धरान / एक अण्डर ६९ कार्ड बनाउँदै टेकबहादुर राईले मेयर कप ओपन एमेच्योर गल्फ टुनामेन्टको उपाधि जितेका छन् ।

धरानको निर्वाणा कन्ट्री क्लब एण्ड गल्फको १८ होल पार ७० को कोर्षमा २२ हेण्डिक्यापका एमेच्योर गल्फर राईले ट्रफी जिते । लेभल पार ७० खेल्दै ५ हेण्डिक्याप राजकुमार राई फष्ट रनरअप बने । लेभल पार खेलेका ५ हेण्डिक्यापकै जीवन राईले काउन्ट ब्याकको आधारमा सेकेण्ड रनरअप बने । स्ट्रोक प्लेका आधारमा भएको स्पर्धामा एमेच्योर गल्फर बबिन्द्र राई ग्रस विजेता बने ।

राम तामाङ मोष्ट बर्डिज घोषित हुँदा काठमाडौंका एमेच्योर गल्फर भुवन गुरुङ लगेष्ट ड्राइभ घोषित भए । ८ औं होलबाट विरेन लिम्बू नियरेष्ट टु दी पिन घोषित भए । प्रतियोगितामा महिलातर्फ २२ हेण्डिक्यापकी नोर्किन पाख्रिन विजेता घोषित भइन् । उनले २ ओभर ७२ कार्ड बनाउँदै विजेता बनेकी थिइन् ।

प्रतियोगितामा ३ महिलासहित ३३ एमेच्योर गल्फरहरूले स्पर्धा गरेको आयोजक धरान गल्फ क्लबका अध्यक्ष टीका लिम्बूले बताए । धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा पहिलो पटक मेयर कप ओपन गल्फ भएको हो । आगामी वर्षबाट मेयर कप स्कुल ओलम्पिकमा गल्फलाई पनि समावेश गर्ने पुरस्कार वितरणका क्रममा धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारीले प्रतिवद्धता जनाइन् ।

विजेताहरूलाई कार्यबाहक मेयर भण्डारीसहित नेपाल गल्फ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तिलक राई, जिल्ला अध्यक्ष डीवी राईलगायतले पुरस्कार वितरण गरेका थिए ।