झापा / लोकप्रिय गायक विपुल क्षेत्री तथा द ट्राभलिङ ब्याण्डले झापाको बिर्तामोडमा वृहत सांगितिक कन्सर्ट गर्ने भएको छ ।
बिर्तामोडको टावर टेम्पल स्कुलमा माघ १२ गते कन्सर्टको आयोजनाको तयारी गरेको आयोजक संस्था पुर्वाञ्चल रकले बुधवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
नेपालभर ६ स्थानमा कन्सर्ट गर्ने पूर्वाञ्चल रकका प्रबन्ध निर्देशक रवि श्रेष्ठले बताए । बिर्तामोड पछि पाल्पा, हेटौडा, वुटवल, पोखरालगायतका स्थानमा कन्सर्ट गर्न लागेको पत्रकार सम्मेलनमा बताइएको छ । ‘पूर्वाञ्चलको बिर्तामोड, दमकजस्ता ठाउँमा राम्रा कन्सर्ट आइपुग्नै पाउँदैनन्’ प्रवन्ध निर्देशक श्रेष्ठले भने ‘बिर्तामोडमा पनि राम्रो कन्सर्ट ल्याउने उदेश्यले पूर्वाञ्चल रकले आयोजना गरेको हो ।’
बिर्तामोडमा हुने विपुल क्षेत्रीको कन्सर्टमा ४ हजार दर्शकको उपस्थिति रहने अपेक्षा आयोजकले लिएको छ । वेलुका ५ वजेबाट शुरु हुने कन्सर्टमा स्टलसमेत रहने जनाइएको छ । २० लाख अनुमानित खर्च हुने कन्सर्टको टिकटदर ५ सय रुपैयाँ रहेको पूर्वाञ्चल रकका उत्सव प्रसाईले बताए ।