धरान/ प्रो. शिवराम श्रेष्ठ र प्रो. रवि खड्का समान ४ अण्डर ६६ कार्ड खेल्दै सूर्य नेपाल इर्षटन ओपन गल्फ टुरमा पहिलो दिन संयुक्त रूपमा शीर्ष स्थान बनाएका छन् । धरानस्थित निर्वाणा कन्ट्री क्लब तथा गल्फ रिसोर्टको १८ होल पार ७० को कोर्षमा बुधबारदेखि जारी टुरमा प्रो. श्रेष्ठ र खड्काले टाइ गर्दै शीर्ष स्थान बनाएका हुन् ।

श्रेष्ठले फ्रन्ट नाइनमा लेभल पार ३६ खेल्दा ब्याक नाइनमा दशौं, १२ औं, १५ औं र १७ औं होलमा बर्डी गर्दै ४ अण्डर ३० खेले । श्रेष्ठले फ्रन्ट नाइनको पहिलो र चौथो होलमा बुगी खेपेका थिए । खड्काले भने फ्रन्ट नाइनको २ र ९ औं होलमा बर्डी गर्दै २ अण्डर ३४ खेले । ब्याक नाइनमा १२ औं र १६ औं होलमा बर्डी गर्दै २ अण्डर ३२ खेले । तर, उनले १७ औं होलमा बुगी खेपे ।

१८ होलको समाप्तिमा प्रो. सञ्जय लामा र घरेलु एमेच्योर सुक्रबहादुर राईले लेभल पार ७० कार्ड बनाएका छन् । लामाले फ्रन्ट नाइन लेभल पार ३६ खेल्दा ब्याक नाइनमा लेभल पार ३४ खेलेका थिए । एमेच्योर राईले फ्रन्ट नाइन १ अण्डर ३५ खेल्दा ब्याक नाइनमा १ ओभर ३५ खेले ।

प्रो. भुवन नगरकोटी, प्रो. विकास अधिकारी, गतवर्ष मात्रै प्रो. र्टन भएका घरेलु प्रो. शिवकुमार माझी, र प्रो. थामबहादुर राईले समान १ ओभर ७१ कार्ड बनाएका छन् । घरेलु प्रो. बलभद्र राई र एमेच्योर बबिन्द्र राई समान २ ओभर ७२ खेलेका छन् । प्रो. बलभद्रले फ्रन्ट नाइन ३ ओभर ३९ कार्ड बनाउदा ब्याक नाइनमा १ अण्डर ३३ खेलेका थिए । एमेच्योर बबिन्द्रले पनि फ्रन्ट नाइन ३ ओभर ३९ कार्ड बनाउदा ब्याक नाइनमा १ अण्डर ३३ खेलेका थिए ।

प्रो. रामे मगर, एमेच्योर सुक्रराज राई, एमेच्योर जीवन राई र एमेच्योर युवराज भुजेलले समान ३ ओभर ७३ कार्ड बनाएका छन् । प्रतियोगितामा ३४ प्रोसहित ५६ गल्फरहरूले स्पर्धा गरिरहेका छन् । शुक्रबारसम्म चल्ने प्रतियोगितामा बिहीबारको खेल नतिजाअनुसार २१ जना व्यवसायिक खेलाडी तेस्रो दिनका लागि छनौट हुनेछन् भने एमेच्योरतर्फ पनि ६ जना मात्रै ५४ होलका लागि स्पर्धा गर्ने छन् ।

नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा जारी खेलको मूख्य प्रायोजक सूर्य नेपाल प्रालि हो । शनिबार भने प्रो–एम गल्फ हुने छ ।

विजेताले नगद एक लाख २० हजार रुपैयाँसहित ट्रफी पाउने छ भने दोस्रोले नगद ७७ हजार र तेस्रोले ५५ हजार रुपैयाँसहित ट्रफी पाउने छन् । त्यस्तै २१ जना व्यवसायिक खेलाडीहरूले नतिजाका आधारमा कुल रकम ६ लाख ६१ हजार ५ सय रुपैयाँ वितरण हुने आयोजकले जनाएको छ । कुल ५४ होल पार २१० को खेल हुने छ ।