धरान / आरम्भ नाट्य डबलीले ३० औं स्थापना दिवस धरानमा मनाएको छ ।  धरान–९ मा बुधबार सम्पन्न स्थापना दिवसमा लघु नाटक ‘यातनाका अन्त्य’ प्रदर्शन गरेको छ । यसक्रममा प्राश्नाभक्त रङ्ग पत्रकारिता पुरस्कार वितरण गरिएको छ ।

पक्रकार दिनेश गजमेरलाई यसपटकको प्राश्नाभक्त रङ्ग पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । यसको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । कार्यक्रममा प्रमुख अतिथि भाषाविद् प्रा.डा टङ्क न्यौपाने, आरम्भका अध्यक्ष गोपाल देवानलगायतले पुरस्कारसहित सम्मान पत्रले सम्मानित गरियो ।

धरानको रङ्गमञ्चलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यले १६ वर्षपछि आरम्भले पुनरागमन गरेको हो । आरम्भले नेपालको राजनीतिमा घटेको वास्तविक कथालाई समेटिएको नाटक ‘यातनाका अन्त्य’ प्रदर्शन गरे ।

२०३६ सालमा धनुषाका जतुवामा दुई जना क्रान्तिकारी योद्धालाई राजसत्ताले गोली हानी मारेको घटनालाई समेटेर नाटक प्रदर्शन गरिएको हो । यसअघि सडक बालबालिकाको कथामा आधारित ‘परिवर्तनका स्वरहरू’ प्रदर्शन गरिएको थियो ।

पछिल्लो समय आरम्भले बाल कलाकार उत्पादनलाई समेत ध्यान दिएको छ । हालसम्म ३० जनाभन्दा बढी बालकलाकार उत्पादन भएका छन् भने ती मध्ये अहिले पनि अभिनयमा व्यस्त रहेको आरम्भका अध्यक्ष गोपाल देवानले बताए ।