इटहरी । शहीद स्मारक ए डिभिजन लिगमा तेस्रो बनेको थ्री स्टार क्लब मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा सम्झिइने नाम हो ।

किनकी इटहरी गोल्डकपको पहिलो संस्करणमा केही समय एन्फासँगकाे विवादका कारण स्थगित गर्दै डेढ वर्षपछि पुनरागमन गरेकाे थ्री स्टारले उपाधि उचालेको थियो । त्यही गोल्डकपको दोस्रो संस्करण माघ १२ देखि हुँदै छ । साविक विजेता थ्री स्टारको आगमनसँगै विदेशी क्लबले पनि सहभागिता जनाउने सङ्केत आयोजक राष्ट्रिय जागृति क्लबले सोमबारको पत्रकार सम्मेलनमा गरेको छ ।

दशकदेखि नै राष्ट्रिय जागृतिले इटहरीमा फुटबल प्रतियोगिता गराउँदै आएको थियो । त्यसबेला बी डिभिजनस्तरको प्रतियोगिता गराउने जागृतिले गतवर्षबाट प्रदेश १ मा सर्वाधिक पुरस्कार राशिको फुटबल गराएपछि एकाएक चर्चामा आएको हाे । जहाँ ए डिभिजन क्लब सहभागी बन्न थालेका छन् । यो वर्ष पुरस्कारको राशि ४ लाखले वृद्धि भएको छ । अर्थात् १२ लाख रुपैयाँ रहेको पुरस्कार यो वर्ष १६ लाख पुगेको छ ।

जहाँ शहीद स्मारक ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्ग्दीसहित झापा ११, आयोजक, बिभागिय टिम आर्मी, पुलिस र एपीएफ सहभागी बन्दै छन् । आमन्त्रित टिमा अफ्रिकन देश क्यामरुन, भारत र भुटानको टिम सहभागी हुने क्लबका अध्यक्ष सञ्जीव ढुङ्गानाले बताए । सहभागी क्लबको टुङ्गो पनि लागिसकेको छैन । किनकी अहिले सुदुरपश्चिममा खप्तड गोल्डकप चलिरहेको छ । उपविजेता टिमले यो वर्ष ८ लाख रूपैयाँसहित ट्रफी पाउने छ । उत्कृष्ट खेलाडीले नगद ३० हजारसहित ४२ इञ्चको एलइडी टिभी प्राप्त गर्ने छ ।

सर्वाधिक गोलकर्ताले ३० हजार नगद पाउने क्लबका सदस्य तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले बताए । विधागततर्फ नगद २० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी पाउँदै छन् । गत वर्षको गोल्डकपबाट क्लबले ४ लाख ८४ हजार ५ सय मूनाफा गर्न सफल भएको छ ।

चम्किदै राष्ट्रिय जागृति

सर्वाधिक राशिको फुटबल प्रतियोगिता गराउन सफल बनेको राष्ट्रिय जागृतिले यो वर्ष पनि राशिमा वृद्धि गर्दै नयाँ उचाइँ प्राप्त गरेको छ । कम पुरस्कार राशिको गोल्डकपमा क्लबहरू सहभागी हुने सम्भावना न्यून बन्दै गएको छ । यसकारण पनि पुरस्कार राशिमा वृद्धि गरिएको क्लबका सदस्य अनुरोध थापा बताउँछन् ।

झापाका बरिष्ठ फुटबल प्रशिक्षक एवम् झापा जिल्ला फुटबल सङ्घका अध्यक्ष भगिरथ आले एन्फाले लिग नियमित नगरेको अवस्थामा सर्वाधिक राशिको फुटबल हुनु सुखद भएको बताउँछन् । बरिष्ठ फुटबल प्रशिक्षक दीलिप राईले लिग नभएको अवस्थामा गोल्डकपले नै फुटबलको इज्जत धानेको बताउँछन् । उनका अनुसार यस्ता राशिका फुटबलका कारण खेलाडीमा उत्साह भर्ने बताए । र, खेलाडी पलायन रोक्ने बताए ।

विधागत पुरस्कार वृद्धिमा जोड

मोफसलका हुने ठूला प्रतियोगिताहरूमा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ५ देखी १५ हजारसम्म नगद पुरस्कार दिँदै आएका छन् । उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकलाई १५ हजारदेखि २५ हजारसम्म नगद दिने चलन छ । विधागत रूपमा दिइने यस्ता पुरस्कार राशिमा समेत वृद्धि गर्नुपर्ने प्रशिक्षक दीलिप राइको सुझाव छ । झापाका बरिष्ठ फुटबल प्रशिक्षक आले पनि विधागततर्फ पनि पुरस्कार वृद्धि गर्नुपर्ने तर्क गर्छन् ।