पथरीशनिश्चरे /मोरङको पथरीशनिश्चरे १ स्थित कावेली अस्पतालले यसबेला अभिभावकसँग स्वास्थ्य बारे अन्तरक्रियासहित नगरका विद्यालयका बालबालिकाको निशुल्क चेकजाँच अभियान अघि बढाएको छ ।

अस्पतालको सामाजिक उत्तरदायित्वको काम अन्तर्गत अस्पतालका नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर रुपेशकुमार सिंहमार्फत नगरका ३ वटा मन्टेसोरी विद्यालयमै गएर विद्यार्थीको निशुल्क चेकजाँच सम्पन्न भएको छ ।

डाक्टर सिंहले अभिभावकसँग अन्तरक्रिया गर्दै बालबालिकाको उपचारमा स्वास्थ्यकर्मीको विश्वासमा कमी तथा सामान्य अवस्थामा पनि एन्विायोटिक औषधि लेखिदिने चलनले स्वास्थ्यमा नकारात्मक असर परेको चर्चा गरेका छन् । उनले बालबालिकालाई हानिकारक हुने ‘जङफुड’बाट टाढै राख्नुपर्ने सल्लाह दिएका छन् ।

अभियान अन्तर्गत, क्यापरोजमा ५ दिन, सीडलिङमा ३ दिन र ज्ञानकुञ्जमा २ दिन निशुल्क उपचार सञ्चालन गरिएको अस्पतालका सञ्चालक सन्तोष ढुंगेलले जनाए । जसबाट ५ सय बढी विद्यार्थीको चेकजाँच गरी स्वास्थ्य सल्लाह दिइएको उनले बताए ।

उनले महिनाको २० दिनका दरले नगरका अन्य विद्यालयमा समेत यसखाले अभियानका साथ बालबालिकालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने अभिभावकसँगको अन्तरक्रिया राखिने उल्लेख गरे ।