धनकुटा / नेपाल मगर सङ्घ जिल्ला समन्वय परिषद धनकुटाले छथरजोरपाटी गाउँपालिकामा माघे सङ्क्रान्ति पर्व मनाएको छ ।  ‘माघे सङ्क्रान्ति राष्ट्रिय चाडपर्व मनाउँदै अघि बढौं, मगरको पहिचान र अधिकार प्राप्तिको लागि लडौं’ भन्ने नाराका साथ सङ्क्रान्ति मनाइएको हो ।  सांस्कृतिक कार्यक्रममा मगर जातिले नाच्ने हुर्रा पनि नाचिएको थियो ।

कार्यक्रमको उद्घाटन आदिवासी अभियन्ता शुरेस आले मगरले गरेका थिए । उनले सरकारले आदिवासी बिदाहरू कटौती गरेको बताए ।

छथर जोरपाटी गाउँपालिकाका प्रमुख शेरबहादुर लिम्बू, आदिवासी जनजाति महासङ्घ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईलगायतले मगरको माघी पर्वको विशेष महत्व रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरू मयुर नाच देखाएका थिए । कलाकार कविराज मगर, गायक सागर आले, लोकदोहारी गायिका गङ्गा गौतम, गायक सुवास मगर, लिला राईले साङ्गीतिक प्रस्तुति दिँदै दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे ।

धनकुटाका गाउँपालिका तथा नगरपालिकाबाट आएका मगर कलाकारहरूले पनि आ–आफ्नो प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा मगर समुदायमा योगदान पुर्याउने ८ जना अगुवालाई सम्मानित गरिएको छ ।