करेला  / महिलाहरूलाई जान प्रतिबन्ध रहेको दक्षिण भारतको केरलास्थित एउटा मन्दिरमा प्रवेश गर्ने एउटी महिलालाई उनको परिवारले घरमा घर निकाला गरेको छ ।
सबरीमाला मन्दिर गएको निहुँमा सासूले आफूलाई कुटपिट गरेको भन्दै ३९ वर्षीया कनकदुर्गा गत हप्ता मङ्गलवार अस्पताल भर्ना भएकी थिइन्। उनको टाउको चोट लागेको थियो ।

केरलास्थित सबरीमाला मन्दिरमा रजस्वला हुने उमेरका महिलाहरू प्रवेश गर्न नहुने परम्परा छ। तर गत सेप्टेम्बर महिनामा भारतको सर्वोच्च अदालतले त्यो परम्परा हटाउन र सबै महिलालाई प्रवेश दिन आदेश दियो। त्यसको विरोधमा प्रदर्शनहरू भए । अदालतको आदेशपछि धेरै महिलाहरूले मन्दिरमा जाने प्रयास गरे। तर प्रदर्शनकारीहरूले उनीहरूलाई छेके। तर कनकदुर्गा र अर्की महिला जेनुअरी २ मा मन्दिरमा प्रवेश गर्न सफल भएका थिए।

ढोका बन्द
सोमवार साँझ कनकदुर्गा अस्पतालबाट घर फर्किन्। तर घरको ढोका बन्द थियो। सामाजिक कार्यकर्ता तङ्काचन विठयाटिलले बीबीसी हिन्दीका इमरान कुरैशीलाई बताएअनुसार उनी घर पुग्दा त्यहाँ कोही पनि थिएनन्। उनका पति र दुई छोराहरूले पनि घर छोडेका थिए।

विठयाटिलका अनुसार उनी प्रहरीसँग आएकी थिइन् र उनीहरूले कनकदुर्गालाई महिला सहायता केन्द्र लगे । एक रात त्यहाँ बसेपछि कनकदुर्गा प्रहरी कार्यालय पुगिन्। त्यहाँ उनका पति कृष्णन् उन्नीलाई सोधपुछ गर्न झिकाइएको थियो। वरिष्ठ प्रहरी अधिकारी प्रतीश कुमार भन्छन्,‘उनी कनकदुर्गालाई घर लैजान चाहँदैन थिए तर कनकदुर्गा भने पति जहाँ गएको हो त्यहीँ जान चाहन्थिन्।’

अन्ततः उन्नी एक्लै गए भने कनक दुर्गाले महिला सहायता केन्द्रमै फर्किनुपर्‍यो।

कनकदुर्गाले यसअघि नै सासूविरुद्ध घरेलु हिंसाको मुद्दा हालेको हुनाले यो विषय अब अदालतले टुङ्ग्याउने प्रहरीले जनाएको छ। अहिले घरमा छिर्न कनकदुर्गाले अदालतको हस्तक्षेप खोजेकी छन्। कनकदुर्गा र बिन्दु अम्मिनी मन्दिरमा छिरेको समाचार आएपछि केरलाभरि हिंसात्मक प्रदर्शनहरू भएका थिए। त्यसपछि उनीहरू लुकेर बस्न बाध्य भए। उनीहरूलाई प्रहरीले सुरक्षा दिएर एक ठाउँबाट अर्को ठाउँ सारेको थियो।

भारतको सर्वोच्च अदालतको आदेशको महिलाहरूले नै विरोध गरे
गुप्तवासबाट पहिलो चोटि घर फर्किएपछि आफूलाई सासूले पिटेको कनकदुर्गाले प्रहरीलाई बताएकी थिइन्। सबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश गराउने अभियानमा लागेका महिला अधिकारवादी कार्यकर्ता प्रसाद अमोर भन्छन्, ूउनले परिवारको बेइज्जत गरेको भन्दै उनीहरू कनकदुर्गा घर नआऊन् भन्ने चाहन्छन्। उनको समाज पनि महिलाहरू मन्दिरमा प्रवेश गर्ने धारणाविरुद्ध थियो।' भारतमा आगामी एप्रिल र मे महिनामा निर्वाचन हुँदैछ। निर्वाचनको पूर्वसन्ध्यामा महिलाहरू मन्दिर प्रवेश गर्ने विषयबारे विवाद बढेको छ।

सबरीमाला मन्दिरको विशेषता
सबरीमाला भगवान् अयप्पाको मन्दिर हो। उनी ब्रह्मचारी थिए भन्ने मान्यता छ। सो मन्दिरमा प्रत्येक वर्ष दशौँ लाख भक्तहरू जान्छन्। मन्दिरभित्र प्रवेश गर्न १८ वटा खुड्किला चढ्नुपर्छ।
एकचालीस दिनसम्म कठोर व्रत नबसी ती खुट्किला चढ्न सकिँदैन भन्ने मान्यता भएको मन्दिरको वेबसाइटमा उल्लेख छ। मन्दिरभित्र प्रवेश गर्न भक्तजनले केही नियम पालना गर्नुपर्छ। सबरीमालाजाने तीर्थयात्रीले कालो वा नीलो वस्त्र लगाउँछन्। तीर्थयात्रा सम्पन्न नभएसम्म दाह्रीजुँगा वा केश काट्न पाइँदैन।

हिन्दूधर्ममा महिनावारी भएका महिलाहरूलाई अशुद्ध मानिन्छ र उनीहरूलाई मन्दिर प्रवेशलगायत अन्य धार्मिक क्रियाकलापमा सहभागी गराइँदैन। तर अधिकांश मन्दिरहरूमा त्यसबाहेकको समयमा महिलाहरूले सहज प्रवेश पाउँछन्। सबरीमालामा भने १० वर्षमुनिका बालिका र रजोनिवृत्त भएका ५० वर्षमाथिका महिलाले मात्र प्रवेश पाउँछन्।