले र राजेश्वर आचार्य दुई जना भएर पम्प्लेट लेख्यौं । त्यसबेला काङ्ग्रेसका अधिकांश नेता भारतको फारबिसगञ्जमा बस्थे ।

यताबाट दुई जनाकै पम्प्लेट बोकेर पुगेछन् । त्यहाँ मेरो पम्प्लेट छनौट भयो । क्रान्तिकारी तरिकाले लेखिएकाले पनि धेरै नेताले मन पराएछन् । उताबाट ल्याएको केही समय नबित्दै गणेश टाकिज हलमा दिउसै पम्प्लेट बाडेछन् । दुई जना केटाहरू त पक्राउ परिहाले ।

२०२७ साल असारमै मैले विहे गरेको थिए । भदौंको कुरा हो यो । पढाउँदै गर्दा थाहा भयो । १५ दिन लुकियो । त्यसबेला अहिलेको जस्तो फोन थिएन । १५ दिनपछि स्कुल पुगेर पढाइयो । टिफिनसम्म खासै समस्या भएन ।

टिफिनपछि एकजना सरको आग्रहमा चिया खान गइयो । चिया खाएपछि फर्किएर पनि पढाइयो । फेरि त्यही सरले छाताचौक जाउ भनेर ढिपी गरेपछि आइयो । त्यही मलाई झ्याप्पै पक्रिहाले । १९ दिनसम्म म्याद थप गर्दै अहिलेको वडा प्रहरी कार्यालय भएको ठाउँमै राखे ।

पछि पक्राउ भएका अन्य दुई जनाले ‘टङ्क’ ले नै लेखेको भनेपछि मैले पनि साविती बयान दिए । दुई वर्ष जेल परियो । जेलबाट छुटेपछि पुनः सारदा बालिकामा पढाउन दिइएन । वेरोजगारी भएपछि काठमाडौं गएर जागिर खोज्ने क्रममा करारमा भैरहवा क्याम्पसमा पढाउने अवसर पाए ।

त्यहाँबाट धनकुटा क्याम्पसमा आइयो । त्यही नै आठपहरिया जातिको भाषामा विद्यावारिधि गर्ने प्रेरणा मिलेको हो । विद्यावारिधि गरेका भाषाविद् प्रा.डा न्यौपाने अहिले महेन्द्र बहुमुखी क्याम्पसबाट अवकास भएका छन् भने उनी जनता बहुमुखी क्याम्पस इटहरीमा अहिले पनि अध्यापक छन् । लामो सङ्घर्षबाट उनी यो अवस्थामा आइपुगेका हुन् ।