तेह्रथुम/ तेह्रथुममा सम्पन्न प्रथम भगिमान सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि माईभ्यालि फुटबल क्लब इलामले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा उदयपुर ११ लाई २-१ गोल अन्तरले पराजित गर्दै इलामले तेह्रथुमकै प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधी जितेको हो । सदरमुकाम म्याङलुङ स्थित खेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्म फाइनल खेलमा इलामको जितका लागि दुई वटै गोल अनिस थापाले गरे ।

खेलको १५ औं मिनेटमा थापाले डि-बक्स एरिया नजिक बाट प्रहार गरेको गोलले सिधै जाली चुमेको थियो । पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै टिमलाई अग्रता थापाले अग्रता दिलाएका थिए । उदयपुरका लागि दोस्रो हाफमा दिप्सन राईले सान्त्वना गोल गरे । प्रतियोगिताको विजेता बनेको इलामले उपाधि सहित नगद २ लाख ५ हजार सहित टूफी हात पार्यो ।

उपविजेता बनेको उदयपुरले नगद १ लाख १५ हजार सहित टूफीमा जित बुझायो । खेलको म्यान अफ द म्याच इलामका अनिस थापा घोसीत भए ।

विजेता खेलाडी टिमलाई १ नम्बर प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले पुरस्कार सहित टूफी वितरण गरे । गत पुस २ गतेदेखी भगिमान सिंह तुम्बाहाङफे मेमोरियल ट्रष्टको आयोजनामा जारी प्रतियोगितामा पुर्वका दश खेलाडी टिमको सहभागिता रहेको थियो ।

पहिलो पटक सदरमुकाम म्याङलुङमा सञ्चालन भएको प्रतियोगीतामा सहभागी हुने खेलाडीहरुलाई नगरपालिका भित्रका होटल व्यवसायीहरुसँग समेत समन्वय गरेर आवासको व्यवस्था गरिएको थियो । यस अघि खेलमैदानको अभावमा जिल्ला सदरमुकाममा सञ्चालित प्रतियोगिताहरु स्थानीय शुक्रबारे हटिया लाग्ने खेलमैदानमा खेलाईदै आए पनि यस वर्ष देखि तत्कालिन जिविसको खेलमैदानमा आमन्त्रण फुडबल प्रतियोगिता भईरहेको छ ।

जिल्लाको खेलकुदलाई सहयोग पुगोस भन्ने उदेश्यले स्थानीय समाजेबी देबीबहादुर तुम्बाहाङफेले तत्कालिन जिल्ला विकास समितिको स्वामित्वमा रहने गरि करिब १५ रोपनी जग्गा निशुल्क प्रदान गरे पछि लामो समयको प्रयासबाट यो खेलमैदान बनेको हो ।

मेलामा जिल्लाको पहिचान झल्किने मौलिक संस्कृति र मौलिक खानाहरुको स्टलहरु समेत राखिएको थियो । लिम्बु समुदायले मनाउने चासोक तङनामको अबसरमा खेलाईएको खेलमा करिब ५० लाख बढीको आर्थिक कारोबार भएको प्रतिष्ठानका अध्यक्ष रामबहादुर तुम्बाहाङफेले बताए ।