माक्सवादी सिद्धान्तहरु

alt
  • पुष २५, २०७५
  • ११४ पटक पढिएको
  • राजेन्द्र किराती

उत्पतिः
वाष्प इन्जीनको आविष्कार पछि औद्योगिक युगको आरम्भ भयो । १९औं शदीको मध्यसम्म आउँदा औद्योगिक विकास उत्कर्षमा पुग्यो । तात्कालिन अर्थराजनीतिक चरित्रले पुँजीवादी उत्पादन सम्बन्धलाई अनिवार्य बनाइदियो ।

सामन्तवादमा भूमीपती र किसान बीच प्रधान अन्तरविरोध थियो । यता औद्योगिक क्रान्ति पछि पुँजीपती र मजदुर बीचको अन्तरविरोध प्रधान भयो । उत्पादनको साधनहरुमा पुँजीपतीहरुको एकाधिकार रह्यो । मजदुरहरुले न्युन ज्यालामा कठिन काम गर्नुपर्ने अर्थराजनीतिक चरित्र हाबी भयो ।

पुँजीवाद आफैमा नाफामा आधारित अर्थराजनीतिक सम्बन्ध हो । यसमा केन्द्रीय रणनीति अधिकतम नाफा कमाउनेमा केन्द्रीत हुन्छ । परिणामतः मालिकहरु मोटाउदै जान्छ भने मजदुरहरुको अवस्था झनझन दयानीय हुन्छ । मालिक र मजदुर बीचको वर्गअन्तरविरोध उत्कर्षमा पुग्यो ।

यही वस्तुगत धरातलमा विभिन्न सामाजिक विचार पद्यतिहरु बारे बहस आरम्भ गरियो । सामन्तवाद र पुँजीवाद भन्दा अझ उन्नत वा प्रगतिशील समाज व्यवस्थाको सन्दर्भमा विभिन्न राजनीतिक चिन्तकहरुले आ-आफ्नो मत पेश गरे ।

rajendra kirati
लेखक

त्यतिखेर फ्रान्सको पेरीसमा काल्पनिक समाजवादी, अराजकतावादी, क्रिश्चीयन समाजवादी, कवी र दार्शनिकहरुको विगविगी थियो । तात्कालिन सबै विचार पद्यतिहरु पुँजीवादी शोषण र उत्पीडन विरुद्ध परिलक्षित थियो ।

ओवेन, कान्ट, हेगेल, फायरवाख, स्मीथ, रिकार्डो, रुसो, सिमन, प्रुधों र डार्वीन लगायतका विचारकहरुले पुँजीवादको उन्नत विकल्प खोज्न थाले । तर उनीहरुको विचार वैज्ञानिक र वस्तुवादी होइन केवल भाववादी चिन्तन्धारामा आधारित थियो । काल्पनिक, मनोगत र यान्त्रिक थियो । भौतिकवाद संगत थिएन ।

परिभाषाः
वस्तुतः यही ऐतिहासिक आवश्यता परिपूर्ती गर्ने सिलसिलामा माक्र्सवादको जन्म भएको देखिन्छ । यो १९औं शदीको मध्य तिर विकास भएको दर्शन हो । सर्वप्रथम कार्ल काउत्स्कीले माक्र्सवाद पदावली प्रयोग गरेका थिए ।

माक्र्सले आध्यात्मवादमा आधारित हेगेलीय द्वन्दवाद र अधिभूतवादमा आधारित फायरवाखीय भौतिकवादलाई संयोजन गरेर द्वन्दात्मक भौतिकवादी सिद्धान्त प्रतिपादन गर्नुभयो । हेगेलको आध्यात्मवादी द्वन्दवादमा भौतिकवाद र फायरवाखको अधिभूतवादी भौतिकवादमा द्व्न्दवाद समायोजन गर्नुभयो ।

अर्थात हेगेल र फायरवाखको अपाङ्ग, अपुरो र उल्टो दर्शनलाई सपाङ्ग, पूर्ण र सुल्टो बनाउनु भयो । वहाँले काल्पनिक समाजवादी, अराजकतावादीहरुको वैज्ञानिक पक्षहरुको अनुसरण गर्नुभयो । जर्मन विचारधारा, फ्रान्सेली समाजवाद र वेलायती अर्थशाष्त्रको विकसित र केन्द्रीकृत रुपनै माक्र्सवाद हो । यसलाई माक्र्सवादको आधार मानिन्छ ।

मुलतः उत्पीडित वर्गलाई उत्पीडकहरुको जञ्जीरबाट उन्मुक्त गराउने सङ्घर्षको वर्गीय दर्शननै माक्र्सवाद हो । यो द्वन्दात्मक भौतिकवादी दर्शन हुनुको साथै सामाजिक आर्थिक विश्लेषण तरिका हो । यसले वर्गसम्वन्ध र सामाजिक द्वन्दलाई ऐतिहासिक विकासको भौतिकवादी कोणवाट व्याख्या गर्दछ ।

सामाजिक परिवर्तनलाई द्वन्दात्मक प्रक्रियामा ग्रहण गर्दछ । यसले वर्गसमाजमा वर्गअन्तरविरोध कायम रहने सार्वभौम सच्याइलाई आत्मसात गर्दछ । सामाजिक रुपान्तरणलाई वर्गसङ्घर्षको केन्द्रीय सवाल स्वीकार गर्दछ । यो उत्पीडितहरुलाई पथप्रर्दशन गर्दै लक्ष्यमा पुर्याउने समाज विज्ञान हो ।

यसको समाजशाष्त्रीय आधार द्वन्दको सिद्धान्त अनुरुप हुन्छ । यसले इतिहासको भौतिकवादी व्याख्या गर्दछ साथै सङ्घर्षलाई मुक्तीको अचूक राजनैतिक अष्त्र मान्दछ । अर्थात यो निरन्तर आन्दोलनको ऐतिहासिक प्रक्रिया हो ।

माक्र्सवादले समाज परिवर्तन आकश्मिक नभएर विशिष्ट ऐतिहासिक भौतिकवादी सामाजिक प्रक्रियामा हुने कुरामा विस्वास गर्दछ ।

आधारभुत सिद्धान्तः (द्वन्दात्मक भौतिकवाद)
वस्तुतः माक्र्सवाद भनेको वैज्ञानिक र तथ्यपरक सिद्धान्त हो । यसमा मुल सिद्धान्त द्वन्दात्मक भौतिकवाद हो । वाद, प्रतिवाद र संवादको प्रक्रियागत चक्रमानै कुनैपनि वस्तु वा सत्ताको गतिशीलता जीवित रहने विज्ञान नै द्वन्दवाद हो ।

यसमा वादले विपरितहरुको एकत्व सहितको एउटा खास परिवेशको प्रतिनिधित्व गर्दछ । उता प्रतिवादले विपरितहरु विच सार्वभौम रुपमा अस्तित्व रक्षार्थ हुने द्वन्द वा सङ्घर्षको प्रतिनिधित्व गर्दछ । संवादले सङ्घर्ष पछिको गुणात्मक रुपान्तरण सहितको विलकुल नयाँ सश्लेषित परिवेशलाई जनाउदछ ।

माक्र्सवादी समाज विज्ञानमा यसलाई नै क्रान्ति वा परिवर्तन भनिन्छ । यता भौतिकवादमा कुनैपनि वस्तु वा सत्ताको निर्णायक तत्व भौतिक पक्ष हुनेगर्दछ । वस्तु पहिलो र चेतनालाई दोस्रो मान्दछ । उनले हेगेलले जस्तो आत्म र परात्मको वकालत गर्नुभएन ।

अर्थात भौतिक वस्तु वा सत्ताको द्वन्दात्मक चरित्र र यही द्वन्दात्मक पद्यतिद्वारानै यसको रुपान्तरण हुन्छ भन्ने ऐतिहासिक भौतिकवादी मान्यतानै द्वन्दात्मक भौतिकवाद हो । यो माक्र्सवादको मुलभुत सिद्धान्त हो ।

विशेषताः
माक्र्सवादले मानव समाजलाई भौतिक जगतको रुपमा ग्रहण गर्दछ । यसमा वस्तु, सत्ता वा घटनाहरु एक अर्कोमा अन्तरसम्वन्धित मात्र हुँदैन परिपूरक पनि हुन्छ । उनीहरु विच पारस्पारिक द्वन्द र एकता दुवै हुन्छ ।

यसले पदार्थहरु गतिशील हुन्छ भन्ने मान्यता राख्दछ । यही गतिशीलताकै कारण वस्तु वा सत्ता निरन्तर ऐतिहासिक प्रक्रियाको रुपमा विकास भइरहन्छ । यसले द्वन्दात्मक प्रक्रियामा वस्तुको परिवर्तनशीलता निर्भर रहने वकालत गर्दछ ।

अर्थात निरन्तरताको उच्चतम अवस्थासँगै क्रमभङ्गता अनिवार्य हुन्छ । निरन्तर विकासको प्रक्रिया खास विन्दुमा पुगेर परिपक्व हुन्छ अनि यसले आफ्नो पुरानो चरित्रलाई निशेध गर्दछ । त्यतिखेर वस्तु वा सत्ताले नितान्त नयाँ चरित्र ग्रहण गर्दछ ।

यसलाई नै गुणात्मक रुपान्तरण भनिन्छ । यो परिमाणात्मक रुपान्तरणकै उच्चतम रुप हो । माक्र्सवादमा यसलाई क्रान्तिकारी परिवर्तन भनिन्छ । यसैगरि हरेक वस्तु वा सत्तामा नकार र सकार पक्ष हुन्छ । यिनीहरु विचको द्वन्द वा सङ्घर्षको प्रक्रियालेनै पदार्थ वा सत्ताको विकासलाई अवश्यंभावी वनाउदछ । यो द्वन्दात्मक भौतिकवादको मुल विशेषता हो ।

नियमः
वस्तु वा सत्ताको विकास सन्दर्भमा माक्र्सवादले केही महत्वपूर्ण सार्वभौम नियमहरु पेश गर्नु भएकोछ । पहिलो वस्तु वा सत्ताको विकास निशेधको निशेध नियममा हुनेगर्दछ । पुरानोलाई निशेध नगरी नयाँको जन्म हुँदैन ।

अर्थात पुरानो अर्थराजनीतिक सम्बन्धलाई निषेध नगरी नयाँ अर्थराजनीतिक सम्बन्धको स्थापना संभव हुँदैन । दोस्रो वस्तु वा सत्ताको अस्तित्व विपरितहरुको एकत्वमा आधारित हुन्छ । अर्थात यसमा दुइ विरोधी तत्वहरु एक आपसमा सङ्घर्षरत हुन्छ ।

द्वन्दको यही प्रक्रियालेनै वस्तुको विकास हुनेगर्दछ । यसलाई अन्तरविरोधको नियम भनिन्छ । समाजमा शासक र शासित अनि उत्पीडक र उत्पीडित विचको द्वन्द निरन्तर चलिरहन्छ । तेस्रो परिमाणात्मक र गुणात्मक परिवर्तनको नियम हो ।

यसमा वस्तु वा सत्ताको विकास निरन्तरताको लामो प्रक्रिया पछिको क्रमभङ्गतामा निर्भर हुन्छ भनेर वकालत गर्दछ । उदाहरणको लागि पानी तातीदै जानु परिमाणात्मक परिवर्तन हो भने वाफ बन्नु गुणात्मक परिवर्तन हो । यो माक्र्सवादी द्वन्दात्मक भौतिकवादी नियम हो ।

वर्गसङ्घर्षः
वर्गसङ्घर्ष माक्र्सवादको असाध्यै महत्वपूर्ण सिद्धान्त हो । उनले मानव समाजको सार्वभौमिक वर्गीय चरित्रलाई प्रष्ट पार्नुभयो । अर्थात समाजमा मुलतः दुइ विपरित स्वार्थ वोकेका वर्गहरु हुन्छन् । उनीहरु विच शत्रुतापूर्ण अन्तरविरोध हुनेगर्दछ ।

यसमा एउटा वर्ग शासक र अर्को वर्ग शासित अनि एउटा वर्ग शोषक र अर्को वर्ग शोषित हुनेगर्दछ । अर्थात पुँजीवादी नाफामुखी अर्थराजनीतिक सम्वन्धमा पुँजीपतीहरुले उत्पादनको साधनहरु माथि एकाधिकार र पकड कायम गर्दै मजदुर माथि चरम शोषण गर्दछ । यसमा मजदुरहरुलाई असाध्यै न्युन ज्याला दिएर अत्याधिक नाफा कुम्ल्याउने गरिन्छ ।

परिणामतः मालिक र मजदुर विच शत्रुतापूर्ण अन्तरविरोध हुन्छ । यही अन्तरविरोधकै गुरुत्वकेन्द्रमा सङ्गठित, योजनावद्ध, उन्मुक्त समाज निर्माणको उद्देश्य सहित वर्गसचेत पहलकद्मी लिने प्रक्रियानै वर्गसङ्घर्ष हो ।

दास युगमा दास र दासमालिक, सामन्तवादमा भुमिपती र किसान अनि पुँजीवादमा पुँजीपति वर्ग वा बहुराष्टिूय निगम हाउस र मजदुर बीच अन्तरविरोध रहदै आएको छ । अर्थात उत्पीडक र उत्पीडित बीच यो वा त्यो रुपको वर्गअन्तरविरोध अस्तित्वमा देखिन्छ ।

 उनीहरु विच भिषण द्वन्द हुँदै आएकोछ । यही द्वन्दको प्रक्रियालाइनै वर्गसङ्घर्ष भनिन्छ । माक्र्सले आजसम्म अस्तित्वमा रहेको सबै मानव इतिहासलाई वर्गसङ्घर्षको इतिहास मान्दछ । उत्पीडित वर्गले उन्मुक्ती प्राप्त गर्ने असली अष्त्र नै वर्गसङ्घर्ष हो । यसकारण वर्गसङ्घर्ष माक्र्सवादको आधारभुत सिद्धान्त हो ।

अतिरीक्त मुल्यको सिद्धान्तः
अतिरीक्त मुल्य पुँजीवादी अर्थराजनीतिक सम्बन्धको सार हो । यसमा पुँजीवादी अर्थराजनीतिक सम्बन्धमा उत्पादनको साधनहरुमा पुँजीपतीहरुको पकड र हालीमुहाली रहने तथ्यलाई सुक्ष्म व्याख्या गरिएकोछ ।

पुँजीवादमा गरिने श्रम शोषणको सपाट तस्वीर यसमा रहेकोछ । उनले वस्तुमा अन्तरनिहीत दुइ किसिमको मुल्य सम्बन्धि तथ्य पत्तो लगाउनु भयो । उपयोग मुल्य र विनिमय मुल्य । उदाहरणको लागि खोलाको बालुवाको प्राकृतिकरुपमा नै उपयोग मुल्य हुन्छ ।

तर यसलाई प्रयोगमा ल्याउनको लागि त्यसलाई उत्खनन् गर्नुपर्दछ । यसरी उत्खनन् गर्दा लाग्ने मुल्य भनेको विनीमय मुल्य हो । यसलाई श्रम मुल्य पनि भनिन्छ । अर्थात वस्तुको वास्तविक मुल्य नै विनिमय मुल्य हो ।

पुँजीवादी उत्पादन पद्यतिमा उत्पादनको साधनहरुमा पुँजीपतीहरुको पकड वा नियन्त्रण हुन्छ । यस्तो बेला उनीहरुले मजदूरहरुलाई असाध्यै न्युन ज्याला मात्र दिनेगर्दछ । लागत श्रम र लगानी मुल्य अनि विक्री गर्दा प्राप्त हुने अत्याधिक नाफानै अतिरीक्त मुल्य हो ।

यो पुँजीवादी उत्पादन सम्बन्ध अन्तरगतको शोषण पद्यति हो । माक्र्सले यो वैज्ञानिक तथ्य पत्तो लगाउनु भइ तमाम उत्पीडित वर्गको आँखा उघारीदिनु भयो ।

यसैगरि माक्र्सले समाजको ऐतिहासिक द्वन्दात्मक भौतिकवादी विकास पद्यतिलाई स्पष्ट गर्नुभयो । यही अनुरुप एउटा ऐतिहासिक कालखण्डलाई अर्कोले निशेध गर्दै आदिम साम्यवाद, दास युग, सामन्ती युग, पुँजीवादी युग, समाजवादी युग अनि साम्यवादी व्यवस्थामा मानव समाज रुपान्तरण हुँदै जाने द्वन्दात्मक ऐतिहासिक प्रक्रिया अन्वेशण गर्नुभयो ।

राज्यसत्तालाई एउटा सङ्क्रर्मणकालिन वर्गअधिनायकत्व सहितको राज्यरुप भनेर पेश गर्नुभयो । यता सर्वहारावादी विश्वदृष्टिकोण, उत्पीडित वर्गीय अधिनायकत्व, हिंसात्मक क्रान्ति, सर्वहारा अन्तरराष्ट्रियतावाद, बल प्रयोग जस्ता आन्दोलनको मुलभुत सिद्धान्तहरु दर्ज गर्नुभयो ।

आर्थिक उत्पादन पद्यतिले सामाजिक सम्बन्ध, राजनैतिक सत्ता, कानुनी पद्यति, साँस्कृतिक प्रणाली, शौन्दर्यशाष्त्र र विचारहरुलाई निर्देशित गर्दछ । माक्र्सवाद सदैव खुल्ला, आलोचनात्मक, आत्मालोचनात्मक र द्वन्दात्मक हुन्छ । तबमात्र सत्य पत्तो लगाउन सकिन्छ । सत्य पत्तो नलगाई बुझ्न र रुपान्तरण गर्न सकिदैन ।

निश्कर्षः
माक्र्सवादले विज्ञान, प्रविधि र उत्पादनमा भन्दा पनि लाखौं जनताको सहभागितामा हुने सामाजिक तथा आर्थिक परिवर्तनलाई मुख्य मान्दछ । यो सामुहिकतावादमा आधारित हुन्छ । यसले आधारभूत भौतिक आवश्यक्तालाई चालक शक्ति मान्दछ ।

यसले शोषण, विभेद, अन्याय र हेलाहोचोहरुको समूल अन्त्य गरिएको साम्यवादी समाजव्यवस्थाको वकालत गर्दछ । प्रारम्भिक चरणमा उत्पादनको साधनहरुमा उत्पीडित वर्गीय अधिनायकत्व हुन्छ । उच्च चरणमा कित कम्युन कित राज्यको स्वामित्व हुन्छ ।

उत्पादनको साधनहरुमा साझा स्वामित्व सहितको अर्थराजनीतिक सम्वन्धनै साम्यवाद हो । यसमा राज्य, वर्ग, मुद्रा, राज्यसत्ता पूर्णरुपमा विलोप हुन्छ । समाजवादमा प्रत्येकलाई क्षमता अनुसार र साम्यवादमा प्रत्येकलाई उसको आवश्यक्ता अनुसारको दामको व्यवस्थापन गरिन्छ ।

उन्नत सामुहिक चेत, मनोविज्ञान, जीवनव्यवहार र सँस्कृतिको पूर्ण विकसित समाजनै साम्यवाद हो ।

वस्तुतः सङ्घर्षको निरन्तर ऐतिहासिक प्रक्रियाद्वारा वस्तु वा सत्ताको रुपान्तरण गर्ने अवधारणा नै माक्र्सवाद हो । यसले अरु विचारकहरुले जस्तो कल्पना र भावनामै समाज परिवर्तनको संभावना देख्दैन । पुँजीवादीहरुले जस्तो विभेदपूर्ण अर्थराजनीतिक सम्बन्धलाई न्यायपूर्ण भनेर ढोंग पनि गर्दैन ।

निरन्तर आन्दोलनको लामो ऐतिहासिक प्रक्रिया बिना मानवीय उन्नत चेतना विकास हुँदैन । उन्नत र सभ्य सँस्कृति साम्यवादको आधारशिला हो । उन्नत सामुहिक सोंच, विवेक र जीवनव्यवहार बिना साम्यवादी प्रक्रिया पूर्ण हुँदैन ।

साम्यवादमा निजी स्वार्थ, स्वामित्व र वर्गसंरचना हँदैन । उत्पादनको साधनहरुमा पूर्णरुपमा सामुदायिक स्वामित्व र नियन्त्रण हुन्छ । यद्यपि आज विश्वमा माक्र्सवादी आन्दोलन रक्षात्मक देखिन्छ । तर यो विज्ञानद्वारा निर्देशित समानता र न्यायमा आधारित क्रान्तिकारी दृष्टिकोण हुनाले यसको पुनरोदय अवश्यंभावी रहेकोछ ।

ढिलोचाँडो विभेदपूर्ण दलाल पुँजीवादको न्यायिक विकल्प वैज्ञानिक समाजवाद हुनेमा दुइमत छैन ।

नेपाललाई ३-१ ले पछि

देउराली । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा

ट्रकले मोटरसाइकललाई

काभ्रेपलाञ्चोक ।   ट्रकले मोटरसाइकललाई ठक्क

मध्यान्तरसम्म नेपाल

धरान । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा ने

भारत र नेपाल १–१ को

धरान । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले अग्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved