धरान/ युरोपियन देश इटाली लगिएका १२ नेपालीले लिबिया पुर्याएर बन्धक बनाएपछि पीडित नेपालीले उद्धारका लागि अपील गरेका छन् ।

उनीहरूलाई दलालको समूहले लगेर लिबियामा बन्धक बनाएको हो । उनीहरूलाई गत भदौंमा सन्तोष पराजुली र जसध्वज गुरूङको समूहले इटाली पठाए पनि दुबईमा पुगेपछि त्यहाँबाट पाकिस्तानी दलालले लिबिया पुर्याएका थिए ।

पीडितले सामाजिक सञ्जालको साहारामा आफ्ना–आफन्तहरूलाई जानकारी गराएपछि उनीहरू बन्धक रहेको खुलेको हो ।

उनीहरूलाई लामो समयदेखि लिबियामै बन्धक बनाएर राखिएपछि उनीहरूले इटाली पुग्ने आशा मारेका छन् । उक्त विषयमा घरपरिवारलाई जानकारी गराएपछि अहिले प्रहरीको सहयोगमा उद्धारका लागि पहल थालिएको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयले इजिप्टका लागि नेपाली दूतावासमा पहल थालिसकेको छ । इजिप्टका राजदूत झविन्द्र अर्यालले लिबिया सरकार साथै शान्ति सेनामा रहेका नेपाली सेनामार्फत् उद्धारका लागि पहल भइरहेको जनाएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनीहरूलाई लिबियाको कुन स्थानमा राखिएको छ भन्ने बारेमा पनि हालसम्म यकिन हुन नसकेको नेपाल प्रहरीले जनाएको छ ।

उनीहरूलाई पठाउने नेपाली दलाल सन्तोषलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । त्यस्तै जयध्वजलाई पोखराबाट पक्राउ गरी बैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ । सन्तोषले बयानका क्रममा नेपाली पठाएको स्वीकार गरेका छन् ।

र, उनले केही समयपछि इटाली पुग्ने दाबीसमेत गरेको प्रहरीले जनाएको छ । एक जनाबापत १३ लाख रुपैयाँ नेपाली लिएको पाइएको छ । यसअघि पनि यही समूहले १७–१८ जना नेपालीलाई पठाएको अनुसन्धानमा क्रममा खुलेको छ ।