धरान / देशका बिभिन्न भागमा मिडिया क्षेत्रमा लगानी गरी पब्लिसर्सको भूमिकामा रहेका सञ्चार उद्यमीहरुका हक, अधिकार , समस्या र उनीहरुको समृद्धिलाई दृष्टिगत गरी बुटवलमा शनिबार सम्पन्न पब्लिसर्सहरुको एक भेलाले दैनिक पत्र दैनिकका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईं अध्यक्ष रहेको पब्लिसर्स एसोसियसन अफ नेपाल (PAN) राष्ट्रिय समिति गठन गरेको छ ।

सो समितिको महासचिवमा पूर्वक्षितिज प्रकाशन प्रालिका  प्रबन्ध निर्देशक तथा ब्लाष्ट टाईम्स दैनिक धरानका  सम्पादक किशोरकुमार कार्की रहेका छन् । समितिले यही  माघ २८ गते बुटवलमा भब्य राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । भेलामा पब्लिसर्सहरुका समस्याको पहिचान गरी त्यसको समाधानका उपायहरुसहित यसका अवसर र चुनौतीबारे राष्ट्रिय समितिकोतर्फबाट अवधारणा–पत्र प्रस्तुत गर्ने जिम्मेवारी महासचिव किशोर कुमार कार्कीलाई दिईएको छ ।

प्रदेश नम्बर ३ को मकवानपुर देखि पश्चिम महाकालीसम्म अध्यक्ष बालकृष्ण चापागाईं र त्यसदेखि पूर्व मेचीसम्म महासचिव किशोरकुमार कार्कीले पब्लिसर्सहरुलाई सम्पर्क गरी उनीहरुका समस्याहरु के छन् ? ती समस्या समाधान गर्न के गर्नु पर्ला? संघीय, प्रदेश र स्थानीय सरकार बनिसके पछि यो क्षेत्रमा के कस्ता समस्याहरु आई परेका छन् ? ऐन कानुन निर्माणमा के कस्तो अवस्था देखिएको छ ? पब्लिसर्सहरुको पेशागत हक, हित र लगानी–सुरक्षाका साथै समृद्धि के कसरी हुन सक्छ ? जस्ता विषयमा उनीहरुको अवस्था बुझ्ने र राय सुझाव लिनका लागि भेलाले उनीहरुलाई जिम्मेवारी दिएको छ ।

यो नवगठित राष्ट्रिय समितिका पदाधिकारी तथा कार्यसमितिमा सात प्रदेशहरुबाट एक–एक जनाको प्रतिनिधित्व रहने गरी समिति निर्माण गरिएको महासचिव कार्कीले जानकारी दिए । आगामी माघ २८ गते प्रदेश नम्बर ५ को राजधानी ऐतिहासिक नगरी बुटवलमा आयोजना हुने पब्लिसर्सहरुको प्रतिनिधिमूलक राष्ट्रिय भेलाबाट प्राप्त सुझावलाई दृष्टिगत गरी राष्ट्रिय समितिले कार्यसमितिमा बिभिन्न क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखि पदाधिकारी तथा सदस्यहरु थप गर्न सकिने महासचिव कार्कीले बताए ।