धरान / शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्ग्दी क्लब आठौं पटक लिग च्याम्पियन बनेको छ ।

बिहीबार सम्पन्न सङ्कटासँगको स्पर्धामा मनाङले ३–१ गोलले हराउँदै लिग च्याम्पियन बन्न सफल बनेको हो । अझैं दुई खेल बाँकी भए पनि मनाङ अङ्क तालिकामा शीर्ष स्थानमा छ । मनाङले यसअघि २०४३, ०४४, ०४६, ०५७, ०६०, ०६२ र ०७० मा लिग उपाधि उचाल्न सफल बनेको थियो । त्यसयता लामो समयसम्म एन्फाको विवादका कारण लिग हुन सकेको थिएन ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा सङ्कटालाई मनाङले पराजित गरेको हो । मनाङ ११ औ खेल पनि अपराजित बनेको छ । लिगमा ३३ अङ्क जोडेको मनाङलाई अन्य क्लबले भेट्टाउन सक्ने अवस्था छैन । किनकी मनाङसँग पराजित सङ्कटाको मात्रै २५ अङ्क छ । ऊ दोस्रो स्थानमा समेटिने सम्भावना बढेको छ । यसअघि पनि सङ्कटालाई नै हराउँदै अन्तिम पटकको ए डिभिजन लिग उचालेको थियो ।

मनाङ साविक विजेता पनि हो । किनकी २०७० पछि ए डिभिजन लिग हुन सकेको थिएन । यसअघि न्यूरोड टिम (एनअारटी) ए डिभिजनको सर्वाधिक विजेता रहेको थियो । उसले ६ पटक उपाधि उचालेको थियो । तर, २०७० को मा मनाङले उपाधि रक्षा गरेपछि एनअारटी दोस्रो बनेको थियो । अझैं सर्वाधिक विजेता बन्नेमा आरसिटी दोस्रो हुने छ ।