धरान / २१ औं संस्करणको बुढासुब्बा रेडबुल गोल्डकप प्रमोशनका लागि खेलाइएको प्रमोशन कपको उपाधि धरान उपमहानगरपालिकाले जितेको छ ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा नेपाल पत्रकार महासंघ सुनसरीलाई १–० गोलको अन्तरले हराउदैं उपमहानगरले उपाधि जितेको हो । खेलको अन्तिममा इन्जूरी समयमा उपमहानगरका सुजन बस्नेतले कर्नर किकलाई हेड मार्फत निर्णायक गोल गरे ।
उपाधिसँगै नगद ३० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ । पत्रकार महासंघले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाएको छ ।
विजयी खेलाडीहरुलाई धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, धरान फुटवल क्लवका अध्यक्ष किशोर राईलगायतले पुरस्कार वितरण गरेका थिए । प्रदेश १ को उत्कृष्ट बुढा सुब्वा फुटवल प्रतियोगिता यही माघ २६ गतेदेखि संचालन हुदैं छ ।