जनकपुर /प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि आइतबार कुटपिट गरेका छन् ।

मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर हातपात गरेका हुन् । आफ्नो एनजिओलाई बजेटमा छनौट नगरेको भन्दै उनले कुटपिट गरेर उल्टै उनलाई नै पक्राउ गर्न निर्देशन दिइएको छ ।

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरू धर्नामा बसेका थिए । सशर्त अनुदानअन्तर्गतको गरिबी निवारण उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओ छनौट नगरेको भन्दै मन्त्री यादवले आफूलाई कुटपिट गरेको सविच झाले बताए ।

उनका अनुसार क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरूले आशय–पत्र दिएकामध्ये ४० वटा संस्था मात्र छनौटमा परेका थिए ।

मन्त्री यादवले आफूले झामाथि हातपात नगरेको बताए । सचिव झाले आफ्नो पदीय मर्यादासमेत भुलेर चर्किदै कोठाबाट निस्किएको जनाए । झा ४ महिनाअघि प्रदेश २ सरुवा भएर आएका थिए । उनी यसअघि वन अनुसन्धान महाशाखाका उपनिर्देशक रहेका थिए ।