धरान /  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै क्यान्सरको उपचार हुने भएको छ । अमेरिकाको विनय तारा फाउन्डेशन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच सम्झौता (एमएयु) भएको छ ।
विगतमा बीपीमै अध्ययन गरेका दोस्रो व्याचका विद्यार्थी एवम् अमेरिकाको फिस हेल्थमा कार्यरत क्यान्सर विशेषज्ञ डा. विनय साह र श्रीमति तारा साहले मिलेर खोलेको विनय तारा फाउन्डेशन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचारमा सहजता ल्याउन आइतबार सम्झौता भएको हो ।

सम्झौतापश्चात विगतमा क्यान्सर्को शल्यक्रियाको सेवामात्र उपलब्ध हुदै आएकोमा अब भने केमोथेरापी पनि बीपीमै हुने भएको हो । यी सम्पूर्ण सेवा एक बर्षभित्रमा पूरा गर्ने जनाइए पनि रेडियो थेरापीका सेवा भने दुई बर्ष लाग्ने जनाइएको छ । रेडिया थेरापी उपकरण खरिदमा ३० देखि ४० करोड लाग्ने भएकोले पनि समय लाग्ने बताइएको छ । सम्झौता पश्चात बोल्दै क्यान्सर विशेषज्ञ डा. विनय शाहले नेपालमा क्यान्सर विरामीहरुले सहज रुपमा उपचार गर्न नसकेको बताए । उनले यसैलाई मध्यनजर गरी जनकपुरमा फाउन्डेशनले २५ बेडको विनयतारा क्यान्सर अस्पताल खोलेको र केमोथेरापीको काम समेत शुरु भइसकेकोे बताउदै भविष्यमा नेपालमा ७ वटै प्रदेशमा एक÷एक वटा क्यान्सार उपचार केन्द्र खोल्ने लक्ष्य राखेको बताए । उनले भने ‘नेपालमा दिनप्रतिदिन क्यान्सरका विरामी बढेका बढ्यै छन तर विरामीले सहज रुपमा उपचार भने पाउन सकेका छैनन् । यसलाई नै मध्यनजर गरी मेरो फाउन्डेशनले नेपालका ७ वटै प्रदेशमा क्यान्सर अस्पताल खोल्न लागेका हौं ।’

प्रतिष्ठानमा सरकारी स्तरबाट क्यान्सरका लागि अंकोलोजी भवन निर्माण कार्य रोकिएको बेला बीपीमै अध्ययनरत विद्यार्थीले अमेरिकामा बसेर बीपीको लागि सोचेका प्रति प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले खुशी व्यक्त गरेका छन् । उनले विगतमा बीपीमा सामान्य उपचार हुने गरे पनि फाउन्डेशनसंग सम्झौता भएपछि बीपीमा क्यान्सरको सम्पूर्ण उपचार हुने विश्वास व्यक्त गरे । उनले भने –यो सम्झोताले प्रतिष्ठानलाई ठूलो फाइदा पुगेको छ । फाउन्डेशन र बीपीको सहकार्यमा जनशक्ति उत्पादनदेखि उपचार सहजताका विषयमा काम हुनेछ । यसले प्रदेश नं. १ का सबैलाई सहज हुनेमा दुईमत छैन ।’
उनले भविष्यमा बीपीलाई बोनमेरो प्रत्यारोपण केन्द्रसम्म बनाउने उद्देश्य बीपीको रहेको समेत बताएका छन् । नेपालमा क्यान्सर विरामीको अवस्था नाजुक भए पनि उनीहरुले समयमै उपचार नपाएका कारण धेरैले ज्यान गुमाउनुपरेको अवस्था छ । क्यान्सर लागेका विरामीलाई सरकारले केही रकम सहयोग गर्ने गरेको भए पनि यसको न्यूनिकरणमा केही सोचेको छैन । खानपान, धुम्रपान तथा शारीरिक व्यायामको अभावका कारण पछिल्लो समय क्यान्सरका विरामीहरु बढी देखिएको भए पनि अन्य क्यान्सरको तुलनामा महिलाहरुमा हुने वेष्ट क्यान्सर र पाठेघर क्यान्सरको अवस्था भने अत्यन्तै भयावह भएको बताइएको थियो । यसले प्रदेश नं. १ का क्यान्सर विरामीलाई धेरै सहजता हुने देखिएको छ ।