मधुमल्ला /  बुढेसकालका साहारा दुई छोरा एकपछि अर्को गर्दै गुमाएकी ७८ वर्षीया सनमाया महरा दर्जीको दिनचार्या कहाली लाग्दो छ । गरीबीसँगै उपचार खर्च अभाव भएपछि मानसिक सन्तुलन गुमाएकी छोरीलाई हातखुट्टा बाँधेर राखिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ कालीझोडा घर भएकी ३८ वर्षकी देबिमाया महरा विगत २० वर्ष देखि मानसिक समस्या देखिए पछि हातखुट्टा बाँधेर राख्ने गरिएको आमा सनाया महरा बताउँछिन ।
सामान्य उपचार र चेकजाँच गराउने उपचार खर्चको समेत अभावमा छोरीलाई बाँधेर राख्ने गरिएको सनमायाले बताइन । ‘आफू विहानैदेखि मजुदरी काम गर्नुपर्छ, छोरी बाहिर जथाभावी हिँड्ने, अरुको विगार गरिदिने भएपछि बाँधेर राख्नुपरको हो’, देबिमायाकी आमाले भनिन्, ‘ घरमा म मात्र छु एक जना हेर्ने मान्छे उसको लागि चाहिन्छ, अर्को कोही छैन उसलाई हेर्ने, अनि नबाँधीकन कुनै उपाय नै भएन । ’बेला बेलामा सुरको कुरा गर्ने गरेको भए पनि अधिकांश समय बेसुरको कुरा गर्ने, जथाभावी हिँड्ने, मनलाग्दी बोल्ने गरेकाले हातखुट्टा बाँधेर राख्न बाध्य भएको सनमायाले बताइन ।
खाने बेला र सुरको कुरा गरेको बेलामा हातखुट्टा खोलिदिने गरेको सनमायाले बताइन् । ‘नबाँधीकन राख्ने हो भने खाना समेत नखाई जता मन लाग्यो त्यतै हिँड्ने गर्छे, हिँडेपछी फर्केर आउँदिन खोज्न जानु पर्छ भावुक हुदै सनमायाले भनिन्, ‘यसैगरी सधैभरि बाँधेर राख्न मन त कहाँ छ र ? उपचार गर्न लैजाउँ कहाँ लैजाउ ? खर्च छैन, कमाएको ज्याला नातीहरुको खानपानमै खर्च हुन्छ ।’ छोरीको उपचार गर्ने सहयोगी भेटिए काम छाडेर भए पनि उपचार गराउने उनले बताइन ।
बाँसले बारेको झुपडी छ । त्यही झुपडीबाट पनि कहिलेकाही भाग्नुपर्छ । भएकी छोरीको साहारा पनि सनमाया नै हुन् । अन्नको नाममा एक गेडो केही छैन, अर्काकोमा बनिबुतो गर्न जानुपर्ने । घरको आर्थिक अवस्था सुधार्ने भन्दै बिदेश हानिएकी बुहारी नेपाल फर्किएपछि अर्कैसँग हिडेकी र बुहारी हिडेपछि मानसिक रूपमा विक्षिप्त बनेको छोरोले गत साउनमा आत्महत्या गरेको ृउनी बताउछिन् । अहिले सनमायासँग एक मात्रै जीउने साहारा त्यही छोराका ११ र १४ वर्षका दुई नातीहरु छन् । अहिले दुई नातीलाई हेरेर उनको जीवन भरथेग गरिरहेकी छन् । दुई नाती पनि खर्च अभावले पढ्न पनि पाएका छैनन् ।