इनरुवा/मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले सुनसरी सदरमुकाम इनरुवा पुगेर प्रतियोगिताको उद्घाटन गरेका छन् । इनरुवा खेल मैदानमा प्रतियोगिता संचालनकालागि निर्माण गरिएको क्रिकेट पिचमा नगर प्रमु्ख राजन मेहताको बलिङमा ब्याटिङ गर्दै विष्टले प्रतियोगिता उद्घाटन गरेका हुन् ।

मोफसलकै ठुलो मानिएको राष्ट्रिय स्तरको एक दिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन सत्रमा नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक जगतबहादुर टमाटा, खेदकुद परिषद्का केन्द्रिय सदस्य शम्भु आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगिता भोलिबाट संचालन हुनेभएपनि आयोजकले कार्यक्रमको उद्घाटन भने आज आयोजना गरेको हो । क्रिकेट प्रतियोगितालाई इनरुवा नगरपालिका र शान्तिदीप नेपालले संयुक्त रुपमा आयोजना गरेको हो ।

कार्यक्रमलाई उद्घाटन गर्दै सदस्य सचिव विष्टले देशको मेरुदण्डका रुपमा बिकसित हुँदै गएको खेलकुद आउँदो केही वर्ष भित्र नेपाल र नेपालीको पहिचान र चिनारी बन्ने विश्वास व्यक्त गरे ।

मुलुकमा एक दिवसीय क्रिकेट कमै मात्रामा भइरहको सन्दर्भमा इनरुवामा आयोजित प्रतियोगिता स्थानीय मात्रै नभएर राष्ट्रिस्तरका खेलाडीकालागि अभ्यास मात्र नभएर खेलकुदको क्षेत्रमा कोशेढुङगा सावित हुने नेपाली क्रिकेट टिमका राष्ट्रिय प्रशिक्षक जगबहादुर टमालाले विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा बोल्दै इनरुवा नगरपालिका प्रमुख राजन मेहताले खेलकुद क्षेत्रको बिकासमा इनरुवाको क्रिकेट राष्ट्रिय पहिचान दिलाउन सक्षम हुने धारणा राखे । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न नगरपालिकाको कार्यालयले कुनै कसर बाँकी नराख्ने मेहताले प्रतिवद्धता समेत जनाए ।

प्रतियोगिता अन्र्तगत पहिलो खेल भोलि नेपाल पुलिस क्लब र प्रदेश नम्वर २ बीच हुँदैछ । प्रतियोगिताकोे बिजेताले नगद ४ लाख १ हजार सहित शिल्ड पाउने छ भने उपबिजेता टोली २ लाख १ हजार रासी प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनल पुग्ने २ टिमले समेत २५ हजारका दरले पुरस्कार हात पार्ने छन् ।

प्रतियोगितामा तीन विभागिय टिम सहित सातवटै प्रदेश, आयोजक इनरुवा र भारतको सुपौल क्रिकेट क्लबबिच प्रतिष्पर्धा हुँदैछ ।