इनरुवा/ झुटो विवरण पेशगरी दोहोरो नागरिकता लिने बिराटनगरीकी ५३ वर्षिया सुशिला दाहाललाई सुनसरी प्रहरीले नियन्त्रणमा लिई म्याद थप गरेको छ ।

बिराटनगर महानगरपालिका वडा नम्वर ६ घर भएकी सुशिला दाहाललाई सुनसरी प्रहरीले दोहोरो नागरिकता प्रकरणमा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो । दाहाललाई दोहोरो नेपाली नागरिकता लिएको सूचनाका आधारमा मोरङ प्रहरीले पुष १२ गते बिराटनगरबाट पक्राउ गरेको थियो ।

सुनसरी प्रहरीमा दर्ता भएको मुद्दाका आधारमा पक्राउ परेकी दाहाललाई मोरङ प्रहरीले अनुसन्धानकालागि सुनसरी प्रहरीको जिम्मा लगाएको छ । अनुसन्धानकालागि १० दिने म्याद थपिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दाहालले २०४४ साल चैत्र १५ गतेको मितिमा जिल्ला प्रशासन कार्यालय मोरङबाट तिर्थराज खतिवडालाई बाबु बनाई नागरिकता लिएको भेटिएको छ ।

त्यसैगरी बाबुराम दाहाललाई बाबु बनाई सुनसरी प्रशासनबाट २०४६ साल जेठ १६ गते समेत नागरिकता लिएको भेटिएकाले भुटो विवरण पेश गरी दोहोरो नागरिकता लिएको प्रमाणका आधारमा दाहाललाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।