भद्रपुर/ भद्रपुरमा जारी प्रथम वडास्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा वडा नम्बर-८ प्रवेश गरेको छ । आइतबार भएको खेलमा वडा नम्बर १० लाई ७ रनले पराजित गर्दै वडा नम्बर ८ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिला ब्याटिङ्ग रोजेको वडा नम्बर ८ ले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १सय२६ रन बनाएको थियो । आशिस बरुवालले ६ चौका प्रहार गर्दै ५४ बलमा ५८ रन बनाए ।

विक्की महत्तोले ३ छक्का र एक चौका प्रहार गर्दै ३२ बलमा ३७ रन र मौसिम अकत्तरले दुई चौका प्रहार गर्दै ४ बलमा १० बनाए । वडा नम्बर १० का तर्फबाट सुशान्त न्यौपाने ३ ओभरमा १७ रन खर्चिएर ३ विकेट र विनोद राजवंशीले ४ ओभरमा २२ रन खर्चिएर २ विकेट लिएका थिए ।

१सय२७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वडा नम्बर १० ले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १सय१९ रन मात्र जोडे ।

वडा नम्बर १० का विप्सन विष्टले २ चौका प्रहार गर्दै ४६ बलमा ३१ बनाए । त्यस्तै सुमन भट्टराईले दुई चौका प्रहार गर्दै १८ बलमा २२ रन र सरोज पाण्डेले दुई चौका प्रहार गर्दै १४ बलमा १४ रन बनाए ।

यता वडा नम्बर ८ का तर्फबाट प्रवेश कामतीले ४ ओभरमा ११ रन खर्चिएर दुई विकेट र सुयोग उपाध्यायले २ ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए ।

खेलको म्यान अफ द म्याच वडा नम्बर ८ का आशिष बरुवाल घोषित भए । उनलाई नगद र टूफिसहित पुरस्कृत गरियो । सोमबार वडा नम्बर ४ र ५ बीच हुने आयोजक समितिले जनाएको छ ।