सर्लाही /  सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको वीभत्स तरिकाले हत्या भएको हो ।  धारिलो हतियारले उनको टाउको क्षतविक्षत गरी हत्या गरिएको छ । आज बिहान घरभन्दा एक किलोमिटरको दूरीमा सडकमा महतोको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।  नयाँरोड बरहथवा सडकखण्डबाट हात्तीडण्डातर्फ जाने भित्रीबाटोमा सोती चोरनिया पुल नजिक टाउको क्षतविक्षत र घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको इलाका प्रहरी कार्यालय प्रहरी कार्यालय बरहथवाले जनाएको छ । 

मोबाइलमा फोन आएपछि राति घरदेखि बाहिर निस्केको महतो अबेर रातिसम्म घर नफर्केको र मोबाइल अफ बताएपछि घर परिवारका व्यक्ति खोजतलास गर्दा महतो मृतावस्थामा फेला परेको स्थानीयवासी अशोकसिंह कोइरीले जानकारी दिए । 

मृतक महतो वाग्मती नगरपालिकाको जिरायतमा आफैँले सञ्चालन गरेको निजी विद्यालयमा पढाउँदै आएका थिए । हत्यामा संलग्नको खोजी तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । 

हत्यारलाई पक्राउ गर्नुपर्ने माग गर्दै आफन्त तथा स्थानीयवासीले प्रहरीलाई शव उठाउन दिएका छैनन् । मृतकका डेढ वर्ष र चार वर्षका दुई छोरा छन् । शव उठाउन नदिएपछि कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ ।