उदयपुर/ उदयपुरको कटारी नगरपालिको खोक्सामा १५ दिने त्रिवेणी मेला माघ १ गतेबाट शुरु भएको छ ।  नगरको वडा नं २ खोक्सामा तीन नदीहरूको सङ्गम स्थल त्रिवेणमा वर्षेनी माघ १ गते देखि १५ गतेसम्म लाग्ने मेला मङ्गलबार देखि शुरु भएको छ ।

कमला, ककरु र तावा खोलाको सङ्गम स्थल त्रिवेणीमा हिन्दू धर्मावलवीहरूले पूजापाठ गर्ने गरेका छन् । मकर सङ्क्रान्तिका दिनदेखि १५ गतेसम्म लाग्ने मेलामा नदीमा भाकल बुझाउन तथा दर्शन गर्न भक्तजन आउने गरेका छन् ।

नगरले वर्षेनी मेलाको ठेक्का लगाउँदै आएकामा यस वर्ष ठेक्का नलगाई उद्योग वाणिज्य सङ्घ कटारीलाई जिम्मा लगाएको उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए ।

त्रिवेणीमा पूजा–आरधना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । हिन्दू धर्मावलम्वीहरूले मकर नुहाउनेदेखि १५ गतेसम्म प्रत्येक दिन परेवा, पाठा, हाँस, कुखुरा लगायतका पशुपन्छीको बलीसमेत दिने गरेको खड्काले बताए ।

मेलामा विशेषगरी पहिला–पहिला घोडा, भोटे कुकुरका छाउरा र ओखलढुङ्गाको राडीपाखी किनबेच गर्ने बजारका रूपमा रहेको थियो । हाल राडीपाखीमात्रै आउने गरेको खड्काले बताए ।

मेलामा तासजुवाजन्य खेल र घरायसी मदिरामूक्त मेला सञ्चालन गर्न शुरु गरिएको खड्काले बताए ।

मेलामा रोटेपिङलगायतका विभिन्न खेल, र होटल व्यवसायीहरूले स्टल बनाई व्यापार गरिरहेका छन् । करिब एकसयको हाराहारीमा स्टल निर्माण गरिएको खड्काले बताए ।

त्रिवेणीमा भाकल बुझाउने, पूजापाठ गर्नेसँगै विशेष आकर्षणका रूपमा रहेको ८५ फिट अग्लो वैष्णुदेवीको गुफा यसपालीदेखि खुला गरिएको खड्काले बताए ।

नगरको मुख्य पर्यटकीय तथा धार्मिकस्थलका रूपमा रहेको त्रिवेणी धामको संरक्षण र प्रवद्र्धन गर्न आवश्य भएकाले गुफा प्रवेशमा खुला गरिएको कटारी नगरपालिका वडा नं २ का वडाध्यक्ष प्रेमबहादुर थापाले बताए ।

त्रिवेणीको पूजाआरधना गरेमा मात्रै पनि मानोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । अन्य बेलामा पनि भक्तजन आउने त्रिवेणीमा विशेषगरी माघ १ गते देखि १५ गतेसम्म भक्तजनको भीड हुने गरेको थापाले बताए ।

धार्मिक आस्था बोकेको स्थल भएकाले यसको संरक्षण तथा प्रवद्र्धन गर्नकै निम्ति गुफा अवलोकन तथा भ्रमणसमेत खुल्ला गरिएको थापाले बताए ।  यस अघि गुफा प्रवेशमा निषेध गरिएको थियो ।

यो गुफाको आकार वैष्णुदेवीको जस्तै रहेकाले नाम पनि वैष्णुदेवी गुफा नै राखिएको थापाले बताए ।