भद्रपुर/ मदिरा सेवनका कारण समाजमा बढी अपराधजन्य घटना बढेको भन्दै झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन प्रहरी प्रशासन अघि सरेको छ । यही माघ–१ गतेबाट झापालाई मदिराजन्य पदार्थ नियन्त्रित जिल्लाको रूपमा व्यवस्थित गर्न अघि सरेका हुन् । अवैध मदिरा नियन्त्रण समिति झापाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराएको हो ।

झापामा हुने गरेका घटनामध्ये ६७ प्रतिशत मादक पदार्थ सेवनका कारण घटेको प्रहरीले अनुसन्धानमा निष्कर्ष निकालेपछि मदिराको व्यवस्थित कारोबार गर्ने तथा अवैध मदिरा नियन्त्रित गर्ने उद्देश्य लिएर यो अभियान अघि सारेको प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बताए ।

अभियानलाई चरणबद्ध रूपमा लगेर सबै प्रक्रिया पूरा भएपछि नियन्त्रित जिल्लाको रूपमा घोषणा गरिने एसपी ढकाललको भनाइ छ ।

अवैध मदिरा नियन्त्रण समितिका संयोजक तथा आन्तरिक राजस्व कार्यालयका प्रमुख बोलराज आचार्यले धर्म, संस्कृति र परम्परालाई मध्यनजर गरी घरभित्रै राखेका घरेलु मदिरालाइ छुट दिइने तर बिक्री वितरणका लागि बन्देज लगाइने उनले बताए ।

नियम कानून उल्लङ्घन गरेमा मदिरा ऐन २०३१ तथा मदिरा नियमहरू २०३३ बमोजिमको कारबाही हुने उल्लेख गरिएको उनले जनाए ।

त्यसैगरी अन्तःशुल्क लाग्ने वस्तुको इजाजत नलिइ गरेमा बिगो जफत गरी बिगोको दुईसय प्रतिशत जरिवाना वा एकवर्षसम्म कैद वा दुवै सजाय हुने अन्तःशुल्क ऐन संशोधन २०५८ मा रहेको उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले घटनाको प्रमुख कारक नै मदिरा भएकोले यसलाई व्यवस्थित गर्न जरुरी रहेको बताए । शुरुवातमा केही समस्या आए पनि क्रमशः समाधान हुँदै जाने भएकाले सबै क्षेत्रको सहयोगी भूमिका जरुरी देखिएको उनले बताए ।

अभियान यसरी शुरु भयो
झापालाई मदिराजन्य पदार्थ नियन्त्रित जिल्लाको रूपमा घोषणा गर्न कात्तिक ७ गते झापाको कनकाई नगरपालिकामा सबै स्थानीय तहले १२ बुँदे घोषणापत्र जारी गरेका थिए ।

सोही महिनाको १६ गते प्रजिअ दाहालको उपस्थितिमा प्रमुख कर अधिकृत आचार्यको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय झापा उद्योग वाणिज्य सङ्घ, मदिरा व्यवसायी सङ्घ, होटल एशोसिएसन, जिल्ला प्रहरी, जिल्ला समन्वय समितिलगायत गरी ११ सदस्यीय अवैध मदिरा नियन्त्रण समिति गठन भयो ।

गठित समितिले पुस २ र ५ गतेको बैठकबाट १५ बुँदे कार्ययोजना पारित गरेको थियो । समितिले प्रचार–प्रसार, अभिलेख लिने, विभिन्न निकायसँग छलफल लगायतको काम सम्पन्न गरिसकेको जनाएको छ ।

अभियान शुरु भएपछि माघ १५ गते स्थानीय स्तरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरी महिलाको उल्लेखीय सहभागितासहितको स्थानीय तह र वडास्तरीय अनुगमन संयन्त्र निर्माण गरिने जनाइएको छ ।

‘मदिराका कारण अपराध बढ्यो’
झापामा अपराधका घटना बढ्नुको मुख्य कारण मादक पदार्थ सेवन रहेको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला प्रहरीको साढे दुई वर्षको तथ्याङ्कलाई आधार मानेर गरेको अनुसन्धानमा मादक पदार्थ सेवन नै प्रमुख कारण रहेको बताइएको छ ।

आर्थिक वर्ष ०७५/७५मा १ हजार ६ सय ८७ घटनामध्ये ५ सय १२ वटा र चालु आर्थिक वर्षको चार महिनामा १९ सय ६३ वटा मध्ये ६ सय १३ वटा घटना मादक पदार्थ सेवनको कारण रहेको जिल्लाका एसपी भीमप्रसाद ढकालले जनाए ।

तथ्याङ्कलाई आधार मानेर हेर्दा गम्भीर अपराधका घटनाहरूमा मादक पदार्थकै कारणले बढी घटना घटेको एसपी ढकालले दाबी गरे । मादक पदार्थलाई नियन्त्रित गर्न सकेमा ६७ प्रतिशत घटना कम हुने उनले बताए ।