धरान/नेपाल पत्रकार महासङ्घ सुनसरीको ११ औं साधारणसभाको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार खेलकुद प्रतियोगिता गरिएका छन् ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खेलकुद मैदानमा सम्पन्न छापा मिडिया र इलेक्ट्रोनिक मिडियाबीचको मैत्रीपूर्ण खेलमा इलेक्ट्रोनिक मिडिया विजयी बनेको छ । छापा मिडियालाई ७–१ गोल अन्तरले पराजित गरेको छ । इलेक्ट्रोनिकका तर्फबाट खेलको म्यान अफ दी म्याच धिरेन लिम्बू घोषित हुँदै एन्फाका मानार्थ उपाध्यक्ष एवम् धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले नगद १ हजार रुपैयाँ प्रदान गरे ।

त्यस्तै उदयिमान खेलाडीमा अग्रज पत्रकार जनकऋषि राई घोषित हुँदै उनलाई पनि नगद प्रदान गरे । यसक्रममा धरान फुटबल क्लबले पत्रकारको टोलीलाई जर्सी र फुटबल प्रदान गरेको छ । मानार्थ उपाध्यक्ष राईले जर्सीसहित फुटबल महासङ्घका जिल्ला अध्यक्ष अमर खड्कालाई प्रदान गरे ।

पत्रकार लिम्बूले खेलमा ४ गोल गरेका थिए । त्यस्तै हण्डीफोर प्रतियोगितामा महासङ्घका सुनसरी उपाध्यक्ष सन्तोष काफ्ले विजेता बने । त्यस्तै १ सय मिटर दौड प्रतियोगितामा फोटो पत्रकार विकास चाम्लिङ विजेता बनेका छन् । विजेताहरूलाई महासङ्घले नगद ५–५ सय रुपैयाँ प्रदान गरेका छन् । महासङ्घको बिहीबार सुनसरी उद्योग बाणिज्य सङ्घ धरानको सभाहलमा ११ औं साधारणसभा हुँदै छ ।