इनरुवा/ उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधान संशोधन बेगर गणतन्त्र संस्थागत हुन नसक्ने बताएका छन् । मुलुकमा विभिन्न व्यवस्थात्मक प्रणाली लागु भई असफल भएको यथार्थलाई नकार्न नसकिने बताउदै यादवले गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन अनिवार्य रहेको बताएका हुन् ।

सुनसरी सदरमुकाम इनरुवामा नवनिर्मित बसपार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले संघीय प्रणाली कार्यान्वयनमा चुनौति रहेकाले गणतन्त्रलाई संस्थागत गर्न प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन जरुरी रहेको बताए ।

आफु सरकारमा रहेपनि संविधान संशोधनको पार्टीगत मुद्दा यथावत रहेको बताउनु भएका यादवले संविधान संशोधन अनिवार्य रहेको दोहोर्याए ।  स्वयं संविधान निर्माणमा जुटेकाहरुनै संविधानको विषयमा अनभिज्ञ देखिएकाले पूर्णतः कार्यान्वयनकालागि ऐन नियमहरु परिमार्जन सहित संशोधन गरी समावेशी बनाउन आवश्यक रहेको यादवको भनाई थियो ।

बसपार्क उद्घाटन कार्यक्रममा शहरी बिकास मन्त्री महमद इसतियाज रइन सहित सांसद सीताराम मेहता, इनरुवा नगरपालिका प्रमुख राजन मेहता लगायतको उपस्थिती रहेको थियो । सघन शहरी बिकास कार्यक्रम अन्र्तगत निर्माण सम्पन्न इनरुवा बसपार्क ११ करोड लागतमा निर्माण भएको हो । बसपार्क समयानुकुल र प्रविधीमैत्री बनाइएको छ ।

उपप्रधान मन्त्री यादवले बसपार्क औपचारिक उद्घाटन गर्दै कार्यक्रमकका अध्यक्ष समेत रहेका इनरुवाका नगर प्रमुख राजन मेहतालाई चाबी हस्तान्तरण गरेका थिए । नवनिर्मित बसपार्क अपाङगमैत्री रहेको छ ।

यात्रु प्रतिक्षालयका साथै आवास र होटल सहितको बन्दोवस्ती मिलाइएको इनरुवा बसपार्कमा सुरक्षाकालागि पर्याप्त मात्रामा सीसी क्यामेरा र सोलार बत्ति समेत जडान गरिएको छ । बसपार्क इनरुवाको पहिचानका रुपमा रहेकाले व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने नगर प्रमुख मेहताले प्रतिवद्धता जनाएका छन् ।

बसपार्कसँगै कालिका कन्ट्रक्सनले १ अरब २ करोड २५ लाख ३४ हजार २ सय ४९ रुपैंया लागतमा निर्माण सम्पन्न गरेको सडक, नाला, विद्युत पोल, खानेपानी र टेलिफोन लाइन सार्ने एवं जडान गर्ने कार्य सम्पन्न गरेको प्रतिवेदन सहित संघीय आयोजना कार्यान्वयन इकाई बिराटनगरले पूर्वाधार इनरुवा नगरपालिकाको कार्यालयलाई हस्तान्तरण गरेको छ ।