बिर्तामोड / राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि प्रधान मुलुकले कृषिजन्य वस्तुमा आत्मनिर्भर हुनु पर्ने बताएकी छन् । देशको ठूलो संख्यालाई स्थानीय रुपमा नै रोजगारी प्रदान गर्न सक्ने एवं अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकिकरण गर्न अति आवश्यक भएको उनले बताइन् ।
झापाको गौरादहस्थित साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित नमूना सहकारी खेतीको अवलोकन गर्ने क्रममा कृषि क्षेत्रलाई आधुनिकिकरण गर्न सकेमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिने उनले बताइन् । विश्व बजारमा कृषि बाट उत्पादित वस्तुहरु बिक्रि वितरणमा ठूलो मात्रामा प्रतिस्पर्धा भएकाले यस क्षेत्रमा किसानहरुलाई आकर्षित बनाउन समस्या रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा एक सय बिघा जग्गामा सञ्चालित नमूना सहकारी खेतीको अवलोकन गरेकी छन् । त्यस स्थानमा गहुँ, मकै र कोदो खेती लगाइएको छ । माछापालन, गाईफर्म र अचार उत्पादन समेत भइरहेको बताइएको छ । भण्डारीले नमूना एकिकृत खेतीको हेलिकप्टरबाट हवाइ अवलोकन गरेकी थिइन् ।
यसैगरी झापाको शिवसताक्षीमा रहेको चन्द्रडाँगी कृषि फर्मको अवलोकन पछि यस्ता फर्म स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने भण्डारीले बताइन् । उनले कृषिक्षेत्रलाई पेशाका रुपमा बिकास गर्नका लागि स्थानीय नागरिकको प्रत्यक्ष सरोकार जोडिएको फर्म स्थानीय तहलाई नै हस्तान्तरण गर्नुपर्ने बताइन् ।
८४ बिगाहा क्षेत्रफलमा फैलिएको सो फर्म अहिले केन्द्र सरकारको मातहतमा रहेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिमाल, पहाड र तराईको माटो सुहाउँदो उत्पादनमा जोड दिने बताए । केही दिनभित्रमा प्रदेश १ मा ‘आक्रामक कृषि योजना’ ल्याउने जानकारी दिदै राईले कृषिजन्य सामग्रीको आयात प्रतिस्थापन गर्न जमिनको उचित प्रयोग गर्ने खालका कार्यक्रम अघि सार्ने बताए ।
झापाको क्षेत्र नम्बर ४ का सांसद एलपी साँवाले किसानले उत्पादन गरेको बर्खे धान खेतमै सडेर जाने अवस्था रहेको बताए । उनले ड्रायर केन्द्र स्थापना गर्न सके किसानको उत्पादनले बजार पाउने अवस्था रहेको धारणा राखे । निकट भविष्यमा सो स्थानमा १० मेगावाटको सोलार प्लान्ट स्थापना गर्न लागिएको बताउँदै साँवाले बिद्युतको अभावमा सिचाइ नहुने अवस्था अन्त्य गर्ने बताए । हाल नहरले ८ हजार हेक्टर सिचाइ गरेको छ ।
शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले चुरेको क्षयिकरण भएका कारण भुसतह उच्च भएर सिचाइ नहुने अवस्था आएको बताए । कनकाई नदीको कटान रोकथाम सँगै कनकाई नहरले ८४ प्रतिशत जमिनमा सिचाइ हुदै बताए ।
शेर्माले चन्द्रडाँगी कृषि फर्मको स्वामित्व स्थानीय तहले पाउनुपर्ने, त्यसलाई कृषी अनुसंधान तथा बिउ बिजन केन्द्रको रुपमा बिकास गर्नुपर्ने, डायर रुमको स्थापना गर्नुपर्ने, सेलर मिलको स्थापना गर्नुपर्ने, चिस्यान केन्द्रको स्थापना गर्नुपर्ने लगायतको योजना अघि सारेका छन् ।