बिर्तामोड/ बिर्तामोड नगरपालिका वडा नम्बर ५ को एउटा घरको कोठा । कोठामा असरल्ल कागज, इरेजर, पेन्सिल र केही फोटो ।

फोटोलाई चित्रमा उतार्न झोक्राइरहेका एक युवक । बितेको चारबर्षदेखि दिनचर्या हो उनको यो । उनी हुन झापाको बुद्धशान्ति ६ का २० बर्षिय निरज कुँइकेल । ख्याल ख्यालैमा स्केच गर्दा त्यो भन्दा राम्रो बनाउने उनको शौख भयो ।

सामाजिक सञ्जालको सहयोगले अहिले स्केच उनको पेशा बनेको छ । अहिले उनलाई स्केच गर्न भ्याइ नभ्याइ भएको छ । जापान, अमेरिका, क्यानाडाबाट समेत उनको स्केचको माग भईरहेको कुँइकेलले बताए ।

नेपालकै पनि काठमाण्डौ, बुटवल, दाङबाट उनको स्केचको माग भएको छ । स्केच बनाउन उनले आफ्ना बाबुबाट सिकेका हुन् ।

उनका बाबु ‘वालपेन्टर’ हुन् । बिदेशमा वाल पेन्टिङको काम गरेर आएका बाबु कृष्णले नेपालमा पनि लामो समयसम्म त्यसलाई निरन्तरतता दिए । बाबुको कलाबाट प्रभावित भएका उनले वाल पेन्टिङलाई पेशा बनाएनन् । उनले त्यसलाई परिस्कृत गर्दै आकृति उतार्ने पेशा बनाएको बताए ।

स्केचलाई सामाजिक सञ्जाल फेसबुकले पेशा बनाउनका लागि सहयोग गरेको उनी बताउँछन् । उनले आफुजस्तै स्केच गर्ने अरु साथी खोजेर फेसबुक मार्फत जोडिएको बताए । र त्यसमा हुने ग्रुप च्याटमा छलफल गरेर आकृति मिलाउँदा स्केच प्रभावकारी हुने गरेको अनुभव कुँइकेलले सुनाए ।

सानैदेखि स्केच बनाउन थालेका कुँइकेलले त्यसलाई पेशाको रुप दिएको धेरै समय भने भएको छैन । ‘जव सामाजिक सञ्जालमा जोडिए, तब देश बिदेशबाट माग हुन थालेको हो, कुँइकेलले भने-‘एउटा स्केच बनाएर फेसबुकमा अपलोड गरेपछि अरु चारदेखि पाँचवटासम्म बनाउन माग हुने गरेको छ ।’ माग बढी भएका कारण अहिले कुँइकेललाई स्केच बनाउन भ्याई नभ्याई भएको बताउँछन् ।

उनको ब्यस्तताको कारण अर्काे पनि रहेछ । बुद्धशान्तिमा रहेको मुनामदन एकेडेमीले आगामी महिना आयोजना गर्न लागेको शैक्षिक मेलामा उनका १ सय वटा स्केच प्रदर्शनीमा राख्ने सम्झौता भएपछि कुँइकेलको ब्यस्तता झनै बढेको हो ।

प्रदर्शनीमा राखेको स्केचबाट पारिश्रमिक समेत पाउँने भएपछि उनी थप उत्साहित छन् । अहिले उनी रातको ११ बजेसम्म स्केच गर्नुपर्ने बाध्यता भएको बताउँछन् ।

सामान्य खालको एउटा स्केच बनाउन कुँइकेललाई ५ घण्टा लाग्छ । कुनै कुनै स्केच भने लगातार काम गर्दा १२ घण्टासम्ममा सिध्याउने गरेको कुँइकेल बताउँछन् । उनले स्केच बनाउँदा ग्राफ गरेर शुरु गर्ने गरेको बताए । मानिसको नक्सा बनाउँदा फोटो कस्तो एङगलमा छ त्यही अनुसार शुरु गर्ने उनी बताउँछन् ।

बिज्ञान बिषय लिएर कक्षा १२ सम्म अध्ययन गरेका कुँइकेलले अबका दिनमा स्केच बनाउने कामलाई नै पेशा बनाउने भएका छन् । सञ्चारकर्मी समेत रहेकी दिदी नविना कुँइकेलसँग बिर्तामोडमा डेरा गरेर बस्दै आएका उनको मासिक सञ्चारकर्मी समेत रहेकी दिदी नविना कुँइकेलसँग बिर्तामोडमा डेरा गरेर बस्दै आएका उनको मासिक ३५ देखि ४० हजार रुपैंयाँ आम्दानी छ ।

‘खर्च कटाएर पनि २५ हजारसम्म बचत होला, कुँइकेलले भने-‘अहिले आएर जिविकोपार्जनका लागि यो पेशाले पुग्छ होला भन्ने महसुस भएको छ ।’

कार्टुन र स्केचमा के फरक छ ? ‘कार्टुन वास्तविक हुदैन, हो कि जस्तो, होइन कि जस्तो हुन्छ, स्केच वास्तविक हुनुपर्छ, अलिकति तलमाथि भयो भने स्केच असफल भएको मानिन्छ, कुाइकेलले भने-‘जति धेरै मिहेनत त्यति धेर राम्रो स्केच बनाउन सकिन्छ ।’ आफुले बनाएको स्केच २ हजारदेखि ५ हजारसम्ममा बिक्रि गरेको उनी बताउँछन् ।

‘स्केचकलाको बजार छ जस्तो लागेको छ, कुँइकेलले भने-‘ काठमाण्डौको ललितकला क्याम्पसबाहेक औपचारिक रुपमा सिकाउने ठाँउ यसको छैन, एउटा पेन्सिल किन्न पनि धरान जानुपर्ने हुन्छ, पेपर पनि धरान, इरेजर र टिस्यु पेपर पनि उतै, सामग्रीको सहज उपलब्धता नभएर हामीलाई गाहे परेको छ ।’ धरानमा इन्जिनियरीङ कलेज भएका कारण त्यहाँ स्केचका लागि आवश्यक सामग्री उपलब्ध हुने जानकारी उनले दिए । उनले लगभग १५ घण्टा समय लगाएर एउटा स्केच गरेका छन् ।

लिम्बु समुदायको हजुरआमाको स्केच उनलाई सबैभन्दा मन परेको स्केच हो । ‘यो चै बिक्रि गर्दिन, सबैभन्दा सन्तुष्ट यहि स्केचबाट छु ।’ स्केच निर्माणका अतिरिक्त दुइटा बिद्यालयमा सामान्यतया आधारभुत खालका स्केच बनाउन सिकाउने कुँइकेललाई जिवनयापनका लागि त्यसले सहज बनाएको बताउँछन् ।

सानैदेखि चित्र कोर्न मन पराउने निरजले बाल्यकालको आफ्नो इच्छालाई पेशामा स्थापित गरेका छन्रु। सानैदेखि चित्रहरु कोर्ने गरे तापनि कक्षा-८ मा पढ्दा शिक्षकहरुले आफूले बनाएको चित्र मन पराएपछि चित्र बनाउने थप प्रेरणा मिलेको उनी बताउँछन् ।’ उनले स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुको फोटो सामाजिक सञ्जालमार्फत लिएर चित्र बनाउने गरेका छन् ।

यसरी बनाएको चित्रबाट लिएको रकमले उनलाई कोठामा आवश्यक सामग्रीहरु जुटाउन सहज हुनुका साथै पढाई खर्चमा समेत सघाउ पुग्ने गरेको छ । उनी भन्छन्, ‘मैले आफूले जानेको कलाबाट यहीँ बसेर केही आम्दानी गरिरहेको छु, अब पढाइ र स्केच निर्माणलाई निरन्तरता दिन्छु ।

उनी आफूलाई सानै उमेरमा एक चित्रकारको रुपमा सबैले चिन्ने गरेकोमा गर्व महसुस गर्छन् । कुइँकेलले विभिन्न कलाकार तथा प्रख्यात व्यक्तिहरुको स्केच बनाएर बेला-बेलामा सामाजिक सञ्जाल मार्फत अपलोड गर्ने गरेका छन् रु। उनले सामान्य किसिमका स्केच मात्र नभई ‘थ्रि डी’ आर्ट पनि गर्ने गरेको बताउँछन् ।