धरान । कर छलीको आरोपमा पोर्चुगलका युभेन्टस् स्टार क्रिस्टियानो रोनाल्डोमाथि एक करोड ८८ लाख युरो जरिवाना तिर्नु पर्ने भएको छ ।

रोनाल्डोले मड्रिडस्थित एक अदालतमा उक्त रकम तिर्न सहमत भएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीमाथि २३ महिनको जेल सजायसमेत रहेको छ । उनीमाथि कर छलीको आरोप लागेपछि रियल मड्रिड क्लबमा नबस्ने बताउँदै आएका थिए । उक्त आरोप पुष्टि भएपछि उनले जरिवाना र्तिन सहमत भएका हुन् । उनले जेल भने नबस्नु पर्ने भएको छ । किनकी स्पेनमा सामान्यतः दुई वर्षभन्दा कम जेल सजाय पाउनेहरूको हकमा जेल बस्नु पर्दैन । अहिंस्रक प्रकृतिको मुद्दा भएकाले पनि रोनाल्डोले जरिवाना तिरे पुग्ने छ ।

उनी अदालतमा केही दिनअघि पुगेका थिए । उक्त भिडियो एक पत्रकारले खिचेका थिए । उनी पत्रकारहरूबाट बच्नका लागि कारमै बसेर अदालत परिषरभित्र प्रवेशका लागि अनुमति लिएका थिए । पाँच पटकसम्म ‘बालन डिओर’ जितेका रोनाल्डोले सन् २०११ द्येखि २०१४ सम्म रियल मड्रिडका लागि खेल्दा कर छली गरेको आरोप लागेको थियो । त्यसो त उनी सन् २००९ मै रियल गएका थिए भने २०१८ को अन्तिम सिजनसम्म मड्रिडमै रहेर खेलेका थिए ।

हाल उनी इटालियन सिरी ए युभेन्टसमा गएका छन् । कर छलीको आरोपमा उनीमात्रै एक्ला खेलाडी होइनन् । बार्सिलोनाबाट फुटबल खेलिरहेका लियोनल मेसी पनि कर छलीको आरोप लागेको थियो भने उनलाई २२ महिना जेल सजाय तोकिएको थियो । उनले उक्त जरिवाना पनि तिरिसेकेका छन् । त्यस्तै ब्राजिलियन स्टार नेइमारमाथि पनि कर छलीको अभियोग लागेको थियो । रोनाल्डोले भने कर छलीसँग सन् २००९ मा एक युवतीलाई बलात्कार गरेको गम्भीर आरोप पनि लाग्दै आएको छ । उनको डिएनए परीक्षण गर्नका लागि पनि अदालतले आदेश दिइसकेको छ भने उक्त आरोप उनले अस्वीकार गर्दै आइरहेका छन् ।