बिर्तामोड/ बिर्तामोडको इडेन गार्डेन अङ्ग्रेजी माविले शुल्क नतिरेको भन्दै करिब ३ दर्जन विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको छ ।  अभिभावकले शुल्क नतिरेको भन्दै विद्यालयले विभिन्न कक्षामा अध्ययनरत तीनदर्जन विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको हो ।

पटक–पटक शुल्क बुझाउनका लागि सूचना जारी गर्दा पनि अभिभावकले अटेर गरेपछि परीक्षाबाट बञ्चित गराइएको विद्यालयका संयोजक सुशिल अधिकारीले बताए । विद्यालयका प्रधानाध्यापक मोहन आचार्य बिदामा रहेकाले आफूले विद्यार्थीहरूको हकमा के हुने भन्ने विषयमा दीर्घकालीन निर्णय गर्न नसक्ने बताए ।

निजी विद्यालयमा अहिले तेस्रो त्रैमासिक परिक्षा भइरहेको छ । परिक्षाको पहिलो दिन ति विद्यार्थीलाई परिक्षाबाट बञ्चित गरी घर फर्काइएको हो । ‘धेरै शुल्क बुझाउँन बाकी रहेका विद्यार्थीलाई परिक्षा दिन नदिएका हौँ, विद्यालयका कर्मचारी कल्पना आचार्यले भनिन, ‘अभिभावकलाई बारम्बार फोन गर्दा पनि शुल्क बुझाउँन अटेर गरेपछि शुल्क उठाउनका लागि एकदिनको परिक्षा रोकिएको हो ।’ आचार्यले अभिभावकले शुल्क नबुझाएका कारण विद्यालयको पठनपाठन प्रभावित हुने अवस्था आएपछि बाध्य भएर यस्तो निर्णय गर्नुपरेको बताइन् ।

अभिभावक भीम दहालले परिक्षा दिनबाट रोक लगाएर विद्यालयले विद्यार्थीहरूलाई मानसिक तनाव दिएको बताए । उनले आफु व्यस्त भएका कारण आउन नसक्दा परिक्षा दिनबाट रोक्नु अन्याय गरेको बताए । ‘हामी कोही थिएनौँ घरमा, नानी परिक्षा दिन नपाई घर गएको रहेछ, दहालले भने, ‘त्यो बेला बच्चाले परिक्षा दिन नपाएपछि अप्रिय निर्णय गरेको भए को जिम्मा हुने थियो ?’ आक्रोशित दहालले विद्यालयले अभिभावकको सानो गल्तीमा चरम अन्याय गरेको आरोप लगाए ।

अर्का अभिभावक सागर पौडेलले विद्यालयले निकृष्ठ भएर व्यापार मात्र गरिरहेको आरोप लगाए । उनले अभिभावकको सानो गल्तीमा अमानवीय निर्णय गर्न विद्यालयमाथि कारवाही हुनुपर्ने बताए ।

विद्यालयले भने सोमबारको परिक्षा अर्काे दिन लिने योजना बनाएको शिक्षक उपेन्द्र आचार्यले बताए । उनले मंगलबारदेखिको परिक्षा नियमित गरिएको पनि जानकारी दिए । अखिल (क्रान्तिकारी) झापाका अध्यक्ष अनिल सुवेदीले विशुद्ध ब्यापारका लागि स्थापना भएको जसरी झापाका निजी विद्यालय सञ्चालन भइरहेको बताए ।

उनले विद्यालय सञ्चालकमा मानवीयता नभएको जस्तो देखिएको भन्दै साना–साना विद्यार्थीमाथि मनोवैज्ञानिक असर पुर्याएको बताए । झापाका कुनै विद्यालयले सरकारले तोकेको शिक्षा निर्देशिका कार्यान्वयन नगरेको बताउँदै विद्यार्थीमाथि यस प्रकारको ज्यादति गर्ने विद्यालय बिरुद्ध आन्दोलन गर्ने चेतावनी सुवेदीले दिए ।