भद्रपुर / : अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक ३२२ ले घटेका हुन् तर बाहिर भने बढेका छन् । 

सोही नाकाबाट बाहिरीने पर्यटक भने १३९ ले बढेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ मा पैदलमार्ग हुँदै नेपाल आउने कूल पर्यटक ११ हजार ४९७ थिए भने सन् २०१८ मा ११ हजार १७५ छन् । तेस्रो मुलुक बाहिरिने कूल पर्यटक सङ्ख्या सन् २०१७ मा १० हजार ३६६ थियो भने सन् २०१८ मा १० हजार ५०५ छ । सन् २०१७ मा सात हजार ५२८ विदेशी र तीन हजार ९६९ नेपाली नेपाल आएका कार्यालयको तथ्याङ्कले देखाएको छ । 

कार्यालयका अनुसार सन् २०१८ मा छ हजार ४१८ विदेशी र चार हजार ६५७ नेपाली भित्रिएका छन् । सन् २०१७ मा छ हजार ७४८ विदेशी र तीन हजार ६१८ नेपाली पर्यटक नाका हुँदै बाहिरिएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

त्यसैगरी, सन् २०१८ मा छ हजार ४४५ विदेशी र चार हजार ६० नेपाली काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुक गएको कार्यालयले जनाएको छ । सन् २०१७ मा सो नाका हुँदै सबैभन्दा बढी बङ्गलादेशबाट दुई हजार २५, भूटानबाट एक हजार ६१६, अमेरिकाबाट ८२२, दक्षिण कोरियाबाट ४२० र फ्रान्सबाट २१२ पर्यटक भित्रिएको कार्यालय प्रमुख पवनकुमार गुप्ताले जानकारी दिए । 

त्यस्तै, सन् २०१८ मा सबैभन्दा बढी बङ्गलादेशबाट एक हजार ९३२, अमेरिकाबाट ८५६, भूटानबाट ७६९, कोरियाबाट ३६० र थाइल्याण्डबाट ३०८ पर्यटक नेपाल आएका थिए । उनले अघिल्लो वर्षभन्दा गत वर्ष नेपाल घुम्न आउने बङ्गलादेशी नागरिकको सङ्ख्यामा ९३ ले कमी आएको र भूटानी नागरिक पनि यस वर्ष ८४७ ले घटेको बताए ।