काठमाडौँ / प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण लिएका छन् । सिंहदरबारमा आज आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उनलाई शपथ खुवाएका हुन । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)तर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुन ।

शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गरे । उनलाई संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्को प्रतीकचिह्न हस्तान्तरण गरे ।
सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले टीकापुर घटनाको सरकारले निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो कानूनी निराकरण गर्नुपर्ने बताए।

शपथ कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतको उपस्थिति थियो । राजपाका तर्फबाट अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, पूर्वसंयोजक महन्थ ठाकुर, सदस्य शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिलकुमार झा, महेन्द्रराय यादवलगायत नेता पनि सहभागी हुन्।

सदरखोर डिल्लीबजारबाट कडा सुरक्षाबीच शपथस्थल पु¥याइएका चौधरीलाई शपथपछि पुनःडिल्लीबजार कारागार लगिएको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा बिहीबार सांसदको पद तथा गोपनीयताको शपथ लिएपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै चौधरीले आफूले न्याय पाउनेमा विश्वस्त रहेको र भिख नमागेर न्याय मागेको बताएका थिए। उनले भने, रेशम चौधरी भिख चाहन्न, न्याय दिनुहोस्।ु दोषी उम्किनुपर्छ भन्नेमा आफू नरहेको भन्दै उनले आफूमाथि राजनीतिक मुद्दा लागेकाले सोही अनुसार सम्बोधन गर्न आग्रह गरेका थिए। राजनीतिक दुर्घटनाको निराकरण राजनीतिक रूपमा नै गरिनुपर्ने तर्क उनको थियो। उनले टीकापुर घटना सामाजिक सञ्जालमा जिस्काउने घटना नभई वर्गीय जातीय भावनालाई ठेस पुगेको घटना भएको भन्दै सो क्रममा जेलमा रहेकाहरूमाथि स्पष्ट छानबिन गरी राज्यले सबैलाई न्याय दिनुपर्ने बताए।

प्रहरीको फरार सूचीमा रहेकै समयमा चौधरी २०७४ मा मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। उनले वाम गठबन्धनबाट एमाले उम्मेदवार रहेकी गरिमा शाहलाई पराजित गरेका थिए। चौधरीले ३४ हजार ३४० मत प्राप्त गरेका थिए। शाहले भने १३ हजार ४०६ मत मात्र पाएकी थिइन्। २०७२ साल भदौ ७ गतेको टीकापुर घटनाका मुख्य आरोपीका रूपमा प्रहरीको फरार अभियुक्तको सूचीमा नै रहेका बेला वारेसनामा मार्फत उनले उम्मेदवारी दर्ता गराएका थिए। चौधरीले गत असारमा कैलाली जिल्ला अदालत समक्ष आत्मसमर्पण गरेका थिए।