तमोर नदीको पानी र १ नं. प्रदेशको समृद्धि

alt
  • पुष २३, २०७५
  • १,००० पटक पढिएको
  • लीलानाथ मिश्र

विषय प्रवेश :
कुनै पनि देशको समृद्धिको आधार भनेको ति देशका प्रकृति प्रदत्त कुराहरु जस्तो पानी, जंगल, खानी, कृषि र पर्यटन अनि यिनिहरुको प्रवर्धन नै हो । नेपाल विश्वको मानचित्रमा ज्यादै सानो देश भएता पनि जलश्रोतको विकासको सम्भावनामा ब्राजिल पछी दोस्रो मानिन्छ ।

यहाँका ८००० भन्दा बढी हिम चुचुराहरुबाट बहने नदीहरु र मध्यपहाडबाट बग्ने अनगिन्ती खोलाहरुबाट ८५००० मेघावाट उत्पादन हुन सक्ने भन्ने अनुमान गरिए पनि हाल सम्बन्धित विज्ञका भनाइ अनुसार सो भन्दा बढी विद्युत उत्पादनको सम्भावना रहन्छ ।

हालसम्म जे जति विद्युतमा लगानी गरी उर्जा उत्पादन हुँदै गरेको अवस्था छ सो कुरामा अन्य सम्भावनाहरुको खोजी गरी थप विकास गर्ने हो भने देश अझ समृद्धितर्फ अघि बढ्न धेरै समय लाग्ने छैन ।

देश संघात्मक व्यवस्थामा गइसकेपछि र ७ प्रदेशमा विभाजन भइसकेपछिको परिप्रेक्षमा प्रत्येक प्रदेशका आ-आफ्नै आधारहरु र सम्भावनाहरु हुन सक्छन् ।

त्यसैले प्रदेश नं. १ को समृद्धिको मुख्य वा सबैभन्दा बढी सम्भावना यो प्रदेशको करिव बीच भागबाट वहने तथा कन्चनजंगा हिमाली क्षेत्रबाट प्रवाहित हुने तमोर नदीको पानीलाई बहुउद्देश्यीय योजना राखी विकास गर्ने हो भने प्रदेश नं. १ समृद्धिको पहिलो आधार हुनसक्ने सम्भावना रहन्छ ।

पुराणहरुमा वर्णन गरिए अनुसार तमोरी गंगाका नामले समेत परिचित छ । तसर्थ तमोर नदीको पानी र अन्य सम्भावनाहरुको अध्ययन गरी कार्यरम्भ गर्दा प्रदेश १ लाई विकासको पथमा अघि बढाउन निम्न किसिमका सम्भावनाहरु हुन  सक्छन् ।

१. तमोर नदीको पानीबाट खानेपानी तथा पूर्वी तराईमा सिंचाईको थप सम्भावना :
नेपाल सरकारले हालै मात्र प्रक्षेपण गरेको बजेट वक्तव्यमा तमोर नदी-चिसाङ्ग खोला जोड्ने भन्ने कुरा स्वागतयोग्य छ तर यसलाई स्थान परिवर्तन गरी धनकुटाको खाल्सा छिन्ताङ्ग र महाभारत क्षेत्रबाट तमोर नदीको पानीलाई केही उठाई पानीको निश्कासन सुरुङ्ग मार्गबाट धरान आसपासको पटनाली क्षेत्रबाट गरी सो पानीलाई सुद्धिकरण गर्ने अनि खानेपानीको रुपमा प्रयोगका लागि वितवरण गराई त्यहाँ धरान उपमहानगरपालिका भरी दीर्घकालिन रुपमा खानेपानीको समस्याबाट मुक्त हुने सम्भावना रहन्छ ।

त्यसपछि प्रसस्तमात्रामा भएको जल भण्डारलाई पूर्वी तराईका ३ जिल्ला, सुनसरी, मोरङ्ग र झापामा सिंचन हुन बाँकी रहेका जग्गामा सिंचाई सुविधा पुर्याउन सके वा व्यवस्था गर्नसकेमा प्रदेश खाद्यान्नमा आत्मनिर्भर हुनुका साथै बाँकी अन्य प्रदेशका लागि पनि खाद्यान्न आपूर्तिमा सहयोगी हुन सक्छ ।

यस किसिमको बहुआयामिक कार्यका लागि नेपाल सरकार वा प्रदेश सरकारको आवश्यक सकृय सहभागीता र आर्थिक लगानी आवश्यक देखिन्छ । यस्तो किसिमका महत्वपूर्ण कुरालाई त्यस क्षेत्रका सबै सरोकारवाला व्यक्तिहरुले चासो राख्नुपर्ने हुनसक्छ ।

२. तमोर नदीको सानिध्य विश्रन्ति मन्दिर-आध्यामिक तथा धार्मिक पर्यटनको सम्भावनाः
सनातन हिन्दुधर्मको आस्था अनि विश्वासको रुपमा रहेको विश्रान्ति मन्दिर पूर्वी नेपालकै एक धार्मिक तथा आध्यात्मिक संस्थाको रुपमा रहेको कुरा सबैमा विद्वित भएकै हो ।तमोरी गंगाका नामले परिचित र बराहपुराणमा समेत वर्णित यो पवित्र नदीको छुट्टै धार्मिक महत्व छ ।

परापूर्वकालदेखि अन्तिम दाहासंस्कार कार्यमा आवश्यक पर्ने दाउराको समस्याको कारण संस्कार गर्नुपर्दा दाउरा पाइने ठाउँको खोजी गर्ने सिलसिलामा कठिन र अफ्ठ्यारो ठाउँबाट धेरैलाई समय समयमा नदीले आफूमा विलीन गराउने गरेका दुःखद इतिहास तथा अकाल मृत्यु वरण गर्नु परेका घटनाबाट मृत र पाठ सिकी अग्रज महानुभावहरुबाट भएका प्रयासबाट सुरु भएता पनि हालसम्ममा दाहासंस्कारका अलवा जेष्ठ असहाय तथा अशक्त मानिसहरुको सेवा लगायत २१ ओटा सामाजिक तथा धार्मिक कार्यक्रमहरु यस विश्रान्ति मन्दिरबाट हुँदै रहेको अवस्था छ भने अझ यस पवित्र संस्थाबाट योग शाधना कार्यक्रम, गुरुकूलको माध्यमबाट ज्योतिष, कर्मकाण्ड, वेदवेदाङ्ग आदि जस्ता कार्यहरुको पठनपाठन गराउन सकेमा सनातन हिन्दु धर्मको रक्षा हुने देखिन्छ ।

स्वास्थ्योपचारमा स्वास्थ्य संस्थाको स्तरोन्नती र क्षमताबृद्धि गरी निदानात्मक र उपचारात्मक सेवाहरुको प्रवाहका लागि पूर्वाधार तथा आवश्यक थप जनशक्तिको व्यवस्था गर्न सकेमा यो पवित्र संस्थाको अवश्य पनि साख बढ्ने विश्वास गर्न सकिन्छ ।

यस पवित्र संस्थाको साथमा वा समीपमा नेपालमा प्रचलित ओमकार सम्प्रदायका अन्य धार्मिक संस्था पनि यही क्षेत्रको आसपासमा स्थापित गर्नलाई प्रेरणा दिने कार्य उपयोगी हुन जाने तथा सबैकालागि धार्मिक पर्यटनमा कोसेढुङ्गा हुन जाने विश्वास गर्न सकिन्छ ।

यसको साथै नेपालमा प्रचलित अन्य सबै किसिमका धर्मको पनि सम्मान समेत यहाँबाट हुन सक्छ । यस विश्रान्ती मन्दिर धनकुटाबाट अन्य धार्मिक स्थानहरुलाई समेत जोडेर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ ।

यहाँबाट यात्रा सुरु गरी, कोकाहा नदी र कौसिकी नदीको संगम स्थलमा स्नानादी गरी वराह भगवानको दर्शन र त्यसपछि प्राचिन हरिद्वार चतराधाम क्षेत्रका मठमन्दिर, रामधुमी, अनि दन्तकाली, वुढासुब्बा, पिण्डेश्वर धामको दर्शन गरी ऐतिहासिक प्राचीन विजयपुर दरवारको भग्नावसेस वा विजयपुर दरवारको भग्नावसेस वा विजयपुर दरवार रहेको स्थानको निरीक्षण गरी विश्रान्ति मन्दिरको दर्शन गर्ने बानीको विकास गर्न सके साना सवारी व्यवसायी र यातायात मजुर समेतमा अर्थोपार्जनको सम्भावनाको थप स्रोत हुन सक्ने वा यातायात क्षेत्रका व्यक्तिहरुलाई थप आयआर्जन हुनसक्ने अवसर प्राप्त हुने देखिन्छ ।

३. तमोर नदीको सानिध्यमा जलकृडास्थलको विकास
तमोर नदी प्रवेश नं. १ को करीब मध्यभागबाट बहने हिमाली नदी हो जुन नदी अविरल रुपमा प्रवाह भइरहन्छ । त्यसको सौन्दर्यताको अवलोकन गर्न, वनभोज गर्न तथा जैविक विविधताको अवलोकन गर्न यस क्षेत्रमा प्रशस्त आन्तरिक पर्यटकहरु आउने गरेका देखिन्छन् ।

त्यस्ता पर्यटकहरुका लागि सुरक्षित जलकृडास्थलको निर्माण गरी पौडी प्रेमीहरुका लागि सुरक्षित जलाशय निर्माण गरी पौडी खेलबाट पनि आनन्द प्रदान गराउन सकिने सम्भावना देखिन्छ ।

यसका लागि विश्रान्ति मन्दिर देखि पूर्व उत्तरतर्फ पुरानो झोलुङ्गे पुलको आसपासमा उपयुक्त ठाँउ हेरी आधुनिक जलकृडास्थल वा सबै उमेर समूहका व्यक्तिहरुलाई उपयुक्त हुने गरी एक वा दुई वा सो भन्दा बढी जलाशयको निर्माण गरी जलकृडा गर्न इच्छुक व्यक्तिहरुलाई सुविधा प्रदान गर्न सके पहाड तथा तराईमा रहेका सहरी युवा तथा युवतीहरु र अन्य सबै उमेर समुहका व्यक्तिहरुका लागि सुविधा पुर्याउन सकिने देखिन्छ ।

यसको साथमा यही पानीलाई प्रयोग गरी अर्को कृत्रिम म्युजिकल फोहोराको पनि निर्माण गरी प्रत्येक दिन साँझमा विभिन्न प्रकारका कार्य गर्न वा गराउन सके नेपाल लगायत उत्तरी विहारका व्यक्तिहरुलाई समेत आकर्षण गर्न सकिने देखिन्छ ।

यस्तो किसिमको कार्यको लागि सफा पानीको आपूर्ति गराउनुपर्ने हुन्छ त्यसका लागि तमोर नदीको पानीलाई लिफ्टद्वारा माथी उठाई शुद्धिकरण गरी वा धनकुटा खोलाको पानीलाई पाइपद्वारा आपूर्ति गराई पानीको सदुपयोग गरी आवश्यक कार्य गर्न सक्ने हो भने पर्यटन विकासको अर्को सम्भावना देखिन्छ यस्तो किसिमको रोमाञ्चकारी कार्यको बलियो सम्भावना याहाबाट हुन सक्छ ।

यसको उदाहरणको रुपमा दक्षिण भारतको कर्नाटक राज्यको मैसुरमा रहेको वृन्दावन पार्कलाई आधार मान्न सकिन्छ । जहाँ कामेटी नदीको पानीबाट जलाशय युक्त विद्युत उत्पादनमा प्रयोग पछि उभिएको पानीबाट अनुकरणीय विकास भएको देखिन्छ ।

जहाँ एकै साझमा पचास हजार (५०,०००) भन्दा बढी व्यक्तिहरुले अवलोकन गरिरहेका देखिन्छन् भने हजारौँ सवारी साधनको प्रयोग भएको देखिन्छ । यहाँ पनि त्यस्तै किसिमको सोच र त्यसको भौतिक विकास निजी स्रोतका व्यापारी वा अन्यबाट हुन सक्ने हो भने धेरै व्यक्तिहरुको रोजगारीको अवसर हुन सक्छ । यसबाट प्रत्यक्ष वा परोक्ष रुपमा बेरोजगारीको समस्यामा कमी आउन सक्ने देखिन्छ ।

४. तमोर नदीमा विद्युत उत्पादनको सम्भावना र सम्भावित जल पर्यटन : 
नेपाल विद्युत उत्पादनको दृष्टिले ब्राजिल पछि दोस्रो ठूलो सम्भावना भएको देश हो भन्ने कुरा सबैमा विद्वीत नै छ । यस माथि पनि यो कुरा उल्लेख गरी सकिएको छ, यहाँ नेपालमा यथोचित विद्युत उत्पादन हुन नसकिएको वा गर्न नसकिएको नै मान्न सकिन्छ ।

समय समयमा फेरिरहने सरकारहरुले यति वर्षमा यति उत्पादन गरी देशलाई समृद्ध गराउने योजना पनि हुने गरेका सुन्नमा आउँछन् । के के हुन त ति सम्भावनाहरु र तिनीहरुको कार्यान्वयन के र कसरी ? यस्तै विद्युत् उत्पादनको सम्भावनाको खोज र उत्पादित विद्युत् बजारको व्यवस्थापनको बारेमा अध्ययन पनि जरुरी छ ।

हालै मात्र बंगलादेश सरकारले नेपालसँग विद्युत खरिद गर्ने भन्ने निर्णय भएको बुझिन्छ । सहज र उपयुक्त ठाउँमा हुनसक्ने विद्युत्को उत्पादन र जल पर्यटन अनि सो बाट प्राप्त हुने अन्य सम्भावनाहरु पनि त्यसको साथमा देखिन्छन् ।

विद्युतीय आयोजना निर्माण गरी त्यसबाट अन्य बहु आयामिक लाभ लिन सकिने प्रशस्त सम्भावना भएको मुख्य स्रोत तमोर नदी हो वा तमोर नदीको पानी हो । त्यसैले अविरल रुपमा प्रवाह भई करिब ४०० कि.मी. बाटो तय गरी बहने नदीको पानीलाई सदुपयोग गरी विद्युत् उत्पादन गर्ने हो भने १ नं. प्रदेश तथा देशकै अर्थतन्त्रको मेरुदण्ड हुन सक्ने देखिन्छ ।

त्यसमा पहिलो सम्भावनाको रुपमा विश्रान्ति मन्दिर वा धरान, धनकुटा लोक मार्गबाट करीब २ कि.मी. पूर्व उत्तरमा धनकुटा खोला र तमोर नदीको संगम स्थल छ । त्यहाँ तमोर नदीको पानीलाई प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिन्छ ।

त्यहाँ तमोर नदी र धनकुटा खोलाको संगम स्थलको बीचमा एक कडा चट्टानी डाँडो छ । डाँडोको पश्चिम पट्टि धनकुटा खोलातिर केही फराकिलो कुईनेटो वा केही खाली जग्गा छ । सो स्थानमा विद्युत् उत्पादन गर्नलाई विद्युत् गृह बनाउन सकिने सम्भावना रहन्छ ।

सो स्थान तमोर नदीमा करिब ४०० मिटरको व्यास र ३० मिटर वा सो भन्दा बढी उचाईको बलियो छेकवार बनाई उक्त पानीलाई धनकुटा खोला तिरको खाली भागमा विद्युत् गृह बनाई पानीको बहाव (फोर्स) बनाउने हो भने करिब ५०० मेघावाट वा सो भन्दा बढी विद्युत् उत्पादन हुने सम्भावना रहन्छ ।

यस किसिमसँग यो १ नं. को आयोजनालाई आधार मान्दा अन्य सम्पूर्ण तमोर नदीमा सम्भावना हुन सक्ने आयोजना जस्तै नदीको दुरीको आधारमा कम्तीमा २० ओटा आयोजना बन्न सक्ने सम्भावना रहन्छ । तसर्थ एउटै नदीमा कम्तीमा पनि १०,०००।-मेघावाट विद्युत् उत्पादन हुन सक्ने देखिन्छ ।

यसको उदाहरणको रुपमा पश्चिम बंगाल तथा सिक्किममा बहने निष्ठा नदीमा निर्मित वा निर्माणाधीन ७ ओटा विद्युुतीय आयोजनालाई लिन सकिन्छ । उक्त नदी र त्यहाँ निर्मित आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेपछि सिक्किम राज्य आर्थिक रुपमा समृद्ध हुने अनि केन्द्रिय सरकारको मुख ताक्नु नपर्ने कुरा त्यहाँका जनमानसमा रहेको पाइयो ।

यही कुरालाई मध्य नजर गरी याहाँ तमोर नदीमा त्यस्ता किसिमका आयोजना संचालन गर्न सके निम्न किसिमका बहु आयामिक फाइदा हुन जाने देखिन्छ जस्तै : 

(क) कम लागतमा विद्युत उत्पादनको सम्भावना
धरान-धनकुटा कोशी लोकमार्गबाट अत्यान्तै नजिक करीब २ कि.मी.को बाटो तय गरी पुगिने ठाउँ तमोर नदी र धनकुटा खोलाको संगम स्थलको छेउमा हुन सक्ने उक्त कार्यको सम्भाव्यता अध्ययन गरी आयोजना निर्माण हुन सकेमा अति नै कम लगानीमा काम सम्पन्न हुन सक्छ भन्ने विश्वास गर्न सकिन्छ ।

किनभने त्यहाँसम्म पहँुच मार्गका लागि ज्यादै न्यून मात्र लगानी आवश्यक पर्ने छ वा केही महिना मात्रै समयमा निर्माण कार्य सम्पन्न हुन सक्ने सम्भावना रहन्छ ।

(ख) तमोर नदीको जलाशयमा जल पर्यटनको सम्भावना 
तमोर नदी र धनकुटा खोलाको खाली ठाउँमा निर्माणको सम्भावना भएको करीब ३० मिटर वा सो भन्दा बढी अग्लो छेकबार बनाउँदा जम्मा भएको जलाशय क्षेत्र करीब १० कि.मी. सम्म हुन सक्ने देखिन्छ भने त्यहाँ ५०० भन्दा बढी जल विहार गर्ने नाउ संचालन हुन सक्ने सम्भावना रहन्छ ।

त्यसबाट प्रतिदिन बिसौं हजार व्यक्तिहरुका लागि जल पर्यटन गराउन सकिन्छ । यसबाट जलाशयमा भएको पानी बढी मात्रामा वास्पिकरण भई पानी पर्ने सम्भावना बढी हुन जान्छ । नौका विहार गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि जैविक विविधताको अवलोकनको सम्भावना रहन्छ ।

अर्को सम्भावनाको रुपमा सधै आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि होटल सञ्चालन हुन सक्ने सम्भावना रहन सक्छ वा हजारौं व्यक्तिहरुका लागि व्यवसायको सम्भावना रहन्छ । होमस्टेको सम्भावना समेत सिर्जना हुनसक्छ ।

हजारौं बेरोजगारहरुलाई रोजगारको व्यवस्था हुन सक्छ । बसाई सरी जाने कार्यमा कमी आउन सक्छ । आधुनिक तरिकाले अन्नबाली तथा फलफूलको खेती गरी खाद्यन्न तथा फलफूलमा आत्म निर्भर हुने सम्भावना रहन्छ । आयोजना स्थल आसपासका व्यक्तिहरु जो सहर तथा विकसित ठाउँ सम्मको पहुँचबाट टाढा रहेका मानिसहरुमा आर्थिक गतिविधीको सम्भावना रहन्छ ।

अनि यस क्षेत्रका लाखौं नेपालीले अकुशल श्रम बेच्न विदेश जानुपर्ने वाध्यतालाई कम गर्न सकिने सम्भावना रहन्छ । शैक्षिक बेरोजगारीलाई पनि केही हदसम्म कम गर्न सकिने सम्भावना समेत देखिन्छ ।

यहाँ ताल बनेपछि एउटा ताल अनि अर्को ताल हुँदै छोटो समय मानै जल यातायातबाट आफ्नो गन्तव्यमा पुग्न सकिन्छ । यी र यस्तै किसिमका अन्य आयोजनाको सम्भाव्यता अध्ययन गरी करीब १५ देखि २० किलोमिटरको फरकमा सम्पूर्ण तमोर नदी ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोला सम्ममा कति आयोजनाहरु बन्न सक्ने सम्भावना रहन्छ ? सोको अध्ययन गरी सम्पूर्ण तमोर नदीमा १५ देखि २० ओटा सम्म यस्तै आयोजना निर्माण गरी बहु आयामिक फाइदा लिन सकिन्छ ।

यस्तो कार्यबाट देशको सर्वाङ्गीण विकासको सम्भावना रहन्छ । त्यसैले समुचित तमोरनदीलाई नै एक वृहत आयोजनाको रुपमा ९ःभनब(एचयवभअत० विकास गरी १ नं. प्रदेश तथा नेपाललाई नै समृद्ध बनाउन सबै लाग्नुपर्ने हुन्छ ।

आयोजना सम्पन्न गर्नका लागि सम्भावित आर्थिक स्रोत : 
प्रदेश नं. १ को मध्य भागबाट बहने तमोरनदीलाई प्रयोग गरी बहु आयामिक तथा बहुउद्देश्य आयोजना निर्माण सम्पन्न गर्न सके केही वर्ष मानै प्रदेश आर्थिक रुपले आत्म निर्भर हुुनुका साथै केन्द्रिय सरकारका लागि समेत सहयोगी हुन सक्ने देखिन्छ ।

यस्तो किसिमको महत्वपूर्ण तथा विकासवादी कार्य सम्पन्न गर्नकालागि विपुल धनराशीको आवश्यकता पर्न सक्छ यसका लागि देश भित्र रहेको निष्कृय पुँजी वा छरिएर रहेका पुँजी परिचालन गरी विकासमा लगानी गर्न सके आन्तरिक लगानीबाट सबैले लाभ लिन सक्ने सम्भावना देखिन्छ ।

यसका लागि नेपालमा रहेका विभिन्न संघ तथा वित्तीय संस्थाको आर्थिक स्रोत परिचालन गरी आयोजना संचालन गर्न सके विदेशी सहयोगमा संचालन हुने आयोजनाका लागि झंझटिला सर्तबाट जोगिन सक्ने तथा स्वदेशी पुँजीको लाभांश विदेशीनबाट जोगाउन सकिन्छ । यसका लागि सम्भावित स्रोतहरु निम्न किसिमका हुन सक्छन् ।

१. पहिलो विद्युतीय आयोजना वा १ नं. आयोजना धनुकटा खोला आसपासमा बनाउन सकिने सम्भावना भएको हुँदा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आ-आफ्नै आर्थिक स्रोतको व्यवस्थापन गरी सम्पन्न गर्न उपयुक्त हुन जान्छ ।

२. यसै गरी माथि भनिए झै अन्य आयोजनाहरु जस्तै : २, ३, ४, ५, ६, ७, ८, ९ .............. गरी सम्पूर्ण तमोरनदीमा उपयुक्त र सम्भावित ठाउँहरुमा बन्ने प्रत्येक आयोजनाका लागि नेपालमा रहेका विभिन्न बैंक तथा वित्तिय संस्थाहरु, कर्मचारी संचयकोष, नेपाल दुरसंचार संस्थान, निजामति कर्मचारीहरुको आर्थिक स्रोत, विभिन्न किसिमका व्यापारमा संलग्न व्यापारीहरुको आर्थिक स्रोत, गैर आवासीय नेपाली संघमा आवद्ध व्यक्तिहरुको स्रोत, सैनिक तथा प्रहरी कल्याण कोषमा रहेको निश्कृय पुँजी, प्राध्यापन तथा शिक्षकहरुका साना वचनहरुका आर्थिक स्रोत, नेपालमा संचालनमा रहेका नाफामा गएका भए तिनीहरुको लगानी गरी छुट्टा छुट्टै आयोजनामा लगानी गर्न सकिने सम्भावना देखिन्छ । जस्तै देशमा रहेको पुँजीको चलायमान नभई बैंकहरुमा थुप्रिएका वचत (तरलता) घट्न गई पुँजी प्रवाहमा वृद्धि हुन जाने सम्भावना रहन्छ ।

केन्द्रिय तथा प्रदेश सरकारको दायित्व : 
नेपालमा सबभन्दा ठूलो नदी सप्तकोशी नदीको सहायक नदीको रुपमा रहेको यो तमोरनदीबाट बहु आयमिक विकासका सम्भावनालाई दृष्टिगत गरी निर्माण गर्नु पर्ने हुँदा निम्न कुराहरु हुन आवश्यक छ ।
- नदीहरुमा भएका अन्तराष्ट्रिय संधी सम्झौता बाधकको रुपमा भए तिनीहरुको सहजीकरण गर्नुपर्ने ।
- नेपाली पुँजीको सुरक्षित लगानीको प्रत्याभूति सरकारले गर्नुपर्ने ।
- शान्ति सुरक्षाको प्रत्याभूति सरकारबाट हुनुपर्ने ।
- आयोजना निर्माण गर्दा जनताहरुको जग्गा आवास जलाशयबाट प्रभावित भएको वा ताल बनेर ओगट्ने हुँदा न्यायोचित मु-आब्जा सरकारले व्यवस्था गर्नुपर्ने ।
- सो क्षेत्र वा आयोजनाबाट प्रभावित जनताहरुका लागि त्यही आसपासमा सुरक्षित ठाउँको पहिचान गरी एकीकृत बस्ती विकास गरी त्यहाँ सबै किसिमका आधारभूत कुराहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा मझौला उद्योगहरुको व्यवस्था गरी बेरोजगारी समस्याको यथोचित व्यवस्था हुनुपर्ने ।
- जलाशायबाट यदी कुनै सडक, पुल र अन्य आयोजनाहरु सञ्चालनमा भएका भए वा निर्माणधिन अवस्थामा रहेका भए तिनीहरु प्रभावित नहुने गरी आयोजना संचालन गर्नुपर्ने ।
- सबैका लागि र सबै किसिमका सीपहरु सम्बन्धी तालिमको व्यवस्था सरकारको तर्फबाट हुनुपर्ने ।

स्थानीय निकाय तथा स्थानीय व्यक्तिहरुको दायित्व : 
(क) वृहत्तरहीत हुन सक्ने यो विशाल र महत्वपूर्ण बहुउद्देशीय आयोजना सम्पन्न हुन सके प्रदेश आफैमा आर्थिक रुपले आत्मनिर्भर र समृद्ध हुन सक्ने भएको हुँदा आफ्नो प्रदेशको वा देशको र स्थानीय गाउँ समाजमा रहेका कोही पनि व्यक्तिहरुले आफ्नो हो भन्ने ठानी सधैँ सकारात्मक सोच राख्ने तथा आजको मेरो लगानी भोलीको प्रतिफल मेरै हो भन्ने मुलमन्त्र ठानी अघि बढ्ने वा लाभ हानी मध्ये कुन बढी सही हो सोही अनुसार विरोध वा समर्थन गर्नुपर्ने ।

(ख) शान्ति सुरक्षामा सरकारलाई वा आयोजनालाई सहयोग गर्नुपर्ने ।

(ग) प्रवुध्य तथा सम्बध्ध क्षेत्रका वा सम्बन्धित विषयका विज्ञहरुसँग विचार विमर्श तथा छलफल गर्ने ।

(घ) सबै राजनैतिक दलका नेता कार्यकर्ताहरुले एउटै उद्देश्य राखी सर्वाङ्गीण विकासमा सकारात्मक सहयोग गर्ने र सबै दलहरुले आ-आफ्नो घोषणा पत्रमा समावेश गर्नुपर्ने ।

निष्कर्ष : 
हिमालको पानीको सही योजना बनाई कार्यान्वयन गर्ने हो भने सम्बध्ध क्षेत्रका सबै व्यक्तिहरुलाई रोजगार प्राप्त हुन जाने भएको हुँदा कोही व्यक्तिहरुले पनि बेरोजगार हुनु नपर्ने वा अन्य सातै प्रदेशका व्यक्तिहरुलाई समेत रोजगारीको अवसर सिर्जना हुन सक्ने देखिन्छ ।

अझ अकुशल तथा कुशल श्रम बेच्न वा नेपाली बहादुर, दरवान वा तल्लो दर्जामा रहेका घृणित पेशामा संलग्न युवा तथा युवतीहरुका लागि पनि अवसर हुन सक्छ । कुनै पनि ठाउँको विकास प्रशासनिक निकाय भएर वा राजधानी भएर मात्र हुन सक्छ भन्ने सोच हटाउनु पर्दछ । यस किसिमको फराकिलो सोच राखी सबैले लागि पर्ने हो भने, विकास यही छ वा समृद्धि यही छ ।

परिकल्पनाकार विश्रान्ति मन्दिर धनकुटाका कार्य समिति सदस्य हुनुहुन्छ ।

डा.केशीलाई भेन्टिलेट

धरान / एक सातादेखि आमरण अनसन बसिरहेका डा.गोविन्द क

कालिका कन्ट्रक्सनका

काठमाडौं / पूर्व वनमन्त्री तथा कालिका कन्ट्रक्सनका

छैठौं युजिए भलिबल कप

धरान / छैठौं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालय स्त

बिरामीको मृत्युपछि अ

राजविराज / उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि सगरम


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved