बिर्तामोड । बिर्तामोड उद्योग वाँणिज्य संघले माघ ११ गतेदेखि ‘बिर्तामोड अन्तराष्ट्रिय ब्यापार महोत्सब २०७५’ आयोजना गर्ने भएको छ । महोत्सवमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका देशको स्टल रहने आयोजक समितिले जनाएको छ ।

झण्डै १० बर्षअघि बिर्तामोडमा अन्तराष्ट्रियस्तरको महोत्सव आयोजना भएको थियो । त्यसपछि भएको महोतसबले खासै आकार लिन नसकिरहेको समयमा बिर्तामोड उद्योग वाँणिज्य संघले अन्तराष्ट्रियस्तरको महोत्सब आयोजना गर्न लागेको हो । महोत्सबमा २ लाख मानिसले अवलोकन गर्ने तथा २० करोड बढीको कारोबार हुने आयोजकको दावी छ ।
‘कतिपय उत्पादनहरु चाहेर पनि उपभोक्ताको पहुँचमा पुग्न सकेको छैन, वाँणिज्य संघद्धारा जारि बिज्ञप्तिमा जनाइएको छ, उत्पादक तथा उपभोक्ताको चाहना बमोजिम एकै स्थानबाट सहुलियत मुल्यमा बस्तु तथा सेवा उपलब्ध गराउनु महोत्सबको लक्ष्य हो ।

१३ दिनसम्म चल्ने महोत्सबमा नेपाल लगायतका देशका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ता र उपभोक्ताहरुलाई एउटै मञ्चमा राखेर प्रबद्र्धन गरिने जनाइएको छ । आयोजकले महोत्सबलाई बिभिन्न चारभागमा बिभाजन गरेको जनाएको छ । प्रदर्शनी तथा बिक्रि कक्ष, सांस्कृतिक तथा सांगितिक कक्ष, बाल उद्यान कक्ष र खानपान कक्षमा बिभाजन गरिएको बताएको छ ।
प्रदर्शनी कक्षमा अटोमोवाइल्स, बैंक तथा बित्तिय संस्था, इलेक्ट्रोनिक्स, हस्तकला, तथा तयारी पोशाक लगायतका सामान बिक्रि वितरणका लागि राखिने बताइएको छ । महोत्सवमा चिन र थाइल्याण्डका प्रदर्शकहरुको पनि सहभागिता रहने भन्ने बिषयमा छलफल भइरहेको बिर्तामोड उद्योग वाँणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए । महोत्सवमा दैनिक राष्ट्रिय कलाकारको सांगितिक प्रस्तुती रहने उनले बताए ।

महोत्सवमा मिडिया सेन्टर, कन्फ्रेन्स हल, फ्रि वाइफाइ जोन, निशुल्क स्वास्थ्य शिविर तथा पार्किङको उच्चतम प्रबन्ध गरिने महोत्सब आयोजक समितिका सचिव सञ्जिव घिमिरेले जानकारी दिए ।
ब्यापार प्रवद्र्धनका साथै कृषि उत्पादनको प्रवद्र्धनका लागि माटो रहित खेती प्रविधि प्रदर्शनमा राखिने घिमिरेले जानकारी दिए । जम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदरबाट उत्पादित सामग्री महोत्सबका मुख्य आकर्षण रहेने आयोजकले जनाएको छ ।

३ बिगाहा बढीको क्षेत्रफलमा आयोजना हुने महोत्सबमा झण्डै १ सय स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ ।
महोत्सबलाई सफल पार्न बिभिन्न १० वटा उपसमिति बनाएर काम द्रुत गतिमा अघि बढाइएको वाणिज्य संघका महासचिब प्रशान्त भण्डारीले जानकारी दिए । महोत्सवमा सहुलियत मुल्यमा सामग्री तथा उपकरण उपलब्ध गराउने बिषयमा बिभिन्न कम्पनिहरुसँग छलफल भइरहेको बताइएको छ ।