पाँचथर/ विभागीय टोली त्रिभूवन आर्मी क्लब फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आर्मीले टाइब्रेकरमा एनएमबी फिदिम स्पोर्टिङ क्लबलाई ४–१ गोलले पराजित गर्यो

। आर्मीको जितमा गोलकिपर विश्वास चौधरी नायक बने । उनले फिदिम स्पोर्टिङको दुई वटा पेनाल्टी सुटलाई रोके । खेलको तीसौं मिनेटमा राजीव गुरुङको गोलबाट आर्मीले अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि रहेको फिदिमलाई खेलमा फर्काउन ६९ औं मिनेटमा सरन बस्नेतले बराबरी गोल फर्काए ।

लगत्तै ७० औं मिनेटमा फिदिमका लागि विदेश खेलाडी स्टेफनले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । तर ७२ औं मिनेटमै पुनः राजीवले नै गोल गर्दै आर्मीलाई खेलमा फर्काए ।

खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा आर्मीका राजीव गुरुङ, राजेश पौडेल, विश्वास चौधरी र अरिक विष्टले गोल गर्दा फिदिम स्पोर्टिङका लागि प्रवीण जबेगूले १ मात्र गोल गर्न सफल भए ।

सरन बस्नेत र ओमप्रकाश घलेको प्रहारलाई गोलकिपर विश्वासले रोकेका थिए । म्यान अफ दी म्याच उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताअन्तर्गत बुधबारको खेल काठमाडौंको सरस्वती क्लब र सुनसरी–११ बीच हुने आयोजकले जनाएको छ ।