धनकुटा/माघे सङ्क्रान्तीको अवसरमा धनकुटाको पाख्रिबास–७ मुगामा सम्पन्न गोरु जुधाई प्रतियोगितामा महसुर राईको गोरु च्याम्पियन बनेको छ ।

सात हल गोरुबीच भएको प्रतिस्पर्धामा महसुर र तेजबहादुर बानियाको गोरु फाइलनमा स्पर्धा गरेका थिए । जसमा तेजबहादुरको गोरुलाई पराजित गर्दै महसुरको गोरु च्याम्पियन बनेको हो । जोबाने र झुले नाम दिइएको गोरुबीचको फाइनल हेर्न लायक थियो । विजेता गोरु धनीले नगद १५ हजार रुपैयाँसहित खादाले पुरस्कृत गरियो । विजेता गोरुको नाम ‘राजा’ घोषित गरिएको छ ।

आउँदो वर्षको माघी मेलासम्म जोबने गोरु गाउँको राजा गोरु बन्ने छ । फाइलनमा करिब २५ मिनेटसम्म दोहोरो भिडन्त भएको थियो । भिडन्तमा कुनै गोरु पनि घाइते नबनेको प्रथम माघी मेला व्यवास्थापन समिति मुगाका अध्यक्ष गोपाल बिकले बताए । दर्शक करवीर राईले गोरु जुधाई प्रतियोगिता हेर्न लायक भएको बताए । उनले प्रदेशमै पहिलो पटक हेर्न पाएको बताए ।

उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आयोजकलाई सुझाव दिए । त्यस्तै पोल चडाई प्रतियोगितामा चन्द्रबहादुर थापा प्रथम बनेका छन् । २९ जना युवाहरूलाई पछि पार्दै उनी विजेता घोषित भए । विजेता बनेका उनले रातो भाले पुरस्कार पाएका छन् । विजेता दुवैलाई कार्यक्रमका प्रमुख अतिथि पाख्रिवास नगरपालिकाका प्रमुख वृषबहादुर राईले नगदसहित खादा लगाई बधाइ ज्ञापन गरेका थिए । पहिलो पटक गरिएको कार्यक्रमले मनोरञ्जन प्रदान गरेको उनले बताए ।

राईले आगामी वर्षको माघी मेलालाई नगरपालिकाको तर्फबाट निरन्तर सहयोग रहने बताए । यसक्रममा उनले पाख्रिवासको समृद्धि र विकासको लागि पाख्रिवास बजारदेखि घोडेटारसम्मको १९ किलोमिटर मोटरबाटो पक्की बनाउनका लागि सङ्घीय सरकारबाट ८५ करोड रकम विनियोजन भएको बताए । कार्यक्रममा हजारौंको सङ्ख्यामा सहभागी भएका थिए । प्रथम माघी मेला व्यवस्थापन समिति पाख्रिवास वडा नम्बर ७ मुगाले आयोजना गरेको हो ।