पाँचथर/झापा–११ फुटवल क्लव दशौं रुस्लान फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको छ । पाँचथर सदरमुकाम फिदिम खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा बिभागीय टोलि त्रिभुवन आर्मी क्लवलाई २–१ गोलले पराजीत गर्दै झापाले उपाधि उचालेको हो ।

प्रतिश्पर्धात्मक बनेको खेलको २३ औं मिनेटमा पुजन उपरकोटिको गोलबाट झापाले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० ले पछि परेको आर्मीका लागि ७२ औं मिनेटमा राजीव गुरुङले गोल बराबरी गोल फर्काए । उनले डि–एरिया बाहिरबाट गरेको शसक्त प्रहार गोलमा परिणत भएको थियो । राजीवको गोलबाट आर्मी खेलमा फर्के पनि ८३ औं मिनेटमा पुनः पुजनले नै गोल गर्दै झापालाई जीत दिलाए । कर्ण लिम्बूको कर्नरमा हुलमुलकाबीच पुजनले खेलमा ब्यक्तिगत दोस्रो गोल गरेका थिए । त्यसपछि आर्मीले आक्रमक खेल पस्के पनि गोल गर्न नसक्दा उपाधि झापालाई सुम्पिनु प¥यो ।

खेलको म्यान अफ दि म्याच आर्मीका राजीव बने । उनले नगद दश हजार रुपैंयाँ प्राप्त गरे । जीत सँगै झापाले नगद चार लाख रुपैंयाँ प्राप्त ग¥यो । उपबिजेतामा सिमित बन्न पुगेको आर्मीले नगद दुई लाख रुपैंयाँमा चित्त बुझायो । बिजेता र उपबिजेता खेलाडिहरुलाई गोल्डकप समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना र अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा झापाका देवेन्द्र तामाङ उत्कृष्ठ खेलाडि घोषित भए ।

उनले यमाहाको मोटरसाइकल प्राप्त गरे । त्यस्तै उत्कृष्ठ गोलकिपर झापाका मनोज प्रधान, उत्कृष्ट मिडफिल्डर पुजन उपरकोटि, उत्कृष्ठ फरवार्ड दिलन लोक्ताम र उत्कृष्ठ प्रशिक्षक प्रवेश कटुवाल बने । उत्कृष्ठ डिफेन्डर भने आर्मीका युद्ध शाही बने । त्यस्तै उदयीमान खेलाडि एनएमबी फिदिम स्पोर्टिङ क्लवका प्रवीण जबेगु बने । उनीहरुले समान नगद दश–दश हजार रुपैंयाँ प्राप्त गरे । प्रतियोगिताभर चार गोल गर्दै सर्बाधिक गोलकर्ता बनेका झापाका कर्ण लिम्बूले नगद १५ हजार रुपैंयाँ प्राप्त गरे ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि राखेपका उपाध्यक्ष तिम्सिनाले फुटवल खेलको बिकासका लागि राज्यस्तरबाट राजधानीमा तीन वटा अन्तराष्ट्रिय स्तरका र सातै प्रदेशमा सुबिधासम्पन्न रंगशाला निर्माणको काम थालिएको बताए । एन्फा अध्यक्ष शेर्पाले चार बर्षे कार्यकालमा एन्फामा आबद्ध ४५ वटै जिल्लामा फुटवल प्रशिक्षण केन्द्रको स्थापना गर्ने बताए । नेपालका १६ औं राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको सम्झना र सम्मानमा फिदिम स्पोर्टिङ क्लव र एन्फा पाँचथरले प्रतियोगिताको आयोजना गरेका हुन् ।

प्रतियोगितामा भारतको एक सहित दश टिमको सहभागिता रहेको थियो । सोही अवशरमा दश हजार रुपैंया राशीको प्रजापति–जालपादेवी खेलकुद पत्रकारिता पुरस्कार पत्रकार सरोज शर्मालाई प्रदान गरिएको थियो ।